PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

सत्तारुढ गठबन्धनलाई ओलीको चेतावनी : बत्ती निभाएर वा मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेखे हुन्छ



पहिलोपोस्ट

सत्तारुढ गठबन्धनलाई ओलीको चेतावनी : बत्ती निभाएर वा मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेखे हुन्छ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीन वटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्। पार्टीले तय गरेको स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय, प्रदेश र संघीय तीन वटै तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने बताएका हुन्।

‘आउँदो निर्वाचनमा हामी बहुमत जित्छौं। के गर्छन होला विचराहरु। भाग्ने, उम्कने ठाउँ छ भने खोजे हुन्छ। संघीय र प्रदेशमा पनि हामीले आगामी निर्वाचनमा बहुमत प्राप्त गर्नेछौं’ ओलीको दाबी थियो।

सरकारले २०७९ साल वैशाख ३० गते एकैचरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ। सरकारले निर्वाचन घोषणा गरेसँगै एमालेले आजको कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रमलाई भर्चुअल्ली सम्बोधन गर्दै ओलीले सत्तारुढ गठबन्धनलाई बत्ती निभाएर वा मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिएका छन्।

यसअघिको स्थानीय तह निर्वाचनमा चितवन महानगरपालिकामा भएको घटनालाई इंगित गर्दै उनले भने, ‘हामी निर्वाचनबाट कसैलाई भाग्न पनि दिँदैनौं। अबका निर्वाचन बत्ती निभाएर जित्ने, मतपत्र च्यातेर जित्ने सपना नदेखे हुन्छ। कल्पना कसैले नगरे हुन्छ।’

ओलीले एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा गएका स्थानीय तहका जनप्रतिनिधिहरुलाई पार्टीमा फर्किन आह्वान गरेका छन्।

‘केहीकेही साथीहरु अलमलमा परेर षडयन्त्रकारी तत्वहरुको पछाडि भ्रमवश जानु भएको छ। म अहिले पनि उहाँहरुलाई भ्रममा नपरी पार्टीमा फिर्ता आउन आग्रह गर्छु’ ओलीले भने।

ओलीले एमालेले जितेको स्थानीय तहका जनप्रतिनिधिहरुले जनताको पक्षमा असाधारण काम गरेको दावी समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell