एका बिहानै चिसो पानीले नुहाउने विषय अहिलेको चिसोमा पक्कै रुचीको विषय नहोला। अचम्म लाग्न सक्छ धेरै मानिस बिहान सबेरै चिसो पानीले नुहाउने बानी बसाल्न चाहन्छन्। किनकि एका बिहानै चिसो पानीले नुहाउँदा शारीरिक र मानसिक स्वास्थ्यलाई राम्रो गर्ने विभिन्न अध्ययनले देखाएको छ।
उपचारमा चिसो पानीको प्रयोग डाक्टरहरुले पहिलो पटक १९ औँ शताब्दीको सुरुतिरै गरेका थिए। डाक्टरहरूले ‘तातो तथा सुजन मस्तिष्कलाई चिसो पार्न र आवेगलाई नियन्त्रणमा राख्न’ शरणार्थी र जेलका कैदीहरूमा यसको प्रयोग गरेको बताइन्छ।
१९ औँ शताब्दीको मध्यतिर भिक्टोरियनहरूले नुहाउनका लागि तातो पानीको प्रयोग गर्न थाले। त्यसपछि नुहाउने कष्टपूर्ण काम आरामदायी बनेको हो।
यद्यपि, स्वास्थ्यलाभका लागि चिसो पानीले नुहाउने प्रचलन हराएको भने छैन। यसको प्रयोग अहिले झन् बढेको छ।
अध्ययनले के देखाउँछ?
नेदरल्यान्ड्समा गरिएको एउटा बृहत अध्ययनले चिसो पानीले नुहाउने मानिसहरू तातो पानीले नुहाउने मानिसहरुको तुलनामा कम बिरामी हुने देखाएको छ।
सो अध्ययनमा ३ हजारभन्दा बढी मानिसलाई परीक्षणमा सहभागी गराइएको थियो। उनीहरुलाई चार समूहमा विभाजन गरियो। एउटा समूहलाई हरेक दिन मनतातो पानीले नुहाउन भनियो। अर्को समूहलाई अन्तिममा ३० सेकेन्ड चिसो पानीले नुहाउन भनियो। त्यस्तै, तेस्रो समूहलाई ६० सेकेन्ड र चौथोलाई ९० सेकेन्ड चिसो पानीले नुहाउन भनिएको थियो। सहभागीहरूलाई एक महिनाको लागि यस्तो नियम पूर्ण रुपमा पालना गर्न लगाइयो। यद्यपि, ६४ प्रतिशत सहभागीले अध्ययनपछि पनि चिसो पानीको प्रयोगलाई जारी नै राख्न मन पराए।
तीन महिनापछि 'फलो अप' गर्दा चिसो पानीले नुहाउने सहभागीमा बिरामी भएर कामबाट बिदा लिनुपर्ने अवस्थामा २९ प्रतिशतले कमी आएको देखिएको थियो। चाखलाग्दो कुरा त के थियो भने चिसो पानीको प्रयोगको अवधिले सो नतिजालाई प्रभाव पारेको देखिएन।
चिसो पानीले नुहाउँदा किन मानिसहरू कम बिरामी हुन्छन् भन्ने कारण त स्पष्ट छैन तर केही अनुसन्धानहरूबाट यसले मानिसको प्रतिरक्षा प्रणालीलाई बढावा दिएको हुनसक्ने अनुमान गरिएको छ।
चेक रिपब्लिकमा गरिएको एक अध्ययनमा ‘एथ्लेटिक पुरुष’लाई ६ हप्तासम्म साताको तीन पटक चिसो पानीले नुहाउन भनिएको थियो। यसले उनीहरूको प्रतिरक्षा प्रणालीलाई बलियो भएको पाइएको थियो। यद्यपि, यी निष्कर्षहरूलाई पुष्टि गर्न थप बृहत अध्ययन आवश्यक छ।
चिसो पानीले सिम्प्याथेटिक नर्भस सिस्टमलाई एक्टिभेट गर्ने गरेको पनि देखिएको छ। यो स्नायु प्रणालीको त्यो भाग हो जसले ‘फाइट-अर-फ्लाइट’ रेस्पोन्सलाई नियन्त्रण गर्दछ। ‘फाइट-अर-फ्लाइट’ रेसपोन्स भनेको खतरनाक, तनावपूर्ण वा डरलाग्दो अवस्थाको लागि स्वचालित शारीरिक प्रतिक्रिया हो।
जब यो सक्रिय हुन्छ तब शरीरमा ‘नोराड्रेनालिन’ नामक हर्मोन वृद्धि हुन्छ। सोही हर्मोनका कारण चिसो पानीले नुहाउँदा मुटुको गति र रक्तचापमा वृद्धि हुन्छ। र, सोही कारण स्वास्थ्य सुधारहरूसँग जोडिएको हुनसक्ने अनुमान गरिएको छ।
चिसो पानीले नुहाउँदा रक्तसञ्चारमा पनि सुधार आएको देखिएको छ। चिसो पानीको सम्पर्कमा आउँदा छालामा रगतको प्रवाह कम हुन्छ। जब चिसो पानी बन्द हुन्छ अनि शरीर न्यानो हुनुपर्ने भएकाले छालाको सतहमा रगतको प्रवाह बढ्छ। यसले रक्तसञ्चारमा सुधार गर्न सक्ने वैज्ञानिकहरूको सुझाव छ। एक अध्ययनले व्यायामपछि चिसो पानीले नुहाएको चार हप्तापछि मांसपेशीमा रगतको प्रवाहमा सुधार भएको देखाएको छ।
केही अध्ययनहरुले चिसो पानीले नुहाउँदा तौल कम गर्न पनि मद्दत पुग्ने देखाएको छ। १४ डिग्री सेल्सियस तापक्रमको चिसो पानीले नुहाउँदा मेटाबोलिजम ३५० प्रतिशतले बढ्ने एक अध्ययनले देखाएको छ। मेटाबोलिजम त्यो प्रक्रिया हो जसमा हामीले खाने र पिउने कुरालाई शरीरले ऊर्जामा रूपान्तरण गर्छ। त्यसैले उच्च मेटाबोलिजमको अर्थ शरीरले धेरै ऊर्जा खपत गर्ने हुन्छ।
शारीरिक लाभका अलावा चिसो पानीले नुहाउँदा मानसिक स्वास्थ्यलाई पनि फाइदा पुर्याउँछ। चिसो पानीले नुहाउँदा ‘फाइट-अर-फ्लाइट’ रेसपोन्सको उत्तेजनाका कारण मेन्टल एलर्टनेस (मानसिक सतर्कता) बढ्छ भन्ने केही विज्ञहरुको तर्क छ। वयस्क व्यक्तिहरूको अनुहार र घाँटी चिसो पानीले धुँदा मस्तिष्कको काममा सुधार ल्याउने देखिएको छ।
चिसो पानीले नुहाउँदा डिप्रेसनका लक्षणहरू पनि कम गर्न मद्दत गर्नसक्ने देखिएको छ। छालामा कोल्ड रिसेप्टरहरू उच्च हुँदा तंत्रिकाबाट मस्तिष्कमा अत्यधिक मात्रामा इलेक्ट्रिकल पल्स आउँछ, जसको एन्टी-डिप्रेसिभ प्रभाव हुनसक्ने विज्ञहरुको अनुमान छ।
कारणहरू अलिकति अस्पष्टै भए पनि चिसो पानीले नुहाउनु स्वास्थ्यको लागि राम्रो हुन्छ भन्ने प्रशस्त प्रमाणहरू छन्। तर, चिसो पानीले नुहाउन शुरु गर्नुअघि यसको जोखिमहरू पनि थाहा पाउनुपर्छ। अचानक चिसो पानीको प्रयोगले शरीरलाई झसंग पार्छ। यो मुटु रोगीहरूका लागि खतरनाक हुनसक्छ र हृदयघात वा मुटुको चाल अनियमित हुनसक्छ।
वर्ल्ड इकोनोमिक फोरममा प्रकाशित सामग्रीको भावानुवाद।