PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

निर्वाचन आयोगमा राजनीतिक दल : एक वर्षमा थपिए १७ दल, दुई दर्जन कम्युनिस्ट पार्टी



विधुर ढकाल

निर्वाचन आयोगमा राजनीतिक दल : एक वर्षमा थपिए १७ दल, दुई दर्जन कम्युनिस्ट पार्टी

काठमाडौं : सरकारले ३० वैशाखमा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी निर्वाचन आयोगलाई सिफारिस गरिसकेको छ। निर्वाचन कार्यतालिका बनाउन निर्वाचन आयोग व्यस्त छ। यसबिच निर्वाचन आयोगमा १ सय ३ दल अद्यावधिक भएका छन्।

पछिल्लो १ वर्षमा मात्र १७ राजनीतिक दल थपिएका छन्। २०७७ माघ यताको एक वर्षमा १६ नयाँ दल निर्वाचन आयोगमा दर्ता भएका हुन्। जसमध्ये भदौ यता मात्र ८ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको राजनीतिक दलको अद्यावधिक सूची अनुसार हाल नेपालमा १ सय ३ वटा पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन्। गत भदौमा यो संख्या ९५ थियो।

यस एक वर्षमा दर्ता भएका नयाँ पार्टीमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेकपा एमाले फुटाएर दर्ता गराएको नेकपा (एकीकृत समाजवादी) देखि नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलको नेपाल शुसासन पार्टीसम्म छन्। त्यस्तै, जनता समाजवादी पार्टीबाट फुटेर महन्थ ठाकुरले दर्ता गराएको लोकतान्त्रिक समाजवादी पार्टीसमेत निर्वाचन आयोगमा दर्ता भएको छ।

त्यस्तै, अर्को एउटा दल पनि निर्वाचन आयोगमा दर्ताको प्रक्रियामा छ। जनता समाजवादी पार्टीका नेता रेशम चौधरीले आफ्नी श्रीमती रञ्जिता श्रेष्ठको नाममा नागरिक उन्मुक्ति पार्टी गठन गरी आयोगमा दर्ताका लागि निवेदन दिइसकेका छन्।

डेढ दर्जन कम्युनिस्ट पार्टी, ७८ सालमै थपिए पाँच नयाँ कम्युनिस्ट पार्टी

नेपालमा पटक पटक कम्युनिस्ट पार्टीको विभाजन हुँदै आएको छ। सबैभन्दा बढी विभाजित हुने पार्टी नै कम्युनिस्ट पार्टी हुन्। निर्वाचन आयोगमा दर्ता भएका १ सय ३ पार्टी मध्ये १६ वटा कम्युनिस्ट पार्टी छन् जसले आफ्नो झण्डामा हसिया हतौडा राख्‍ने गर्छन्।

जसमध्ये २०७८ सालमा मात्र पाँच वटा नयाँ कम्युनिस्ट पार्टी दर्ता भएका छन्। नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक) पार्टी तिनैमध्येको एक कम्युनिस्ट पार्टी हो। असार ६ गते सुदीप रुवालीले यस पार्टीलाई आयोगमा दर्ता गराएर गोलाकारभित्र आधा चन्द्रमा चुनाव चिन्ह लिएर बसेका छन्। त्यस्तै, साउन ४ गते जोगमान लामाले नेपाल कम्युनिस्ट पार्टी परिवर्तन निर्वाचन आयोगमा दर्ता गरी माथि चराको प्रतिक भएको डम्फू चुनाव चिन्ह लिएका छन्।

भदौ ९ गते पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत समाजवादी पार्टी दर्ता गराएका थिए। त्यसअघि नेकपा (एकीकृत) जीवन राईले निर्वाचन आयोगमा दर्ता गराई कलम चुनाव चिन्ह लिएर बसेको थिए। पछि यस पार्टी नेपालको एकीकृत समाजवादीमा विलय भएर चुनाव चिन्ह कलम पाएको छ।

त्यस्तै, भदौ २८ गते राजु कार्कीले कार चुनाव चिन्ह सहित नेकपा समाजवादी पार्टी दर्ता गराएका छन्।

निर्वाचन आयोगमा नारायणमान बिजुक्छेको नेपाल मजदुर किसान पार्टी, सिपी मैनालीको नेकपा माले, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (हाल कट्टेल माथि कारवाही) नामका कम्युनिस्ट पार्टी दर्ता भएका छन्।  

त्यस्तै, मानध्वज गुरुङको नेकपा मार्क्सवादी (पुष्पलाल), सरस्वती न्यौपानेको नेकपा (राष्ट्रवादी), अम्विका प्रसदा थैवको नेकपा (मार्क्सवादी), केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले), पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) निर्वाचन आयोगमा दर्ता छन्।

त्यस्तै, नेकपा (मसाल)को चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा, नेकपा (क्रान्तिकारी माओवादी)को चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, गोपाल किराँती नेतृत्वको एकीकृत कम्युनिस्ट पार्टी नेपाल, रामबहादुर गुरुङ नेतृत्वको माओवादी जनमुक्ति पार्टीसमेत निर्वाचन आयोगमा दर्ता भएका छन्।

स्पष्ट रुपमा कम्युनिस्टको फुर्को नभए पनि अरु पनि कम्युनिस्ट विचारधारा बोक्ने दलहरुसमेत निर्वाचन आयोगमा छन्। यसअघि एमाले र माओवादी केन्द्र बिच एकतापछि नेकपा बन्दा सन्ध्या तिवारीले नेकपा (एमाले) दर्ता गरेर उदाउँदो सूर्य चुनाव चिन्ह लिएकी थिइन्। नेकपालाई सर्वोच्च अदालतले पूर्ववत पार्टीमा फर्काइदिएपछि तिवारीले जनताको जनवादी पार्टी नाममा फणा उठाएको नाग चुनाव चिन्ह सहित पार्टी दर्ता गराएकी छिन्।  त्यस्तै, युवराज पौडेलले समाजवादी केन्द्र आयोगमा दर्ता गराएका छन्।

१३ पार्टीको मुख्यालय उपत्यका बाहिर

नेपाल संघीयतामा गइसकेको भए पनि १ सय ३ मध्ये १३ राजनीतिक दलको मुख्यालय मात्र काठमाडौं बाहिर छ। जसमध्ये प्रदेश १ मा मुख्यालय भएका चार वटा पार्टी छन्। पृतम मुखिया नेतृत्वको पिछडा वर्ग निषाद दलित जनजाती पार्टीको मुख्यालय विराटनगर, रामकुमार राई नेतृत्वको खुम्बुवान राष्ट्रिय मोर्चा नेपालको धरान सुनसरी, ज्ञानशेर राई नेतृत्वको संघीय खुम्बुवान लोकतान्त्रिक पार्टीको मुख्यालय पनि धरानमै छ। त्यस्तै, भूपि राई नेतृत्वको किराँत खुम्बुवान साझा पार्टीको मुख्यालय पनि धरानमै रहेको छ।

सबैभन्दा धेरै क्षेत्रीय पार्टी प्रदेश २ मा देखिएका छन्। प्रदेश २ मा मुख्यालय भएका पार्टीहरुमा अमरप्रसाद यादव नेतृत्वको मधेश तराई फोरमको मुख्यालय रौतहटको गौरमा छ। त्यस्तै, भाग्यनाथ प्रसाद साह नेतृत्वको मधेशी जनअधिकार फोरम मधेशको मुख्यालय वीरगंजमा छ।

बद्रीनारायण ठाकुर नेतृत्वको ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालको कार्यालय जनकपुरधाममा रहेको छ। त्यस्तै रितेष कुमार सिंह नेतृत्वको राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिकको पार्टी मुख्यालय पनि जनकपुरधाममै रहेको छ।  जनकपुरधाममै मुख्यालय हुने अन्य पार्टीहरुमा रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी,  र रविशंकर कुमार कर्ण नेतृत्वको तराई-मधेश लोकतान्त्रिक पार्टी पनि हो।

त्यस्तै, विश्वनाथ प्रसाद साह नेतृत्वको राष्ट्रिय सद्भावना पार्टीको मुख्यालय सर्लाहीको मलंगहवामा छ। गोविन्दप्रसाद रिजाल नेतृत्वको नेपाल राष्ट्रिय सनातन पार्टीको  मुख्यालय चितवनमा रहेको छ।

नगन्यमा महिला नेतृत्व

दर्ता भएका १ सय ३ राजनीतिक दलमध्ये नगन्य मात्रामा महिलाले नेतृत्व गरेका छन्। आयोगको अध्यावधिक सूचीमा महिलाले नेतृत्व गरेका ६ वटा राजनीतिक दलमात्र छन्।

जसमध्ये संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)को नेतृत्व रुक्मिणी चौधरीले गरिरहेकी छन्। त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादीकी अध्यक्ष सरस्वती न्यौपाने, राष्ट्रवादी एकता पार्टीकी अध्यक्ष उमा श्रेष्ठ छन्। राष्ट्रिय विकास पार्टीकी अध्यक्षमा निलु कुमारी, जनताको जनवादी पार्टीकी अध्यक्ष सन्ध्या तिवारी र नेपाल विवेकशील पार्टीकी अध्यक्ष कर्मा लामा तामङ छन्। यी बाहेक बाँकी ९७ दलको नेतृत्व पुरुषले गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell