
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले लेस्टरसिटीमाथि लिभरपुलले जित निकालेको छ। एनफिल्डमा सम्पन्न खेलमा घरेलु टोली लिभरपुलले लेस्टरलाई २-० गोलअन्तरले हराएको हो।
लिभरपुलको जितमा डिएगो जोटले दोहोरो गोल गरे। उनले खेलको ३४ र ८७ औं मिनेटमा गोल गरेका थिए।
त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा आर्सनलले वुल्भरह्याम्टनलाई हरायो। मोलिनेउक्स स्टेडियममा सम्पन्न खेलमा आर्सनलले घरेलु टोली वुल्भ्समाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। आर्सनलको जितमा २५ औं मिनेटमा गाबेरियल डोस सान्तोसले गरेको गोल निर्णायक बन्यो। खेलको ६९ औं मिनेटमा आर्सनलका गाबेरियल मार्टिनेली रेडकार्ड खाँदै बाहिरिँदा टोली १० खेलाडीमा सीमित भएको थियो यद्यपि यसको फाइदा घरेलु टोलीले उठाउन सकेन।
योसँगै आर्सनल २२ खेलबाट ३९ अंक जोडेर तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। त्यस्तै लेस्टरलाई हराएको लिभरपुल २३ खेलबाट ५१ अंक जोडेर दोस्रो स्थानमा छ। शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा लिभरपुल ९ अंकले पछाडि छ।