PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

के नेपाली फिल्ममेकरलाई बलिउड फिल्मसँग भिड्ने आँट आएकै हो?



लक्ष्मी बलायर

के नेपाली फिल्ममेकरलाई बलिउड फिल्मसँग भिड्ने आँट आएकै हो?

काठमाडौं : फागुन १ गतेदेखि फिल्म हल खुल्ने भनेसँगै नेपाली फिल्म निर्माताहरु रिलिज डेट तोक्न तम्सिएका छन्। कोरोनाको तेस्रो लहर कम हुन थालेपछि दुईवर्षदेखि होल्डमा ५० भन्दा बढि फिल्महरु रिलिजको लाइनअपमा छन्। साथै कतिपय फिल्महरु भने छायाङ्कनमै व्यस्त छन्।

नेपालका सिनेमाहलमा पहिलेदेखि नै हिन्दी फिल्महरूको दबदबा बढि छ। जसले हिन्दी फिल्महरु प्रदर्शित गर्ने बेला नेपाली निर्माताहरु फिल्म प्रदर्शन गर्न डराउँछन्। किनकी उनीहरु बलिउड फिल्मसँग जुधेर रिस्क लिन चाहदैनन्।

यसअघि निर्माता अर्जुनकुमारले पनि अल्लु अर्जुन अभिनित फिल्म 'पुष्पा- द राइज' सँग डराएर 'चपली हाइट ३' को रिलिज डेट सारेको घटना ताजै छ।

तर कोरोनाको तेस्रो लहरपछि भने ठ्याकै पहिलेको ट्रेन्ड विपरित भएको छ। अहिले नेपाली फिल्म निर्माताहरुले भारतका बहुप्रतिक्षित फिल्महरुसँग पनि भिड्न तयार भएका छन्।

मंगलवारमात्रै निर्देशक सुदर्शन थापाले दुई वर्षदेखि होल्डमा रहेको 'म यस्तो गीत गाउँछ २' को प्रदर्शन मिति तय गरे। पटक पटक कोरोनाको चपेटामा परेको यो फिल्म आगामी फागुन १३ गते अर्थात २५ फेब्रअरीमा रिलिज हुँदैछ। पुजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको फिल्मबाट धेरै आशा समेत गरिएको छ।

तर यसअघि नै आलिया भट्ट अभिनित बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’ रिलिज हुने पक्का भइसकेको थियो। बहुप्रतिक्षित भनिएको उक्त फिल्म माफिया डन गगुंबाईको जीवनमा केन्द्रित छ। फिल्म रिलिजको ताती नै रहेको बेला थापाले बलिउड फिल्मसँग भिड्ने आँट गरेका छन्।

'म यस्तो गीत गाउँछु २' मात्रै होइन अन्य नेपाली फिल्महरु पनि बलिउड फिल्मसँग भिड्नैछन्। गौरव पहारीको मुख्य भूमिका रहेको 'आकाशे खेती' पनि प्रभास अभिनित बलिउड फिल्म 'राधेश्याम' सँग जुध्दैछ। यी दुबै फिल्महरु फागुन २७ गते अर्थात ११ मार्चमा रिलिज हुँदैछन।

त्यसैगरि नेपाली फिल्म 'चिसो एस्ट्रे' ले पनि चैत ४ को मिति तोकिसकेको छ। सोही समयमा अक्षयकुमारको 'बच्चन पाण्डे' पनि रिलिज हुनेछ। २५ मार्च (चैत ११) ‘बाहुबली’ का निर्देशक एसएस राजामौली बहुप्रतीक्षित फिल्म ‘आरआरआर’ रिलिज हुदैछ। आरआरआरकै प्रदर्शन मितिमा नेपाली फिल्म ‘हेलो जिन्दगी’ पनि आउने तयारी छ।

त्यस्तै, वैशाख १ गते अनमोल केसी र सुहाना थापाको अभिनय रहेको 'ए मेरो हजुर ४' आउने पक्का भइसकेको छ। झरना थापा निर्देशित यस फिल्मले अझै बढि जोखिम लिएको छ। सोही डेटमा नै भारतका दुई फिल्महरु 'केजीएफ २' र 'लालसिंह चड्डा' रिलिज हुँदैछन। यी फिल्महरुले बलिउड फिल्मसँग भिड्ने आँट गर्नेछन् वा पछाडि सर्नेछन् त्यो भने हेर्न बाँकी नै छ।

***

कोरोना कहरको सबैभन्दा बढी मारमा परेको फिल्म मध्य एक हो 'म यस्तो गीत गाउँछु २'। यो फिल्म २०७६ फागुन ३० गते रिलिज हुने भनिएको थियो। फिल्मको प्रचारको कामसमेत पुरा भइसकेको थियो। तर फिल्म रिलिज हुन सकेन। कारण: कोरोना संक्रमणसँगै सरकारले हल बन्द गर्नु भनी दिएको निर्देशन।

फिल्म प्रचारको लागि मात्रै ५० लाखसम्म खर्च भइसकेको निर्माण टिमको दाबी छ। यसअघि पनि माघ १९ रिलिज तय भएको थियो। तर ओमोक्रन भेरियन्ट फैलिएसँगै संक्रमितको संख्या बढेसँगै सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि रिलिज हुन सकेन।

तेस्रो लहरपछिकै सुरुवातमै त्यसमाथि बहुप्रतिक्षित बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’ सँग किन भिड्दैछ?  जवाफमा निर्देशक सुदर्शन थापा भन्छन् 'फिल्म राम्रो बनेको छ भन्ने आत्म विश्वास'। फिल्म माथिको आत्मविश्वासले नै सुदर्शनलाई रिलिज गर्ने आँट दिएको हो।

'फिल्मको ट्रेलर र गीतहरु दर्शकले मन पराउनु भएको छ। यस फिल्मलाई दर्शकले कुरिरहनु भएको छ। बलिउड सिनेमा रिलिज हुँदा सधैँ नेपाली सिनेमा भाग्ने आरोप लाग्ने गर्छ,' थापा भन्छन्, 'तर नेपाली फिल्म पनि हलिउड र बलिउडसँग भिड्न सक्छन्। यदि फिल्म राम्रो भने दर्शकहरुले मन पराएका धेरै उदाहरणहरु छन्। साथै विदेशी सिनेमासँग रिलिज गर्न डराउदैनौँ भनेर देखाउन पनि आवश्यक छ।'

नेपाली फिल्म नेपाली दर्शकको लागि बनाएको भन्दै उनले आफ्नै देशमा रिलिज गर्न डराउनु नपर्ने बताए। ‘नेपाली फिल्मका पनि आफ्नै दर्शक हुनुहुन्छ। आफ्नै देशमा नेपाली सिनेमा प्रदर्शन गर्न हामीलाई कुनै गाह्रो छैन। बलिउड फिल्म आउँदैछ भनेर हामीले तर्किएर हिड्ने कुरा हुँदैन। हामीलाई आफ्नो फिल्ममाथि विश्वास छ,' उनले भने। 

फिल्म रिलिज गर्ने आँटलाई नेपाली दर्शकहरुले साथ दिनुपर्ने र दर्शकले नेपाली फिल्मलाई प्राथमिकतामा राख्नुपर्ने उनको तर्क छ। भन्छन्, 'सबै बलिउडकै रिलिज मिति हेरेर नेपाली फिल्मको रिलिज डेट घोषणा गर्ने हो भने कहिले पालो नै आउँदैन। सधैँ बलिउडकै भर पर्दा नेपाली फिल्मको अस्तित्व रहदैन। सबैले एकअर्कालाई साथ दिएर नेपाली सिनेमा जगतलाई माथि उकास्नुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell