PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

कमल थापाले खोल्ने नयाँ पार्टीको एजेन्डा के ?



पहिलोपोस्ट

कमल थापाले खोल्ने नयाँ पार्टीको एजेन्डा के ?

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी त्याग गरेका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी स्थापना गर्ने बताएका छन्। विराटनगर पुगेका उनले एक कार्यक्रममा राप्रपामा नफर्किने भन्दै नयाँ पार्टी खोल्ने बताएका हुन्। राप्रपाबाट अलग हुने निर्णय गरे पनि पशुपति शमशेर जबरा लगायतका नेताले थापा फेरि पार्टीमा फर्किने आशावादी रहेको बताइरहँदा उनको यस्तो प्रतिक्रिया आएको हो।

थापाले पार्टीको महाधिवेशनपछि नयाँ नेतृत्वलाई सहयोग गर्ने चाहना हुँदाहुँदै पनि नेतृत्वले सैद्धान्तिक र सांगठनिक विषयमा दिएको सुझावलाई बेवास्ता गरेको आरोप लगाए। जसकारण आफ्नो ३१ वर्षको लगानी रहेको, रगत र पसिना बगाएको पार्टी त्याग गर्नुपरेको उनको तर्क छ।

उनले फागुनमा नयाँ पार्टीका लागि आवेदन दिने समेत बताए

‘साथीहरुसँग परामर्श गरेर फागुनको पहिलो हप्तामा नै निर्वाचन आयोगमा पार्टी दर्ता गराउने छौं,’ उनले भने।

थापाले आफूले खोल्ने नयाँ पार्टीका एजेन्डाहरु पनि सार्वजनिक गरेका छन्। भने, ‘नयाँ पार्टीले हिन्दू राष्ट्र, सुशासन र समृद्धिको एजेन्डा बोक्छ।’

उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बाहिर स्नेह र सद्भाव देखाउने गरेको तर माग सम्बोधन गर्न नसकेको बताए। थापाले लिङ्देनलाई जिताउन पूर्व राजा ज्ञानेन्द्रले लागेको आरोप लगाएका थिए। महाधिवेशनमा पराजित भएपछि देखि पार्टी त्याग गर्ने बेलासम्म उनले पूर्व राजाको आलोचना गरेका थिए। विराटनगर पुगेका उनले भने आफू राजालाई साझा अभिभावक र संवैधानिक राजाका रुपमा हेर्न चाहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell