PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

स्वास्थ्य मन्त्रीको पत्रकारलाई नै प्रश्न : हराएको २४ लाख खोपबारे किन प्रश्न नगरेको? १ सय दिने कामको पेश गरे फेहरिस्त



पहिलोपोस्ट

स्वास्थ्य मन्त्रीको पत्रकारलाई नै प्रश्न : हराएको २४ लाख खोपबारे किन प्रश्न नगरेको? १ सय दिने कामको पेश गरे फेहरिस्त
फाइल फोटो

काठमाडौं : सरकारले वैशाखभित्रै १२ वर्ष माथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप उपलब्ध गराइसक्ने प्रतिवद्धता जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले खोपको वितरण तीब्र गतिमा भइरहेको भन्दै वैशाख अगावै पूर्णमात्रामा दिइसक्ने बताए।

‘हामीले १८ वर्ष माथिका लक्षित वर्गलाई चैत मसान्तसम्म खोप उपलब्ध गराइसक्ने भनेका थियौं। अहिले हामीले १२ वर्ष माथिकालाई खोप उपलब्ध गराउन थालेका छौँ,’ मन्त्रालयबाट आयोजित पत्रकार सम्मेलनमा उनले भने, ’१२ वर्ष माथिका सबै नागरिकलाई वैशाख मसान्तसम्म खोप लगाइसक्ने लक्ष्य राखेका छौँ। निर्धारित समय भन्दा अगाडि नै खोप लगाइसक्छौँ।‘

उनले खोपको सुनिश्चितता भइसकेको भन्दै वैशाख मसान्त भने पनि त्यसभन्दा अगाडि नै सबै नागरिकले खोप पाउने दाबी गरे। उनले १२ देखि १७ वर्ष उमेर समूहका करिब ३४ लाख बालबालिकालाई खोप दिने कार्य पुसबाट शुरु गरिएको भन्दै लक्षित बालबालिका समूहको ८४ प्रतिशतलाई कम्तिमा प्रथम मात्रा र ३८ प्रतिशतले दोस्रो मात्रा पाएको उनले जानकारी दिए।

त्यस्तै, ५ देखि ११ वर्ष उमेर समूहको बालबालिकालाइ समेत कोभिड-१९ विरुद्धको खोप प्रदान गर्न खोपको उपलब्धता सुनिश्चितता भएको मन्त्री खतिवडाले दाबी गरे।

उनले २०७८ आश्विनसम्म लक्षित जनसंख्याको एक तिहाईलाई पूर्ण खोप लगाउने लक्ष्य हासिल भइसकेको जानकारी दिए। २०७८ माघ २७ गतेसम्म १२ वर्ष भन्दा माथिका लक्षित जनसंख्याको ७७ प्रतिशतलाई कम्तिमा एक मात्रा र ६९ प्रतिशतलाई पूर्ण खोप प्रदान गरिएको तथ्यांक सार्वजनिक गरे।

माघ २८गतेसम्म नेपालमा चार करोड ६५ लाख ७० हजार ७२० खोप आइसकेको भन्दै त्यसमध्ये तीन करोड ४८ लाख २५हजार ६०१ खोप लगाइसकेको जानकारी दिए।

मन्त्री खतिवडाले आफ्नो १०० दिने सफलता सार्वजनिक गर्दै पीसीआर परीक्षण गर्ने प्रयोगशालाको संख्या र परिक्षण क्षमता वृद्धि गरिएको दाबी गरे। त्यस्तै कोभिड-१९ को भेरिएन्ट पत्त्ता लगाउन नेपालमा नै जेन सेक्वेन्सिङ गर्ने कार्य सुरु भएको बताए।

‘अनियमितता गर्ने प्रयोगशाला तथा अस्पतालहरुलाई कारवाहीको दायरामा ल्याउने कार्य भइरहेको छ,’ उनले भने, ‘पीसीआर परीक्षणको मूल्य  निजी अस्पताल/प्रयोगशालामा रु २००० वाट घटाई  रु १५०० र सरकारी स्वास्थ्य संस्थामा रु १००० बाट घटाई रु ८०० कायम गरिएको छ।‘

त्यस्तै, भारतसँग सिमाना जोडिएका प्रवेश विन्दुहरुमा स्थापित हेल्थ डेस्कको क्षमता वृद्धि गरी दैनिक नेपाल प्रवेश गर्ने यात्रुहरु मध्ये ९० प्रतिशत को स्क्रिनिङ भइरहेको दावी गरे। स्क्रिनिङ भइरहेका मध्ये ८७ प्रतिशत भन्दा बढीको कोभिड-१९ को परीक्षण भइरहेको उनले जानकारी दिए।

उनले सय दिने प्रगति विवरणमा कपिलबस्तुमा फैलिएको हैजाको प्रकोपलाइ समयमै नियन्त्रण गरी, हैजा विरुद्धको खोप अभियान समेत संचालन गरिएको समेत उल्लेख गरेका छन्।

खोप हराएको छैन

उनले खोप नहराएको दाबी गरे। विभिन्न सञ्चार माध्यममा २४ लाख खोप हराएको भन्दै समाचार प्रकाशित भएका थिए। साथै मन्त्री खतिवडा विरुद्ध यसै विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ।

उनले यस विषयमा पत्रकारले प्रश्न नगरेपछि आफै प्रश्न गर्दै जवाफ पनि दिए।

‘तपाईँले गर्नुपर्ने प्रश्न छैन भने तपाईँले गर्नुपर्ने प्रश्न म आफैँले गर्छु। २४ लाख खोप हराएको भन्ने प्रश्न तपाईँले गर्नुपर्थ्यो। तपाईँले गर्नु भएन्। म विरोध भएकोले म नै प्रश्न गरेर विरोधीको भूमिका निर्वाह गर्छु,’ उनले भने, ‘खोप हराएको होइन। हामी गाउँगाउँ र गाउँको पनि टोलटोलमा स्वास्थ्यकर्मी साथीहरु खोप बोकेर जानुभएको छ। त्यसको रेकर्ड संस्थागत ढंगले माथिसम्म आउन बाटामा रहेको ग्यापका कुरा। अर्को वेस्टेज जस्तो १० वटा ८ वटा पाँच वटा भ्याक्सिनका प्याकेटहरु दिनभरी लाउँदै जाँदा अन्तिममा १० वटाको प्याकेट खोलियो २ जनाले मात्र लगाउनु भयो भने त्यो ८ वटा खेर जान्छ।'

उनले प्रत्येक ठाउँमा प्रत्येक दिन वेस्टेज गएका केही तथ्यांकहरु आउन बाँकी रहेको भन्दै त्यस सम्बन्धी छानविन समिति गठन गरेको बताए।

‘औपचारिक रुपले यहाँ डाक्टर गुणराज लोहनी विज्ञ विशेषको संयोजकत्वमा झण्डै १० दिन अगाडि पाँच जनाको कमिटी बनाएर दुई हप्ताभित्र रिपोर्ट ल्याउनु भनेका छौँ। दुई हप्ता फागुन १ वा २ गते पुग्छ,’ उनले भने, ‘त्यसको प्रतिवेदन हामीले यहाँलाई जानकारी गराउँछौँ। त्यसपछि पनि हामीकहाँ आएको खोप, हामीले प्रदेशमा दिएको संख्या, प्रदेशले कुन कुन जिल्लालाई कति पठायो? जिल्लाले विभिन्न स्वास्थ्य चौकीमा कति पठायो? भन्ने तथ्याङ्कसहित हाम्रो वेस्टेज कति गयो? यी सबै कुरा हामी जानकारी गराउँछौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell