PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

जारी लिगमा फ्रेन्ड्स क्लबको पहिलो जित, लिगको ९ खेलमा ६ गोल गरेको फ्रेन्ड्सले आजको खेलमा गर्‍यो ५ गोल



पहिलोपोस्ट

जारी लिगमा फ्रेन्ड्स क्लबको पहिलो जित, लिगको ९ खेलमा ६ गोल गरेको फ्रेन्ड्सले आजको खेलमा गर्‍यो ५ गोल

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न दशौँ चरणको पहिलो खेलमा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइज क्लबमाथि सानदार जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइज क्लबमाथि ५-२ गोलअन्तरको फराकिलो जित निकालेको हो। जारी लिगमा फ्रेन्ड्स क्लबको यो पहिलो जित हो।

खेलको १४ औँ मिनेटमा शुशिल साहले फ्रिकिकमार्फत गोल गर्दै फ्रेन्ड्स क्लबलाई अग्रता दिलाए। तर, २५औँ मिनेटमा ब्रिगेडका ड्याडी जुनियर वाम्बाले गोल गर्दै खेल बराबरीमा ल्याए।

लगत्तै फ्रेन्ड्स क्लबका श्यामबाबु कयापछाकीले काउन्टरमा गोल गर्दै फ्रेन्ड्सलाई फेरि अग्रता दिलाए। त्यस्तै, इन्ज्युरी समयमा निशेन सुब्बाको फ्रिकिकमा हेडिङमार्फत जामोउल एन्थोनी फ्रान्कोइसले गोल गरे। र, पहिलो हाफमै फ्रेन्ड्स क्लबले ३-१ को अग्रता बनायो।

दोस्रो हाफमा ब्रिगेडले खेलमा दबाब बढाए पनि गोल गर्न सकेन। खेलको ४६औँ मिनेटमा ब्रिगेडका रोशन राना मगरको प्रहार सिधै फ्रेन्ड्स क्लबका गोलकिपर राहुल रामचन्द्र यादवको हातमा पुगेको थियो।

५७औँ मिनेटमा ब्रिगेडका बेटरन्ड ओट्टुको प्रहार गोलपोस्टमाथिबाट गएको थियो। लगत्तै कप्तान अनिल गुरुङले पाएको राम्रो क्रसलाई गोलपोस्टभित्र प्रहार गर्न सकेनन्।

खेलको ७०औँ मिनेटमा ब्रिगेडका रोशन राना मगरको प्रहार गोलपोस्टमा ठोक्किएर बाहिरिएको थियो।

खेलको ७५औँ मिनेटमा जामोउल एन्थोनी फ्रान्कोइसले गोल गर्दै फ्रेन्ड्स क्लबलाई सुरक्षित अवस्थामा पुर्‍याए।

लगत्तै सुशिल शाहको प्रहारलाई ब्रिगेडका गोलकिपर गरप्रीत सिंहले ठम्याउन सकेनन् र फ्रेन्ड्स क्लबले पाँचौ गोल गर्‍यो।

८५औँ मिनेटमा ब्रिगेडका अनिल गुरुङले पेनाल्टीमार्फत गोल गरे पनि खेलमा फर्कन पर्याप्त रहेन। नेपाली टोलीका पूर्वकप्तान गुरुङले २०७० सालपछि पहिलो पटक लिगमा गोल गरेका हुन्।

जारी लिगमा नवौं चरणसम्म पुग्दा ६ गोल गरेर १५ गोल खाएको फ्रेन्ड्सले आजको खेलमा २ गोल खाएर पाँच गोल गरेको हो।

जितसँगै फ्रेन्ड्स क्लब अंकतालिकाको १२औँ स्थानमा उक्लिएको छ भने ब्रिगेड १३औँ स्थानमा झरेसँगै रेलिगेशनको जोखिममा परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell