PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

ओमोक्रन पुष्टि भएयता विश्वभर पाँच लाखको मृत्यु, नेपालमा सव भेरियन्ट बीए.२ को संक्रमण फैलिँदै



विधुर ढकाल

ओमोक्रन पुष्टि भएयता विश्वभर पाँच लाखको मृत्यु, नेपालमा सव भेरियन्ट बीए.२ को संक्रमण फैलिँदै

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ओमोक्रनका थप संक्रामक रुपहरु विश्वभरी नै फैलिन सक्ने जनाएको छ। यद्यपि, यस्ता कोभिड-१९ का सव भेरियन्टले यसअघि ओमोक्रनबाट संक्रमित भइसकेकाहरुलाई पुन: संक्रमण गर्छ कि गर्दैन भन्ने अझै स्पष्ट भइसकेको छैन।

डब्लुएचओको कोभिड-१९ सम्बन्धि प्राविधिक टोलीकी प्रमुख मारिया भान केर्खोभले ओमोक्रनका चारवटा रुपहरु विश्वभरी ट्र्याक गरिएको मंगलवार जानकारी दिएकी थिइन्। जसमध्ये सव भेरियन्ट बीए.२ हाल देखिइरहेको सव भेरियन्ट बीए.१ भन्दा बढी संक्रामक र सरुवा रहेको उनको भनाइ छ। पछिल्लो समय ओमोक्रनको सव भेरियन्ट बीए.२ विश्वभरी नै प्रभावशाली रुपमा फैलिँदै गएको छ।

'बीए.२ बीए.१ भन्दा बढी सरुवा छ। हामीले अपेक्षित रुपमा देखिरहेका छौँ कि बीए.२ विश्वभरी नै फैलिरहेको छ,' मंगलवार सामाजिक सञ्जाल मार्फत् प्रत्यक्ष प्रसारण गरिएको प्रश्नोत्तर कार्यक्रममा उनले भनिन्।

उनले डब्लुएचओले बीए.२ सव भेरियन्ट देशहरुमा संक्रमण बढ्नुमा कारक हो कि होइन भनेर निगरानी गरिरहेको जानकारी दिइन्। उनले यस सव भेरियन्टका कारण गम्भीर खालको संक्रमण नदेखिएको भए पनि अध्ययन जारी रहेको उनले बताइन्।

'यद्यपि, यो तीब्र रुपमा फैलिन्छ,' उनले भनिन्। 

यसैबिच नेपालमा पनि ओमोक्रनको बीए.२ सव भेरियन्ट प्रभावशाली देखिएको छ। पछिल्लो समय जेन सिक्वेन्सिङ गरिएका मध्ये ८२ प्रतिशत भन्दा बढी बीए.२ भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ।

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता सङ्गीता कौशल मिश्रले ९५ वटा नमुना जीन सिक्वेन्सिङका लागि गएको माघ २४ गते भारत पठाइएकोमा सबैमा ओमिक्रोन पुष्टि भएको जानकारी दिइन्। त्यसमध्ये ७८ वटा अर्थात ८२ प्रतिशत ओमिक्रोनको बीए.२ पुष्टि भएको थियो।

पछिल्ला नयाँ भेरिएन्टबाट जोखिम अझै कायम रहेकाले सावधानी अपन उनले आग्रह गरिन्। ओमिक्रोन भेरिअन्टका कोरोनाभाइरसका अरू भेरिएन्ट भन्दा द्रुत गतिमा फैलने गरेको भन्दै उनले अझै सतर्कता अपनाउनुपर्ने बताइन्।

'भाइरसहरुमा अनुवांशिक उत्परिवर्तन भइरहन्छ। कोभिड-१९ सुरु भएपछि हालसम्म अनुवांशिक उत्परिवर्तन भएर विभिन्न भेरियन्टहरु देखा परिसकेका छन्,' उनले भनिन्, 'विश्वभरी अहिले ओमोक्रन भेरियन्टमा उत्परिवर्तन भई चार लिनएज देखा परेका छन्। बीए.२ ले ओमोक्रनको बीए.१ र डेल्टा भेरियन्टको लिनएजलाई प्रतिस्थापन गरिरहेको छ।'

के बीए.२ बढी संक्रामक छ?

डेनमार्कका अनुसन्धानकर्ताहरुले ओमोक्रनको बीए.२ सव भेरियन्ट बीए.१ भन्दा डेढगुणा बढी सरुवा रहेको पत्ता लगाएका छन्। र, यो पहिला संक्रमित भइसकेका वा कोभिड-१९ विरुद्धको बुस्टर डोज खोप लगाइसकेकामा पनि बढी प्रभाव पार्न सक्ने क्षमताको रहेको अनुसन्धानले देखाएको छ। 

युनिभर्सिटी अफ कोपनहगेनका वैज्ञानिकहरु र त्यहाँको स्वास्थ्य मन्त्रालयको सहकार्यमा भएको अनुसन्धानले बीए.२ खोप सुरक्षाबाट बढी तर्किनसक्ने क्षमता भएको देखाएको छु।

खोप लगाएकाहरुमा यसको संक्रमण देखिए पनि उनीहरुबाट सर्नसक्ने भन्ने कम देखिएको छ। खोप नलगाएकाबाट यसको संक्रमण छिटो फैलिनसक्ने र उनीहरुले बीए.२ को भाइरल लोड बढी राख्‍ने देखाएको छ। यद्यपि, खोप लगाएका व्यक्तिमा अरु स्ट्रेन भन्दा बीए.२ को संक्रमण हुने सम्भावना बढी देखिएको अनुसन्धानले जनाएको छ।

डेनममार्कको राष्ट्रव्यावी तथ्यांकलाई लिएर गरिएको अनुसन्धानले ओमोक्रनको बीए.१ र बीए.२ सव भेरियन्टको फैलनसक्ने क्षमताको बारेमा अध्ययन भएको थियो।

यसैबिच अर्को एक अनुसन्धानले बेलायतमा ओमोक्रन भेरियन्टबाट संक्रमित भएका मध्ये दुई तिहाईलाई यस अघि नै संक्रमण पुष्टि भएको देखाएको छ।

पछिल्लो सयम ओमोक्रन भेरियन्टले बेलायतमा डेल्टा भेरियन्टको प्रभाव हटाउँदै आफ्नो प्रभाव बढाइरहेको छ। बेलायत सरकारको सहयोगमा इम्पेरियल कलेज लण्डनको अनुसन्धानले यस्तो देखाएको हो। एक लाख ६ सय ७ पीसीआर टेस्ट रिजल्टलाई अनुसन्धान गर्दा पोजेटिभ देखिएका ९९ प्रतिशतमा ओमोक्रन भेरियन्ट र एक प्रतिशतमा डेल्टा भेरियन्ट पुष्टि भएको अनुसन्धानले देखाएको छ। 

अध्ययनमा सहभागी तीन हजार ५ सय ८२ जना ओमोक्रनबाट संक्रमितमध्ये दुई तिहाईमा यस अघि पनि संक्रमण पुष्टि भएको र थप ७.५ प्रतिशतले यसअघि लक्षण देखिएको र संक्रमित भएकोमा शंका लागे पनि परीक्षण नगराएको बताएका छन्।

इम्पेरियल कलेजकै गत डिसेम्बरमा सार्वजनिक भएको एक अर्को अनुसन्धानले पनि ओमोक्रन भेरियन्टले डेल्टाले भन्दा ५.४ गुणा बढी पुन: संक्रमण गराउन सक्ने देखाएको थियो।

यता, डब्लुएचओका कोभिड इन्सिडेन्ट म्यानेजर डाक्टर अब्दी महमुदका अनुसार ओमोक्रन भेरियन्टसँगै उत्तर अमेरिकामा ओमोक्रन घट्दै जाँदा दक्षिण अमेरिकामा बढिरहेको छ। ओमोक्रन पुष्टि भएको दक्षिण अफ्रिका क्षेत्रमा घट्दै गइरहेको देखिन्छ। पश्चिम युरोपमा स्थिर रहँदा पूर्वी युरोप र मध्ये एसियामा बढ्दै गएको छ जहाँ खोप पनि वितरण भएको छ। 

सुरुवातमा एसियाको दक्षिण क्षेत्रमा बढी देखिएको पनि विस्तारै यो पूर्वतिर गइरहेको उनले बताए।

कोभिड-१९ को ओमोक्रन भेरियन्ट पुष्टि भइसकेपछि मात्र विश्वभर १ करोड ३० लाख नयाँ केस पुष्टि भएको र पाँच लाखको मृत्यु भएको भन्दै दु:ख व्यक्त गरे।

'प्रभावकारी खोपको समयमा पनि पाँच लाखलाई गुमाएका छौँ। यो दु:खद हो,' उनले भने, 'जसमध्ये अमेरिकामा मात्र एक लाखको मृत्यु भएको छ। सबैले ओमोक्रन कमजोर-कमजोर छ भन्दै गर्दा हामीले यो भुलेका छौँ की पाँच लाख आफन्तलाई गुमाएका छौँ।'

दैनिक तथ्यांकलाई केलाउने हो भने पनि हरेक २४ घण्टामा सबैको ज्यान लिनेगरी १८ विमान बोइङ - ७३७ म्याक्स दुर्घटना भए सरह मानिसको ज्यान गुमिरहेको दावी गरे।

नोभेम्बरयता विश्वर ४० वटा देशले आफ्नो तथ्याङ्कमा हजारौँ बीए.टु पुष्टि गरेका छन्। डेनमार्कको अर्को एक अनुसन्धानले त्यहाँ पुष्टि भएका कोभिड -१९ संक्रमितमध्ये ५० प्रतिशत बढीमा बीए.२ को संक्रमण देखिएको छ।

पछिल्लो समय बेलायत सहितका अधिकांश युरोपेली देशमा ओमोक्रन मुल भेरियन्टको रुपमा स्थापित हुँदा भारत र नेपालमा पनि यसले मुल भेरियन्टको रुपमा आफूलाई स्थापित गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell