PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

विप्लव समूहका जुम्ला इञ्चार्जसहित दुई दर्जन नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश



पहिलोपोस्ट

 विप्लव समूहका जुम्ला इञ्चार्जसहित दुई दर्जन नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
फोटो : प्रचण्डको सचिवालय

काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जुम्ला जिल्ला इञ्चार्जसहितका नेता कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा मंगलवार बिहान आयोजित एक कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन्। 

यसरी पार्टी प्रवेश गर्नेमा जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा 'रवीकिरण', जिल्ला सेक्रेटरी तिर्थ बड,सह-सेक्रेटरी अलिबहादुर शाही रहेका छन्। रविकिरण विप्लव नेतृत्वको पार्टीका भेरी कर्णाली व्यूरो सदस्यसमेत हुन्। 

त्यस्तै अनेमसंघ जिल्ला अध्यक्ष विष्णु शाही, उपाध्यक्ष ठुमुरा बड, दलित मुक्ति मोर्चा जिल्ला अध्यक्ष जया परियारसहित विप्लव नेतृत्वको पार्टीको जिल्ला कमिटीका १५ जना र विभिन्न जनवर्गीय संगठनका जिल्ला तहका १६ जना नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। 

नवप्रवेशीलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्रीहरु एकठाउँमा हुनुको कुनै विकल्प नरहेको बताए।उनले परिवर्तनबाट प्राप्त उपलब्धीलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्तिहरु एकजुट हुन आवश्यक भएको बताए। 

‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरु कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहको छन्,’ उनले भने, 'हामी यति ठूलो परिवर्तनका बहाकहरु विघटन वा विभाजन तिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ।’

उनले अहिले विस्तारै विभाजनका घाउहरु बिर्सिँदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादीहरु एकठाउँमा केन्द्रित हुँदै गएको दाबी गरे। भने, ‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौँ। हामीलाई कसैले परास्त गर्न सक्दैन।’ 

अध्यक्षले नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा उचित जिम्मेवारी दिइने पनि बताए। प्रवेश गर्नेहरुका तर्फबाट रविकिरणले नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन अध्यक्ष प्रचण्ड नै सक्षम रहेको बताउँदै अन्य कोहीले रहर गरेर नहुने बताए। उनले अबको समाजवादी क्रान्तिका लागि प्रचण्ड नेतृत्वको पार्टीमा आफूहरु फर्किएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell