
काठमाडौं : अभिनेता अनमोल केसी फिल्म 'हनी बनी' मा अनुबन्धित भएका छन्। दिवाकर भट्टराईको निर्देशनमा बन्ने यस फिल्ममा अनमोल मुख्य भूमिकामा देखिनेछन्। अनमोलले केही दिन अघि फिल्म निर्माण टिमसँग सम्झौता समेत गरिसकेको भट्टराईले जानकारी दिए।
'हाम्रो पहिलो रोजाई नै अनमोल थियो। फिल्मको स्क्रिप्ट सुन्ने बित्तिकै अनमोल काम गर्न सकरात्मक भएका थिए। स्क्रिप्ट मन परेर नै अनमोलले फिल्ममा काम गर्न लागेका हुन्। तर, अन्य कलाकारहरु भने छनोट हुन बाँकी नै छ' उनले भने।
एबी इन्टरनेशनल ब्यानरमा बन्न लागेको फिल्मका निर्माता अमित बस्नेत, अजित केआर थापा र परी राना हुन्। प्रेम कथामा आधारित फिल्मको कथा भट्टराई स्वयमले नै लेखेका हुन्।
रोमान्टिक कमेडी जनरामा निर्माण हुने फिल्मको ९८ प्रतिशत छायांकन लन्डनमा हुनेछ। बाँकी भने नेपालमा गरिनेछ। आगामी चैत १ गते देखि फिल्मको छायांकन सुरु गर्ने योजना निर्माण टिमको छ।