काठमाडौं : राजधानीबाट करिब ३३ किलोमिटर टाढा पर्छ पनौती शहर। काभ्रेपलाञ्चोकको यस प्राचीन बस्ती यतिखेर मकर मेलामा मस्त छ। यहाँको त्रिवेणी घाटमा १२ वर्षे मकर मेला लागिरहेको छ। कोरोना संक्रमणका कारण मेला स्थगित गरिए पनि यहाँको घाटमा स्नान गर्न भने रोक लगाइएको छैन। दैनिक मानिसहरू पनौती पुगिरहेका छन् - मेला भर्न।
काठमाडौंबाट नजिकैको यस शहरको आफ्नै सांस्कृतिक र ऐतिहासिक अस्तित्व अग्लो छ। किराँतलीन अवशेषसमेत फेला परेको पनौती लिच्छवी र मल्लकालमा विकसित भयो। इन्द्रेश्वर महादेव, भद्रकाली, बह्मायणी, बद्रिनाथ, केदारनाथ, तोलानारायण, उन्मत्त भैरवका मूर्ति र धेरै मन्दिरहरू यहाँ छन्। १२ वर्षे मकर मेलासहित पनौतीसँग १२ वर्षमा हलसिद्धि जात्रा, ज्या पुन्हि, देवी नाचका साथै अन्य सांस्कृतिक जात्राहरू जोडिएका छन्। सरकारले पनौतीको सांस्कृतिक भव्यतालाई संरक्षण गर्न प्राचीन स्मारक संरक्षण ऐन बमोजिम 'प्राचीन स्मारक क्षेत्र' घोषणा पनि गरिसकेको छ। पछिल्लो समय यस शहर विश्वसम्पदा सूचीमा सूचीकृत गराउन लागि परेको छ जुन विषय युनेस्कोमा विचाराधीन अवस्थामा छ।
दुई दशकअघि नै हो पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न प्रस्ताव गरिएको। त्यसले अहिलेसम्म मूर्तरुप लिन भने सकेको छैन। स्थानीय तहमा लामो समय जनप्रतिनिधि विहीन हुँदा विश्वसम्पदामा सूचीकृत गराउने प्रयास प्रभावित बन्यो। २०७४ सालमा स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिहरू छनोट भए। उनीहरूले सत्ता सम्हालेसँगै सूचीकृतको प्रयास सुरु भयो। हाल यस्तो प्रस्ताव नेपाल सरकारको मुख्य सचिवकहाँ पुगिसकेको नगरपालिका प्रमुख भीम न्यौपानेले बताए। तर, त्यहाँबाट मन्त्रिपरिषदसम्म प्रस्ताव पुग्न सकेको छैन।
विगतमा प्राचीन स्मारक ऐन बमोजिम पनौती नगरपालिकालाई प्राचीन स्मारक क्षेत्र घोषणा गर्दा मन्त्रिपरिषदबाट नै निर्णय भएकाले युनेस्कोमा आधिकारिक रुपमा सिफारिस गर्न पनि मन्त्रिपरिषदबाटै निर्णय आवश्यक पर्छ। त्यसैका लागि नगरपालिकाले मेहनत गरेको हो।
‘निर्वाचित भएर आएपछि हामीले फेरि पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न पुराना कागजपत्रहरू खोज्यौं। हामीले सबै कागजपत्र तयार पारेर पुरातत्व विभागबाट संस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्रालयमा पुर्यायौं। मन्त्रालयबाट मुख्य सचिव कहाँ पुगेर क्याबिनेटमा लग्न प्रस्ताव पुगेको छ। अहिले निर्णय भइसकेको अवस्था छैन,’ न्यौपानेले भने।
पनौती नगरपालिका प्रमुख भीम न्यौपाने
गत वर्ष युनोस्कोका नेपाल प्रमुख सहितको टोलीले पनौतीको अध्ययन पनि गरेको थियो। पनौतीलाई सम्पदा सूचीमा सूचीकृत गर्ने प्रस्तावको ‘इलेक्ट्रोनिक कपी’ युनेस्कोमा पठाउने काम पनि भइसकेको छ। तर, सरकारबाटै प्रस्तावबारे निर्णय नहुँदा जति रफ्तारमा काम हुनुपर्थ्यो, भएको छैन।
‘जबसम्म नेपाल सरकारले निर्णय गरेर हार्ड कपी पठाउँदैन, तबसम्म युनेस्कोले निर्णय गर्दैन। हार्ड कपी गइसकेपछि युनेस्कोको टोली एक पटक पनौती आउँछ। अनुसन्धान हुन्छ अनि ‘ओके’ भएपछि निर्णय भइहाल्छ,’ न्यौपानेले भने।
सरकार परिवर्तन भइरहँदा महत्त्वपूर्ण भए पनि यस्तो प्रस्ताव अगाडि बढ्न नसकेको उनले सुनाए।
‘विश्व सम्पदामा प्रस्ताव गर्ने फाइल ७ महिना भयो मन्त्रिपरिषद कार्यालयमा दर्ता गरेको। विभागीय मन्त्री पटक पटक फेरिइसकेका छन्,' उनले भने, 'जसले एजेण्डा अगाडि बढाउनुपर्ने हो उनीहरूले बढाएका छैनन्। त्यहाँसम्म हाम्रो पहुँच पनि छैन। तर, हामीले हाम्रो तर्फबाट गर्नुपर्ने कामको कन्जुस्याइ गरेका छैनौं।’
विश्व सम्पदा सूचीमा प्रस्तावित पनौतीको प्राचीन शहर जनप्रतिनिधि विहीन अवस्थामा संरक्षण समेत हुन सकेन। शहरको पहिचान स्थापित गर्ने घरहरू पुनर्निर्माण हुँदा मौलिक शैलीमा बनेनन्। त्यसले पनौतीलाई विश्व सम्पदा सूचीमा राख्नुपर्ने दावीलाई कमजोर बनायो। त्यसैले स्थानीय तहमा जनप्रतिनिधि आएपछि मौलिक शैलीमा नबनेका घरहरू पहिचान गरी त्यसलाई मौलिक शैलीमा रुपान्तरण गर्ने काम भइरहेको छ।
‘विश्व सम्पदा प्रस्तावित क्षेत्रमा सम्पदा मैत्री घरहरू बनेनन्। त्यस्तो घरको संख्या ७१ वटा छ। हामी आएपछि ती घरहरू फेरि सम्पदामैत्री बनाउने काम हामीले गर्यौं। घरको डिजाइन तयार गर्यौं। त्यस आधारमा ९ वटा घरलाई सम्पदा मैत्री ढाँचामा ढालिसक्यौं,’ उनले भने, ‘अहिले १७ वटा घर बनिरहेका छन्। र, क्रमश ती घरहरूलाई हामी सम्पदा मैत्री बनाउँछौं। पुराना बिग्रिएका घरहरूलाई पनि त्यसरी नै बनाउछौं। सम्पदा मैत्री ढाँचामा बनिरहेका नयाँ घरका लागि नगरपालिकाले प्रोत्सहान स्वरुप सहयोग गर्छ।’
२०७४ साल साउन १ गते बाट सम्पदा मैत्री घर बनाउनेलाई वर्गफिट अनुसार नगरपालिकाले अनुदान दिने व्यवस्था गरेको छ। ९ वटा घरले त्यसबापत रकम पनि लिइसकेका छन्। अरु घरले क्रमश: लैजाने प्रक्रिया अगाडि बढाएका छन्।
‘यसले जनतालाई उत्साहित पनि बनाएको छ। सम्पदा क्षेत्रको संरक्षणमा जनताको जाँगर पनि बढेको छ। पहिले झै बनाउन केही वर्ष लाग्छ। बनाउनभन्दा बिग्रन थोरै समय लाग्छ। सपार्न अलि धेरै समय। केही वर्ष भित्रै लक्ष्य पूरा गर्छौं,’ न्यौपानेले भने।
नगरपालिकाले नेपाल सरकारलाई आगामी ५ वर्षभित्र ७१ वटै घरलाई सम्पदामैत्री बनाउने प्रतिवद्धता जाहेर गरिसकेको छ।
विश्व सम्पदामा सूचीकृत गराउन पूरा गर्नुपर्ने मापदण्डका बारेमा नगरपालिकाले नागरिक स्तरमा छलफल समेत गरिरहेको छ। यस्तै, सम्पदा शाखा नै स्थापना गरेर सम्पदा क्षेत्रलाई व्यवस्थित गर्ने अभियान नै अगाडि बढेको छ।
‘आर्किटेक्ट इन्जिनियरलाई सम्पदा हेर्नकै लागि नियुक्त गरेका छौं। विशेष गरी पनौती नगरको बजार र वडा नम्बर ७ मा सम्पदा हेर्ने गरी व्यवस्था गरिएको छ,’ पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले भने। उनका अनुसार नागरिकलाई प्राविधिक सल्लाह दिन र सम्पदामैत्री घर बनाउन नगरले प्रोत्साहन गरिरहेको छ। अर्को वर्षसम्ममा पनौतीलाई विश्वसम्पदा क्षेत्रमा अटाउने उनीहरुको प्रयास जारी छ।
खै पनौतीको दरबार?
प्राचीन नेपालमा प्रकाशित पनौतीको संक्षिप्त ऐतिहासिक पृष्ठभूमि लेखमा साफल्य अमात्यले यस शहरबारे चर्चा गरेका छन्। लिच्छवीहरूको पतन र मल्लहरूको अभ्युदय नहुँदासम्म नेपाल उपत्यकाको इतिहासमा अनेकौ उथल पुथलहरू भएको उनले उल्लेख गरेका छन्। यस्तै उथलपुथलको समयमा विभिन्न स्थानका सामन्त(क्षेत्रको शासक)हरूले केन्द्रलाई परवाह नराखी सोझै राज्य गरेको देखिन्छ।
केन्द्रमा राजा शक्तिशाली हुँदा सामन्तहरू दविएर बस्थे भने केन्द्रमा राजाहरू कमजोर हुँदा सामन्तहरूले शासनमा पकड जमाउँथे। तिनै सामन्तमध्ये एक थिए राम वर्द्धन। १४औं र १५औं शताब्दीमा राम वर्द्धन परिवारले पनौती वरपरमात्र नभइ सम्पूर्ण नेपाल उपत्यकाको शासन व्यवस्थामा ठूलो भूमिका खेलेको अमात्याको उक्त लेखमा उल्लेख छ। राम वर्द्धनले नै पनौतीमा एक भव्य दरबार बनाएको कथन छ। जसको अहिले अस्तित्व छैन। यसका साथै प्राचीन बस्तीमा रहेको दरबार क्षेत्रको उत्खननमा पनि नगरपालिकाले काम गरिरहेको छ।
दरबार रहेको क्षेत्रमा तलेजु भवानीको पूजा हुन्छ। तर, त्यहाँ मन्दिर छैन। दरबारको अवशेष मात्रै छ। दशैंमा पनौतीकी कुमारीलाई दरबार रहेको क्षेत्रमा लगेर पूजा गरिन्छ। प्राचिन दरबार ठडियो भने पनौतीको शान अझ माथि उठ्ने स्थानीय बताउँछन्।
सम्बन्धित समाचार : नचिनिएकी एउटी जीवित देवी, सबैलाई भन्छिन्: म त भगवान् हो
यहाँको दरबार उत्खननको काम पुरातत्व विभाग र नगरपालिकाले मिलेर गरेको थियो। उत्खननका क्रममा दरबार क्षेत्रमा पर्ने देखिएका केही घर नगरपालिकाले खरिदसमेत गरेको थियो। अझै पनि थप घर किन्नुपर्ने स्थिति छ।
‘उत्खनन गर्न अझै बजारतिर जानुपर्ने परिस्थिति छ। त्यस बेलामा फेरि दुई तीनवटा घर किन्नुपर्ने स्थिति छ। त्यो अहिले सहमति भइरहेको छैन। किनभने ती सबै व्यक्तिका नाममा छन्,' प्रमुख न्यौपानेले भने, ‘व्यक्तिको नाममा भएको घर सहमति नभइ भत्काउन सकिँदैन। दुई तीनवटा घर हामी किन्छौं । किनेर उत्खननको कामलाई टुंगोमा पुर्याउँछौं।’
अहिले पनौती नगरमा बसाइसराइको क्रम उत्तिकै बढ्दो छ। खोलामा फोहोर, ढल व्यवस्थापनको अभाव, साँघुरा र बलियो पूर्वाधारविनाका सडक यहाँका समस्या हुन्। नगरपालिकाले भने पनौती नगरको विकास र प्राचीन वस्तीलाई संरक्षणका लागि तीन चरणमा काम अघि बढाएको जनाएको छ। वैकल्पिक सडक बनाउनेदेखि ढल व्यवस्थापनसम्मका लागि गुरुयोजना बनेको छ।
‘पहिलो चरणको अन्तर्गत अहिले हामीले काम गरिरहेका छौं। अरु दुई चरणको काम छिट्टै गर्छौं,’ प्रमुख न्यौपानेले भने।