PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

अमेरिकी नागरिकलाई बाइडेनले भने : तत्काल युक्रेन छाड



पहिलोपोस्ट

अमेरिकी नागरिकलाई बाइडेनले भने : तत्काल युक्रेन छाड
युक्रेनी सैनिकको तयारी। AFP VIA GETTY IMAGES

राष्ट्रपति जे बाइडेनले युक्रेनमा रहेका सबै अमेरिकी नागरिकलाई तत्काल त्यहाँबाट बाहिरिन भनेका छन्। रसियाली सैनिकले कदम चाल्नु अघि नै युक्रेनबाट बाहिरिन उनले निर्देशन दिएका हुन्।

मस्कोले युक्रेनमाथि सैन्य हस्तक्षेप गरेको अवस्थामा अमेरिकाले उद्धारका लागि सैनिक परिचालन नगर्ने बताउँदै बाइडेनले त्यहाँबाट बाहिरिन चेतावनी दिएका हुन्। उनले तत्कालै उक्त क्षेत्रमा केही हुनसक्ने जनाएका छन्। 

रसियाले बारम्बार सैनिक हस्तक्षेपको विषयलाई नकार्दै आएको छ। युक्रेनको सीमानामा रसियाले करबि १ लाख सैनिक तैनाथ गरेको अमेरिकाले दावी गर्दै आएका छन्।

भर्खरै रसियाले बेलारुससँग मिलेर संयुक्त सैनिक अभ्यास सुरु गरेको छ। साथै युक्रेनले समुन्द्रसम्मको सम्पर्कमा रसियाले अवरोध गरेको आरोप लगाएको छ। 

युक्रेनको सन्दर्भलाई लिएर बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युरोपले दशककै सबैभन्दा ठूलो तनाव खेपिरहेको बताएका छन्।

अमेरिकाको स्टेट डिपार्टमेन्टले पनि अमेरिकीलाई युक्रे्न तत्काल छाड्न भनेको छ। 

'अमेरिकी नागरिकले अनिवार्य रुपमा तत्काल युक्रेन छोड्नुपर्छ,' एनबीसी न्युजले बाइडेनलाई उद्धृत गर्दै भनेको छ, 'हामीले सबैभन्दा ठूलोमध्येको एक सैनिक शक्तिसँग डिल गरिरहेका छौं। यो एकदमै खराब परिस्थिति हो। तीब्र गतिमा जे पनि हुनसक्छ।'

अमेरिका र रसियाले एकअर्काविरुद्ध युद्ध गर्नुको अर्थ विश्वयुद्ध हुने समेत बाइडेनले जनाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell