PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

सिटीको सानदार जित, टोटेनहम साउथह्याम्टनसँग पराजित



पहिलोपोस्ट

सिटीको सानदार जित, टोटेनहम साउथह्याम्टनसँग पराजित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई हराएको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले ब्रेन्टफोर्डमाथि २-० गोलअन्तरले जित निकालेको हो।

खेलको ४० औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै रियाद महरेजले सिटीलाई अग्रता दिलाए। पहिलो हाफमा सिटी एक गोलले अघि रह्यो। दोस्रो हाफमा केभिन डी ब्रुइनले गोल थपे। उनले खेलको ६९ औं मिनेटमा गोल गर्दा सिटीले २-० को सहज जित निकाल्यो।

गएराति नै सम्पन्न अर्को खेलमा टोटनहम हट्स्परमाथि साउथह्याम्टनले पुनरागमन जित निकाल्यो। टोटेनहमको घरेलु मैदानमा सम्पन्न खेलमा साउथह्याम्टनले ३-२ गोलअन्तरले जित निकालेको हो।

खेलको १८ औं मिनेटमा जन बेडनरेकले आत्मघाती गोल गर्न पुग्दा टोटेनहमले अग्रता बनाएको थियो। तर २३ औं मिनेटमै अर्मान्डो ब्रोजाले गोल फर्काउँदा पहिलो हाफ १-१ को बराबरीमा रोकियो। दोस्रो हाफमा घरेलु टोलीले फेरि अग्रता बनायो। खेलको ७० औं मिनेटमा कोरियन फर्वाड सन ह्युङ मिनले लुकास मौराको पासमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए। यसपाला साउथह्याम्टनका मोहम्मद एलयोनोउसीले गोल फर्काउँदै फेरि खेल बराबरीमा ल्याए। दुई पटक पछि परेर खेलमा फर्किएको साउथह्याम्टनलाई जित दिलाउन तेस्रो गोल ८२ औं मिनेटमा चे आडम्सले गरे। र, साउथ ह्याम्टनले खेल ३-२ ले आफ्नो पक्षमा पार्‍यो।

गएरातिको खेलसँगै लिग लिडर म्यानचेस्टर सिटीले शीर्ष स्थानमा १२ अंकको अग्रता बनाएको छ। २४ खेलबाट ६० अंक जोडेको सिटी शीर्षस्थानमा छ भने दोस्रो स्थानमा २२ खेलबाट ५८ अंक जोडेको लिभरपुल छ। त्यस्तै साउथह्याम्टनसँगको पराजयले टोटेनहम शीर्ष पाँचमा रहने अवसरबाट चुक्यो। सातौं स्थानमा रहेको उसको २१ खेलबाट ३६ अंक छ। त्यस्तै साउथह्याम्टन २८ अंक जोडेर १० औं स्थानमा उक्लिएको छ भने पछिल्ला पाँच खेलमा जित निकाल्न नसकेको ब्रेन्टफोर्ड २३ अंक जोडेर १४ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell