
पोखरा : गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’का लागि गरेको आह्वानमा ८ जनाले आवेदन दिएका छन्। प्रत्येक वर्ष ‘गण्डकी रत्न’बाट धेरैमा तीन जनालाई विभूषित गर्ने योजनासहित गण्डकी प्रदेश सरकारले विशिष्ट व्यक्ति सम्मान गर्नेसम्बन्धी कार्यविधि २०७८ ल्याएको थियो। प्रदेशको श्रीवृद्धि र गौरव बढाउने व्यक्तिलाई विभूषित गर्ने कार्यविधिलाई पुस २६ मा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो। कार्यविधि स्वीकृत भएसँगै माघ ४ गते आन्तरिक मामिला मन्त्रालयले १५ दिने सूचना जारी गर्दै आवेदन मागेको थियो।
विभूषणका लागि ८ जनाको निवेदन परेको मन्त्रालयका उपसचिव यामप्रसाद सुवेदीले जानकारी दिएका छन्। भाषा, साहित्य, संस्कृति, पर्यटन, खेलकुद, समाज सेवा क्षेत्रमा काम गरेका आठ जनाले निवेदन दिएका छन्।
विभूषणका लागि मन्त्रालयमा निवेदन दिँदै दाबेदारी प्रस्तुत गर्नेमा कास्की, स्याङ्जा, तनहुँ र लमजुङका छन्। कास्कीबाट तीन, स्याङ्जाबाट दुई, तनहुँबाट दुई र लमजुङबाट एक जनाको दाबेदारी छ।
विभूषणका दाबेदार को–को हुन् ?
विभूषणका लागि निवेदन दिनेमा स्याङ्जाका डिलबहादुर गुरुङ छन्। समाजिक कार्यमा सक्रिय डिलबहादुर असल छिमेकी सहयोग संघ (गोनेसा) का पूर्वध्यक्ष समेत हुन्। डिलबहादुरले इटालीको ‘फोकसिभ’ नामक अन्तर्राष्ट्रिय संस्थाबाट ‘इन्टरनेसनल भोलिन्ट्री एण्ड युथ इम्पोलियीबिलिट’को अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन्।
यस्तै, विभूषणका लागि निवेदन दिने अर्का हुन् स्याङ्जाको प्रा डा यामबहादुर पौडेल क्षेत्री। साहित्य विधाबाट उनले निवेदन दिएका हुन्। यमबहादुर पृथ्वीनारायण क्याम्पस पोखराका अवकाश प्राप्त प्राध्यापक हुन्।
विभूषणका लागि अर्को निवेदन दिएका छन् तनहुँका रेशमबहादुर विकले। नेपालको पहिलो दलित होमस्टेको व्यवस्थापन समिति अध्यक्ष रहेका उनले पर्यटन क्षेत्रबाट निवेदन दिएका छन्। रेश्मबहादुरले व्यास नगरपालिका १३ मा होमस्टे सञ्चालन गर्दै आइरहेको छन्।
तनहुँबाट निवेदन दिने अर्का छन् काशीनाथ न्यौपाने। व्यासका अध्येता समेत रहेका उनले भाषा, संस्कृति, साहित्य र कला विधाबाट निवेदन दिएका छन्।
यस्तै, अर्का निवेदक हुन् कास्कीका चन्द्रकान्त बराल। उनकै परिकल्पनामा बनेको हो पोखराको पुम्दीकोटमा ५१ फिट अग्लो शिवको मूर्ति। समाजसेवा, धार्मिक र पर्यटन क्षेत्र विधाबाट उनले निवेदन दिएका छन्।
मान्छे बोक्सी हुन्न कहिल्यै’ कृतिका रचनाकार कोविन्दशरण उपाध्यायले पनि विभूषणका लागि निवेदन दिएका छन्। पोखरा महानगरपालिकाका बासिन्दा उनले बोक्सीविरुद्धको अभियान चलाएर योगदान पुर्याएको भन्दै निवेदन दिएका हुन्।
यस्तै, कास्कीबाटै मदनकुमार गुरूङले पनि निवेदन दिएका छन्। बक्सिङका प्रशिक्षक समेत रहेका उनले खेल क्षेत्रबाट निवेदन दिएका हुन्। २०४० सालदेखी राष्ट्रिय खेलकुद परिषद् ( राखेप) को बक्सिङको प्रशिक्षक रहेर ३५ वर्ष बिताएका मदनले २०७६ सालमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघबाट आदर्श खेल व्यक्तित्व अवार्ड प्राप्त गरेका थिए।
खेल क्षेत्रबाटै निवेदन दिने अर्का छन् लमजुङका भरतबहादुर विसुराल। 'हिमालयन टाइगर' उपनामले परिचित भरतबहादुर नेपालमा रिङ रेस्लिङ भित्र्याएर त्यसको प्रवर्धनमा जुटिरहेका छन्। गएको स्थानीय निर्वाचनमा उनले काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिएका थिए।
निवेदन नदिएका पनि सम्मानित हुन सक्ने
विशिष्ट व्यक्ति सम्मान गर्नेसम्बन्धी कार्यविधि २०७८ अनुसार शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, उद्योग, पर्यटन, पूर्वाधार विकास, विज्ञान, प्रविधि, सार्वजनिक प्रशासन तथा सुशासनलगायत क्षेत्रमा योगदान गरेका प्रदेशवासी सम्मानित हुन्छन्।
आएको निवेदनमध्ये ३ जनालाई सिफारिस गर्न समिती गठन गरिनेछ। समितीले सिफारिस गरेको नाम प्रदेश मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नेछ।
प्रदेश सरकारले भने निवेदन नआएकालाई पनि सम्मान गर्न सक्ने कार्यविधिमा उल्लेख छ। त्यसका लागि भने प्रदेश सरकारको सिफारिस समितिले नाम सिफारिस गर्नुपर्ने हुन्छ।
कार्यविधिको दफा ३ मा भनिएको छ,‘सिफारिस समितिले दफा ४ बमोजिमको क्षेत्रमा उत्कृष्ट कार्य गरी प्रदेशको श्रीवृद्धि र गौरव बढाउन विशिष्ट योगदान पुर्याएको व्यक्तिलाई छनौट गरी सम्मानका लागि प्रदेश सरकारमा सिफारिस गर्न बाधा पर्ने छैन।’
विभूषित व्यक्तिलाई प्रदेश सभा सदस्यसरह सुविधा
गण्डकी रत्नबाट विभूषित भएका व्यक्तिलाई प्रदेश सरकारले सार्वजनिक सभा समारोहमा प्रदेश सभा सदस्यसरह सम्मान र सुविधा दिनेछ। यस्तै प्रदेश सरकार मातहत रहेका अस्पतालमा उनीहरुले नि:शुल्क स्वास्थ्य सुविधा प्राप्त गर्नेछन्। उनीहरुलाई प्रदेशभित्र रहेका विमानस्थलमा पनि अतिविशिष्ट कक्षको सुविधा हुनेछ। त्यस्तै, गण्डकी रत्न प्राप्त व्यक्ति जीवनकालमा संरक्षणविहीन बनेमा प्रदेशले उनीहरुको संरक्षणको दायित्व लिनेछ।
गण्डकीमा फागुन ४ गते प्रदेश सरकारको चौथों स्थापना दिवस मनाइँदैछ। सो अवसरमा गण्डकी रत्नबाट तीनजनालाई बिभूषित गरिनेछ।