PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

एमसीसीबारे कांग्रेसको निष्कर्षः ‘विभिन्न हल्ला फिँजाइएका छन्, संसदमा पेश गरेर जनप्रतिनिधिले छलफल गर्न पाउनुपर्छ’



पहिलोपोस्ट

एमसीसीबारे कांग्रेसको निष्कर्षः ‘विभिन्न हल्ला फिँजाइएका छन्, संसदमा पेश गरेर जनप्रतिनिधिले छलफल गर्न पाउनुपर्छ’

काठमाडौँः नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सँगको सहायता सम्झौता संसदबाट छिनोफानो हुनुपर्ने निष्कर्ष निकालेको छ। बिहीबारदेखि सुरु भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कांग्रेसले एमसीसीबारे चर्चा गरेको छ। छलफल बिना नै सम्झौताबारे विभिन्न हल्ला भइरहेको भन्दै संसदमा छलफल हुनु पारदर्शी प्रक्रिया भएको कांग्रेसको भनाई छ। 

कार्यसम्पादन बैठकपछि प्रवक्ता प्रकाशशरण महतले सम्झौताबारे सदनबाट नै छिनोफानो हुनुपर्ने पक्षमा कांग्रेस रहेको बताए। 

महतले भने, ‘जनताका प्रतिनिधि बीचमा छलफल चलाइनु पारदर्शी प्रक्रिया हो। अहिले विभिन्न हल्ला फिँजाइएका छन्। ती हल्लाबारे जनताका प्रतिनिधिले छलफल गर्न पाउनुपर्छ। गुण दोष, राम्रो नराम्रो के हो सांसदहरुले नै हेरेर निर्णय गर्छन्।’

कांग्रेसमा नभइ अहिलेको सत्ता साझेदार माओवादी केन्द्र र अन्य दलहरु समेतको सरकार हुँदा समेत एमसीसीको विषयमा सम्झौताको पहल भएको स्मरण महतले गराए। 

कार्यसम्पादन बैठकमा स्थानीय तहको निर्वाचन र भातृ संगठनको नेतृत्व चयन लगायतका विषयमा पनि छलफल भएको महतले बताए। 

‘कार्यसम्पादन समितिको पहिलो बैठक आज बस्यो। छलफल जारी छ । स्थानीय निर्वाचनमा नेपाली कांग्रेसमा सशक्त रुपमा प्रस्तुत हुने र सफलता हासिल कसरी गर्ने भन्ने विषय छ। भातृ संगठनका कतिपय नेतृत्वमा रहेकाहरु केन्द्रीय सदस्य निर्वाचित भएको अवस्था छ। नेतृत्व चयनको विषय पनि आजको छलफलको विषय छ’, प्रवक्ता महतले भने।  

आगमी चुनावको राजनीतिक गठबन्धनबारे बैठकमा विषय प्रवेश नभएको महतको भनाई छ। 

महतका अनुसार कार्यसम्पादन समिति बैठकमा अनुशासन समिति गठनको प्रस्ताव समेत पेश भएको छ। बैठक शुक्रबार पनि बस्नेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell