.jpg)
हेटौँडाः कृषि तथा पशुपन्छी विकास मन्त्रालय वाग्मती प्रदेशले भेडा बाख्रामा लाग्ने पीपीआर रोग नियन्त्रण तथा रोकथामको लागि खोप अभियान थालेको छ। सबै स्थानीय तहमार्फत खोप अभियान थालिएको हो।
मन्त्रालयले प्रदेशका १३ वटै जिल्लामा स्थानीय तहहरुको समन्वयमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत खोप अभियान सञ्चालन गर्ने मन्त्रालयका प्रवक्ता राजन ढकालले बताए।
प्रदेशमा पीपीआर रोगका कारण वर्षेनि धेरै संख्यामा भेडा बाख्राहरुको मृत्यु भई कृषकहरुले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको मन्त्रालयले जनाएको छ। पुरानो ठाउँमा देखा पर्दा मृत्युदर कम भए पनि नयाँ ठाउँमा फैलिँदा करिब ८० प्रतिशत मृत्यु हुने गरेको मन्त्रालयको तथ्याङ्क छ। विषाणुबाट लाग्ने यस रोगको उपचार नहुने भएकाले सबै भेडा बाख्रालाई रोगबाट सुरक्षित राख्ने उपयुक्त तरिका मास भ्याक्सिन भएको मन्त्रालयका प्रवक्ता ढकालले जानकारी दिए।
पहिलोपटक खोप अभियान गरिएको प्रदेशका १३ वटै जिल्लाहरुमा ११ सय ३७ खोप केन्द्र र ४६० जना जनशक्ति तयारी अवस्थामा रहेको मन्त्रालयले जनाएको छ।
प्रदेशमा ९३ हजार ६३९ भेडा, २३ लाख ५१ हजार २१७ बाख्रा रहेको मन्त्रालयको तथ्याङ्क छ।
पहिलो चरणमा १ करोड १९ लाख बजेटको ११ लाख ९० हजार खोपको मात्रा आएको पशु तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख रामप्रकाश प्रधानले बताए।
खोप कार्ड ,खोप अभिलेख फारम ,खोप स्टिकर तथा तथ्याङ्क संकलनका लागि आवश्यक विवरण तयार गरी सम्बन्धित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत् खोप उपलब्ध गराइएको छ। खोप अभियान माघ २५ गतेदेखि फागुन २ गनेसम्म सञ्चालन हुनेछ।