PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

एक महिना ग्यापपछि ए डिभिजन लिगको दशौं चरणका खेल आजबाट, यस्तो छ नवौं चरणसम्मको हाइलाइट्स्



पहिलोपोस्ट

एक महिना ग्यापपछि ए डिभिजन लिगको दशौं चरणका खेल आजबाट, यस्तो छ नवौं चरणसम्मको हाइलाइट्स्
लिगको पहिलो खेलमा सातदोबाटो र फ्रेन्ड (निलो जर्सी) भिड्दै।

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा आजबाट दशौं चरणका खेल सुरु हुँदैछन्। आज त्रिपुरेश्वस्थित दशरथ रंगशालामा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबबीच दशौं चरणको पहिलो खेल १ बजे र त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीच पौने ५ बजे दोस्रो खेल हुनेछ। नवौं चरणपछि लिगमा करिव १ महिनाको ग्याप रहेको थियो। जसमा नेपाल र मरिससबीचको खेल तथा आहा रारा गोल्डकप सम्पन्न भएको थियो। नवौं चरणसम्म आइपुग्दा केके भए लिगमा?

मछिन्द्र शिरमा, फ्रेन्ड्स पुछारमा

नवौं चरण सकिँदा लिगको टेबलमा सबैभन्दा अघि साविक विजेता मछिन्द्र क्लब रहेको छ। ७ जित र २ बराबरीको सहायतामा २३ अंक जोडेको मछिन्द्रलाई दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङदीले पछ्याइरहेको छ। मनाङले ६ जित, १ पराजय र २ बराबरी खेल्दै १९ अंक जोडेको छ। त्यस्तै तेस्रो र चौथो स्थानमा रहेका त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबले १७ र १६ अंक जोडेका छन्।

अपराजित दुई टिम, जितबिहीन १ टिम

जारी लिगमा अपराजित दुई टोली रहेका छन्। जसमा अघिल्लो सिजनको विजेता मछिन्द्र क्लब र उपविजेता आर्मी क्लब रहेका छन्। मछिन्द्र ७ जित र २ बराबरी खेल्दै शीर्षस्थानमा रहँदा आर्मीले ४ जित र ५ बराबरी खेल्दै १७ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ। आर्मी लिगको सबैभन्दा बढी बराबरी खेल्ने टोलीसमेत हो। त्यस्तै लिगको जितविहीन टोली हो फ्रेन्ड्स क्लब। तीन बराबरी र ६ पराजय ब्यहोरेको फ्रेन्ड्स क्लब ३ अंक जोडेर अंकतालिकाको पुछारमा छ।

एएफसी छनोटमा मछिन्द्रको बाजी

अघिल्लो सिजन लिग जितेर पनि मछिन्द्र क्लबसँग एएफसी लाइसेन्स नभएपछि उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप छनोट खेलेको थियो। यसपालाको सिजनमा सातौं चरणको विजेताले एएफसी छनोट खेल्न पाउने मापदण्ड अखिल नेपाल फुटबल संघ (एन्फा) ले बनाएको थियो। जसमा मनाङलाई पछि पार्दै मछिन्द्र क्लब छनोट भयो।

मछिन्द्रले एएफसी कप छनोटमा श्रीलंकाको ब्लुस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ। एसियन फुटबल कन्फिडरेसन (एएफसी)ले तय गरेको खेल तालिकाअनुसार एएफसी कप छनोट अन्तर्गतको यो खेल अप्रिल ५ तारिखमा साँझ ५ बजे दशरथ रंगशालामा हुनेछ।

मछिन्द्रले उक्त खेल जितेको खण्डमा अप्रिल १२ मा भारतीय क्लब एटीके मोहन बगानसँग कोलकतामा खेल्नेछ। उक्त खेलको विजेताले एएफसी कपको समूह चरणमा स्थान बनाउने छ। अर्थात समूह डीमा भारतको गोकुलम केरला, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया स्पोर्ट्ससँग खेल्नेछ।

शीर्ष गोलकर्तामा विदेशी खेलाडीको बर्चस्व

नवौं चरणसम्म आईपुग्दा शीर्ष गोल गोलकर्तामा विदेशी खेलाडीकै वर्चस्व छ। समान ६ गोल गरेका मनाङ मर्याङदी क्लबका ओलावाले अफीज र सातदोबाटो क्लबका अजयी मार्टिन्स सबैभन्दा अघि छन्। लिगमा यी दुई खेलाडीले ह्याट्रिक समेत बनाएका थिए। त्यसपछि मछिन्द्रका सुनिल बलले ५ गोल गर्दा एनआरटीका दर्शन गुरुङ र एपीएफका आशिष लामाले समान ४ गोल गरेका छन्।

कहिले रेफ्री र कहिले अलमुताइरी विवाद

लिगको सुरुबाटै रेफ्रीहरुलाई लिएर आलोचना भयो। क्लबले धेरै जसो प्रशिक्षकहरुले रेफ्रीको निर्णयलाई लिएर आपत्ति जनाए नै योग्य रेफ्री हुँदा हुँदै सिकारु रेफ्रीलाई अवसर दिएको भनेर सिनियर रेफ्री नै सन्तुष्ट थिएनन्। रेफ्री कमिटीको डिरेक्टरका रुपमा आएको भारतीय नागरिक गौतम कौरको कडा स्वभाव र हेपाहा प्रबृतिले रेफ्रीहरु चिडिँदा राजीनामा दिने अवस्थासम्म पुगेका थिए।

त्यस्तै नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नवौ चरण चलिरहँदा 'खुट्टा जोगाएर खेल्न भनेको', 'क्लबको अनुमति बिना खेलाडी लगेको' भन्दै क्लबका प्रशिक्षकहरु असन्तुष्ट बने। लिग लिडर मछिन्द्र क्लबले त एन्फालाई चिठी नै पठाएको थियो।

कोरोना फ्याक्टर

नवौँ चरणमा कोभिडले सबैभन्दा बढी लिगलाई असर गर्‍यो। लिगमा कोभिडका कुराहरु अघि आउन थाले। मनाङका प्रशिक्षक टोफे फुजाले महत्वपूर्ण खेलाडी कोभिड संक्रमित हुँदा राम्रो प्रदर्शन गर्न नसकेको प्रतिकृया दिए भने जावलाखेल युथका किशोर कुमार केसीले खेलाडी बिरामी भएर अभ्यासमै आउन नसकेको बताएका थिए। अर्कोतर्फ कोभिड संक्रमणदर बढेको बढ्यै थियो। मछिन्द्रका मनिष डाँगी लगायत अन्य क्लबका प्रशिक्षक र खेलाडी संक्रमित भएको कुराहरु आएका थिए। अझ लिगको ६२ औं खेल अर्थात नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल त स्थगित नै गर्ने अवस्था आयो। कारण थियो च्यासलमा फैलिएको संक्रमण जसमा टिमका १९ खेलाडी संक्रमित बनेका थिए। उक्त खेल २६ गते सम्पन्न भयो।

'विकेन्ड' को कुरा सकियो, दिनैपिच्छे खेल

नवौ चरणसम्म 'विकेन्ड' मा खेल खेलाइएको थियो। अर्थात शुक्रवार, शनिवार, आईवार र सोमवार। तर दशौ चरणबाट त्यस्तै छैन। नयाँ तालिका अनुसार हप्तै भरि खेल हुने र एउटा चरण सकिएपछि एक दिन ग्याप गरेर अर्को चरण सुरु गराउने खेल तालिका छ। त्यस्तै नवौं चरणसम्म अधिकांश खेल दशरथ रंगशाला र केही खेल पोखरा रंगशालामा खेलाइएकोमा दशौ चरणबाट सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पनि खेल हुने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell