PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

ए डिभिजन लिग : पासवानको दोहोरो गोलमा पुलिसको जित

ए डिभिजन लिग : पासवानको दोहोरो गोलमा पुलिसको जित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : शहीद स्मारक ए डिभिजन अन्तर्गत आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबले च्यासल युथ क्लबलाई हराएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा पुलिसले च्यासललाई २-१ गोल अन्तरले हराएको हो। यी दुई टोली बिच माघ दुई गते खेल हुने तालिका थियो तर च्यासलका १९ जना खेलाडीमा कोभिड संक्रमण पाइएपछि स्थगित भएको थियो।

स्थगित भएको खेललाई २२ गते दशरथ रंगशालामा खेलाउने गरी अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा)ले मिति तोकेको थियो। यद्यपि, मैदानको खराब अवस्था देखाउँदै फेरि खेल स्थगित गरिएको थियो।  उक्त खेल आज भएको हो।

आज सम्पन्न खेलमा च्यासललाई हराउन पुलिसका रवि शंकर पासवानले दोहोरो गोल गरे।

खेलको ३७ औं मिनेटमा रविशंकर पासवानले नीरकुमार राईको पासमा गोल गर्दा पुलिसले अग्रता बनायो।

४२ औं मिनेटमा रामचन्द्र वाजीको प्रहार सिधै च्यासलका गोलकिपर अर्पण कार्कीको हातमा पुगेको थियो। पहिलो हाफमा पुलिस एक गोलले अघि रह्यो।

५२औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै च्यासलका मौसाअबा गनाले गोल गरे। सुमन सुवेदीले रुमेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टीको अवसर पाएको थियो। दोस्रो हाफमा च्यासलले पुलिसमाथि दवाव बनाएको थियो।

५८ ‍औं र ६३ मिनेटमा मोहित गुरुङको प्रहार पुलिसका गोलकिपर शत्रुघन चौधरीले उत्कृष्ट बचाउ गरे। यता खेलको ७१ औं मिनेट मिनेटमा रवि शंकर पासवानले फेरि अर्को गोल थप्दै पुलिसलाई अग्रता दिलाए। त्यसपछि पनि दुवै टिमले केही सुनौला अवसर बनाएका थिए तर सदुपयोग गर्न नसक्दा खेल पुलिसले २-१ ले आफ्नो पक्षमा पार्‍यो। जितसँगै पुलिसले ९ खेलबाट १० अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ भने च्यासल ५ अंक जोडेर १३ औं स्थानमा छ।

यससँगै लिगका नवौं चरणका खेलहरु सकिएका छन्। ए डिभिजन लिगका १० औं चरणका खेलहरु शुक्रवारबाट सुरु हुनेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell