PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कोरोनाबाट बच्नलाई खोप भनेजस्तो फ्रेन्ड्स बच्नलाई जित : प्रशिक्षक मिश्र, ब्रिगेडलाई पनि छैन जितको 'अप्सन'



पहिलोपोस्ट

कोरोनाबाट बच्नलाई खोप भनेजस्तो फ्रेन्ड्स बच्नलाई जित : प्रशिक्षक मिश्र, ब्रिगेडलाई पनि छैन जितको 'अप्सन'
तस्बिर: एन्फा

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो १ बजे सुरु हुनेछ।

जारी लिगमा दुबै टोलीको नतिजा सुखद छैन। फ्रेन्ड्स क्लब अंकतालिकाको पुछारमा रहँदै रंलिगेसनको सबैभन्दा ठूलो जोखिममा छ भने ब्रिगेड ब्वाइजले पनि लय नसमाते एउटा खेलको नतिजाले नै रेलिगेसन क्षेत्रमा पुर्‍याउने जोखिम छ। लिगको जित बिहिन फ्रेन्ड्सले ३ बराबरी र ६ पराजय ब्यहोर्दै तालिकाको पुछारमा छ। जबकि ब्रिगेड ब्वाइज १ जित, ३ बराबरी र ५ पराजयसँग ६ अंक जोडेर रेलिगेसन क्षेत्रभन्दा एक स्थानमाथि अर्थात १२ औं स्थानमा छ।

आजको खेललाई फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्र मिश्रले कोभिडको खोपसँग तुलना गरेका छन्।

'यो खेल हाम्रो लागि धेरै महत्वपूर्ण छ। जितेनौ भने लिगमा कुनै अर्थ रहदैन। जितको लागि नै तयारी गरेका छौं,' मिश्रले भने, 'यो खेलमा हारपछि ९९ प्रतिशत बाटो बन्द हुन्छ। जित्नका लागि खेल्छौं, जित्नै पर्छ।'

उनले अगाडि भने : कोभिड बच्नलाई खोप भनेजस्तो फ्रेन्ड्स् बच्नलाई जित हो।

उनले नवौं चरणपछि १० दिनको ब्रेक गरेर १४ दिन अभ्यास गरेको बताए। त्यस्तै आजको खेलमा उमेर समूहमा राष्ट्रिय टोलीबाट खेलिसकेका केही नयाँ खेलाडी उतार्ने बताए।

अर्कोतर्फ ब्रिगेडका प्रशिक्षक समीर बिस्टले पनि रेलिगेसनबाट बच्न जितको विकल्प नभएको बताए।

'हामीलाई फाइनलजस्तै हो। गेमको तयारी राम्रो भएको छ। जितबाहेक अप्सन नै छैन,' उनले भने, 'उहाँहरुको खेल स्टाइल पनि राम्रो छ। फ्रेन्ड्समा जहिल्यै नयाँ अनुहार उतार्नु भएको छ। हामीले आफ्ना केही कमी कमजोरी औल्याएका छौं। अट्याकमा फोर्स गरेका छौं। पहिलाको खेल हेरेर प्लान बनाएका छौं।'

आज लिगमा दुई खेल हुँदैछन्। पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज भिड्नेछन् भने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell