PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

छोटो तयारीमै 'आशा बोकेर' ओमन जाँदै नेपाली क्रिकेट टोली : 'लफडा'ले छुटेका कुरा अनि युवा खेलाडीको जोश



मुकुन्द घिमिरे

छोटो तयारीमै 'आशा बोकेर' ओमन जाँदै नेपाली क्रिकेट टोली : 'लफडा'ले छुटेका कुरा अनि युवा खेलाडीको जोश

काठमाडौं : पुसको पहिलो साता विश्वकपको 'ग्लोबल क्वालिफायर्स' सुरु हुन करिब दुई महिना बाँकी थियो। नेपालका प्रतिस्पर्धी टिमहरुले धमाधम विश्वकपको सिरिजको तयारी गरिरहेका थिए। ठीक सोही समय, नेपालमा भने क्रिकेट चरम विवादमा फस्यो। खेलाडी वर्गीकरणबाट सुरु भएको विवादमा तत्कालीन कप्तान र उपकप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीलाई हटाउनेसम्मको निर्णयमा पुग्यो नेपाल क्रिकेट संघ (क्यान)। अनि कप्तान बने अस्ट्रेलियामा बिग ब्यास लिग खेलिरहेका सन्दीप लामिछाने। त्यसबाहेक मल्लसहितका चारजना खेलाडी कारवाहीमा परे। यसले खल्बलियो क्रिकेट टिमको माहोल।

क्यान र क्रिकेटरको विवाद 'क्लाइमेक्स' मा पुगेको थियो। अझ डेभ ह्वाटमोरले मुख्य प्रशिक्षकबाट राजीनामा दिएर गएयता नयाँ प्रशिक्षक खोज्न प्रक्रिया पुरा गर्दागर्दै समय लम्बिरहेको थियो। क्रिकेट क्षेत्रमा कालो बादल मडारिएको बेला पहिलोपटक नेपाललाई विश्वकप खेलाएका प्रशिक्षकमा पुबुदु दासानायके फेरि नेपाल आउने भए। यता विवादले खेलाडी त विभाजित भए नै, बोर्ड सदस्यहरु पनि विवाजित भएर छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्न थालेका थिए। पुबुदुको आगमनले लामो छलफलपछि सतहमा आएको विवादपछि साम्य भएको देखियो। कारवाही फिर्ता लिने लगायतका सहमति भएपछि खेलाडी मैदानमा फर्किए। जसका लागि प्रशिक्षक दासानायकेले पनि महत्वपूर्ण भूमिका खेले।पछि क्यानको बैठकले पनि यो सहमति सदर गर्दै कारवाही फिर्ता लियो।

अनि बल्ल सुरु भयो - बन्द प्रशिक्षण। त्यही बीचमा पहिलो पटक टी२० फर्म्याटमा प्रधानमन्त्री कप भयो। कप्तान लामिछाने नेपाल आए। प्रशिक्षणका बीचमा कप्तानलगायतका खेलाडीलाई कोभिड संक्रमण भएपछि खेल प्रभावित भयो। यद्यपि अहिले सबैजना फिट भएको प्रशिक्षक दासानायकेले उल्लेख गरेका छन्।

***

नेपाली क्रिकेट टोली विश्वकप छनोटका खेलहरु खेल्न मंगलवार ओमन जाँदैछ। क्वालिफायर्स अघि नेपालले आयरल्याण्ड, ओमन र युएईसँग सिरिज खेल्दैछ। कप्तान सन्दीप लामिछानेको हिसाबले भन्ने हो भने क्वालिफायर्सका लागि बेस्ट प्लेइङ ११ छान्ने अवसर हो यो। नेपालसँगका प्रतिस्पर्धी देशहरुले अन्य देशसँग सिरिज नै खेलेर अभ्यास गरेका छन्। यद्यपि नेपालको अभ्यास पनि राम्रो भएको दाबी गर्छन कप्तान लामिछाने।

'अहिलेसम्म क्वालिटी अभ्यास भयो। करिब १ महिनासँगै अभ्यास गर्‍यौं। कोचको अन्डरमा राम्रो सेटअप भएको छ। बीचमा कोभिडले तलमाथि भयो। तर अन्त्यमा राम्रो सम्भावना बोकेर अघि बढ्दैछौं,' लामिछानेले भने, 'हामी हामीले दिने शतप्रतिशत दिनेछौं। सबै खेलाडीले ट्यालेन्टलाई हेर्दा जुन तरिकाले अभ्यास गरिरहेका छौं। धेरै पछि त्यो पाएका पनि छौं। धेरै समयपछि खेलाडीहरु एकअर्कासँग क्याम्पमा आउनु भएको छ। सपोर्ट पनि भएको छ।'

सन् २०१४ को विश्वकप हेरेर क्रिकेट खेल्ने र आफू पनि विश्वकप खेल्ने सपना देखेको बताउने सन्दीप अहिले विश्वकपमा लागि टिमको नेतृत्व आँफै गर्दैछन्। पहिलोपटक राष्ट्रिय टोलीको कप्तानी गर्न गइरहेका उनीसँग अनुभव भने विश्वका सबै जसो ठूला लिगहरु खेलेको छ। नेपालको ग्लोबल स्टारका रुपमा आफूलाई उभ्याउन सफल लामिछानेलाई अवसर र चुनौतीसँग सँगै छ।

'२०१४ को विश्वकपमा पारस दाईले एउटा लेगेसी बनाएर छाड्नु भएको छ। यो हामी सबैका लागि लेगेसीलाई अघि बढाएर लैजाने त्यो एउटा मोमेन्टम बनाउने पुरै टिम र नेपालीकै सपना छ,' उनी भन्छन्, 'राम्रो टिम पाएका छौं यसपाला हामीले। एकदुई प्लेयरहरुलाई मिस गर्नेछौं। ब्याटिङ राम्रो छ, जुनै प्लेयर हुँदा पनि दुख मान्नुपर्ने हुँदैन। किनभने सबै राम्रो सेपमा छ।'

कप्तानीका हिसाबले कुरा गर्दा पनि टिमसँग वर्षौदेखि सँगै खेलिरहेको हुनाले कठिन नहुने सुनाउँछन्।

'टिममा क्याप्टेन नभए पनि बलिङ आफुले लिड गर्नुपर्थ्यो। त्यो जिम्मेवारी लिएर अरु कम्फर्टेबल बनायो भने धेरै सजिलो हुन्छ टिमको सदस्यको लागि। चाहे त्यो बलिङतर्फ होस् या ब्याटिङतर्फ होस्,' उनले भने, 'पेपरमा मेरो लागि नयाँ भूमिका हो तर ६/७ वर्षको करियरमा सबै प्लेयरसँगै भएर कुरा गरिरहेकै हुन्छु। सकेसम्म सहज सिनारियो बनाउने कोशिश हुनेछ।'

उनीसँग सहमत छन् प्रशिक्षक दासानायके।

'मैले जे योजना बनाएको थिएँ त्यसअनुसार जान सकिरहेका छौं। मलाई लाग्छ, हामी राम्रो सेपमा छौं। तयार छौं। बीचमा कोभिडले पनि गाह्रो बनायो। अहिले सबैजना फिट छन् र जानका लागि तयार छन्,' दासानायकेले भने, ' हामीसँग राम्रो ब्याटिङ युनिट छ। आशा छ नेपालले दोस्रो विश्वकप खेल्नेछ।'

त्यसो त बन्द प्रशिक्षण सुरु भएपछि दासानायकेले केही पहलहरु पनि गरे। अभ्यासका लागि भारतबाट दुई नेट बलर भित्र्याएर अभ्यास गराउनेदेखि फिल्डिङ बलिङमा अनुभवी प्रशिक्षक भित्र्याएर टिमको प्रदर्शनलाई उच्च बनाउने छोटो समयमा हरसम्भव प्रयास गरे।

नयाँ प्रतिभाको उदय

२०१५ मा छाडेर जाँदाभन्दा अहिले 'ब्याटिङ स्किल'मा धेरै परिवर्तन पाएको दासानायकले बताए। टप अर्डरमा लगायत अन्य धेरै नयाँ प्रतिभाहरु पाएको दासानायकेले बताए। यसअघि पनि एउटा भर्चुअल कन्फ्रेन्समा कुरा गर्दै प्रशिक्षक दासानायकेले ब्याटिङमा आएका नयाँ प्रतिभाहरुको प्रशंसा गरेका थिए। राष्ट्रिय टोलीका दुई नयाँ प्रतिभा अर्थात विवेक यादव र लोकेश बम। पछिल्लो समय यी दुबै खेलाडीले घरेलु प्रतियोगिताहरुमा राम्रो छाप छाडिरहेका छन्। सप्तरीका यादवले मधेश प्रदेशबाट र सुदूरपश्चिमका बमले एपीएफबाट खेल्ने गर्छन्।

'विवेक र लोकेश दुबै उत्कृष्ट अलराउण्डर हुन्। किनभने भोलिको समयमा अझै राम्रो भूमिका खेल्ने खेलाडी हुन सक्छन्। लोकेशले पीएमकप लगायतमा प्रमाणित गर्दै आएका छन्। जब उनी फिल्डमा जान्छन्, स्पेसलिस्ट ब्याट्सम्यानका रुपमा प्रदर्शन गर्छन्। उनीहरु दुबैमा राम्रो ट्यालेन्ट छ र मेहेनतले यहाँ आइपुगेका छन्,' कप्तान लामिछानेले उनीहरुको प्रदर्शनबारे भने।

'राम्रो लागिरहेको छ। धेरै कुराहरु सिक्न पाइरहेको छु। सिनियर दाई कोचहरुसँग सिक्न पाइरहेको छ। डोमेस्टिक खेलिरहेको छु। प्रेसर लिएको छैन,' यादवले भने, 'म आफ्नो नम्बर ६/७ मा अभ्यास गरिरहेको छ। फिनिसिङ रोल छ। आफ्नो भूमिका खेलको सिच्वेसन अनुसार पाउने हो। सकेसम्म आफ्नो टिमलाई विश्वकपमा पुर्‍याउने लक्ष्य छ। सकेसम्म गेम फिनिस गर्ने हो।'

उनले सिनियर खेलाडीले राम्रो प्रोत्साहन गरेको भन्दै प्रदेशबाट खेल्दा र राष्ट्रिय स्तरमा खेल्दा माइन्डसेटको फरक पाएको बताए।

'सिनियर लेभलमा खेल्दा सिक्न पाइरहेको छ। यो अघिको नेपालले विश्वकपमा खेल्दा खेल्न थालेको थिइन। विश्वकपमा खेल्ने ठूलो सपना छ,' उनले भने। 

अर्का आक्रमक ब्याट्सम्यान लोकेशले भने पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउँदा 'नर्भस' अनुभव गरेको बताए।  

'राम्रो गरिरहेको छु। नर्भम पनि छु। एकैपटक ठूलो स्तरमा खेल्न गइरहेको छु। त्यो कुरा कोचसँग गरिरहेको छु कि नभर्सनेसबाट कसरी बाहिरिने भने,' उनले भने, 'मेन्टल्ली ठीक छु। फिजिकल्ली राम्रोसँग ट्रेनिङ गर्न पाइएन। १०/१२ दिन नै कोभिडले सतायो। बाँकी समय युटिलाइज गरेको छु।'

राष्ट्रिय टोलीमा अभ्यास गर्दा धेरै कुराहरु सिक्न पाएको उनले बताए।

'जहिले पनि देशबाट खेल्न रहर हुन्छ। दाईहरुसँग खेल्न पाए हुन्थ्यो भन्ने सोच थियो, त्यो अवसर पाएको छु। सिक्ने मौका पनि छ। राम्रो गर्ने मौका पनि छ,' उनले भने, 'यू १९ मा राम्रो गर्न नसकेकाले टिममा थिइन। ब्याक गर्नु थियो। गरेँ। जे पनि गरिरहेको छु राष्ट्रिय टोलीमा पर्नका लागि गरिरहेको छु।'

प्रधानमन्त्री कपमा बिस्फोटक कीर्तिमानी ब्याटिङ गरेका बम नेपालले यसअघिको विश्वकप खेलेको देखेर नै क्रिकेटमा आउने सपना देखेको बताउँछन्।

'मेरो नेचुरल गेम नै अट्याकिङ हो। सम्हालेर खेल्न गाह्रो हुन्छ। टिमलाई आवश्यक छ भने त्यो रोक्नुपर्छ,' उनले भने।

नेपालको खेल

आइसिसी टी२० विश्वकप ग्लोबल छनोटमा नेपालको खेल फेब्रुअरी १८ देखि २४ सम्म रहेको आईसीसीले जनाएको छ। ग्लोबल छनोट ए मा नेपालसहित ८ टोली छन्। ८ टोलीलाई चार चार गरी दुई समूहमा विभाजन गरिएको छ। नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी मा छन्।

नेपालले फेब्रुअरी १८ मा ओमनसँग, १९ मा फिलिपिन्ससँग र २१ मा क्यानडासँग खेल्नेछ।

आयरल्यान्ड, युएई, जर्मनी र बहराइन समूह ए मा छन्। समूह चरणको खेलपछि दुबै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने दुई टोलीले अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्न पाउनेछन्।

ग्लोबल क्वालिफायर्सअघि नेपालले सिरिज खेल्नेछ। जसअन्तर्गत फेब्रुअरी ११ मा नेपाल र ओमन, फेब्रुअरी १२ मा नेपाल र युएई र फेब्रुअरी १४ मा नेपाल र आयरल्याण्ड प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell