PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

वडा टुक्राउने गण्डकीको सिफारिसमा वडावासी खुशी



रिना थापा

वडा टुक्राउने गण्डकीको सिफारिसमा वडावासी खुशी

पोखरा : लेख बहादुरलाई आफ्नो वडा कार्यालय पुग्नुभन्दा हुप्सेकोट गाउँपालिकाको कार्यालय पुग्न नजिक पर्छ। साढे दुई घण्टाको पैदल यात्रा गरेर मात्र पुग्छन् मस्याङ्गी वडा कार्यालय। त्यो पनि हिउँदको समयमा मात्र। फाँटमा रहेको वडा कार्यालयबाट माथि पहाडमा बाटो नपुगेको होइन। तर, मोटरबाटाे वर्षको सात महिनामात्र प्रयोगमा आउँछ। बाँकी समय बाटो हिलाम्मे। सडक पुगे पनि मोटर जाने पुल बनिसकेको छैन। पैदल मार्गमा झोलुङ्गे पुल छ। त्यो पनि घुमाउरो पर्छ। बर्खायाममा लेख बहादुर जसरी अन्य स्थानीयलाई पनि वडा कार्यालय झर्न दोब्बर बाटोको यात्रा तय गर्नुपर्छ। 

साविकको हुप्सेकोट देउराली र धौवादी गाउँ विकास समिति मिलाएर बनेको हो हुप्सेकोट गाउँपालिका। साविकको  देउराली गाविसकै कार्यालयमा बसेको छ गाउँपालिका। छ वटा वडा रहेको गाउँपालिकामा अहिले वडा टुक्राएर ७ र ८ थप्‍न सिफारिस भएको छ। गण्डकी प्रदेश सरकारले नवलपुरको हुप्सेकोट गाउँपालिकाका २ र ४ नम्बर वडा टुक्राउन संघीय सरकारलाई सिफारिस गरेको छ।

गण्डकी प्रदेशले गरेको यस्तो सिफारिसबाट खुशी भएका छन् वडा २ र ४ का बासिन्दा। वडा नम्बर २ का बासिन्दा समेत रहेका लेखबहादुर भन्छन्, 'वडा टुक्राउनुपर्ने माग राख्दै पालिकामा हामी बारम्बार पुगेका हौं। अहिले माथि सिफारिस भएछ। निर्णय राम्रो भए हामीलाई सहज हुन्छ।' 

वडाका वासिन्दाको गुनासोलाई सुनुवाइ गर्दै गाउँपालिकाले २०७७ माघ १९ गते गण्डकी प्रदेश सरकारलाई भौगोलिक, जनसंख्या र राजस्वको आधारमा २ र ४ नम्बर वडालाई टुक्र्याएर ७ र ८ बनाउन सिफारिस गरेको थियो।

त्यसको एकवर्षपछि माघ २४ गते सोमवार बसेको मन्त्रिपरिषदको बैठकले वडा टुक्र्याउन सिफारिस गरेको हो। प्रदेश सरकारका प्रवक्तासमेत रहेका भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले अध्ययन,अनुगमन अवलोकन र स्थानीयको गुनासोलाई मध्यनजर गरेर वडा टुक्र्याउन सिफारिस गरेको बताए। 

‘प्रदेश सरकारले अध्ययन, अनुगमन अवलोकन र स्थानीयको गुनासोलाई मध्यनजर गरेर प्रदेश सरकारले वडा टुक्र्याउन सिफारिस गरेको हो,’ खड्काले भने। 

साविक देउराली गाविसको ६ र ७ धौवादीको मिलाएर हुप्सिकोट गाउँपालिकाको वडा नम्बर ४ बनेको हो। साविकको देउरालीको गाविसको १, २ र ९ मिलाएर वडा नम्बर २ बनेको हो।

तत्कालीन धौवादी ७ र साविक देउराली १ र २ का वासिन्दालाई भौगोलिक रुपमा अपायक पर्‍यो।  

वडावासीलाई अपायक भएपछि पालिकाले वडा टुक्र्याउन सिफारिस गरिएको पालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्।

'नागरिकको गुनासो आएर नै हामीले सिफारिस गरेका हौं तर प्रदेश सरकारले लामो समयसम्म अड्कायाे,' उनले भनिन्। वडा टुक्रिए नागरिकलाई सहज हुने उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell