
काठमाडौं: ओमनमा जारी चार देश सम्मिलित टी २० सिरिज अन्तर्गतको आज सम्पन्न खेलमा नेपालले ओमनलाई हराएको छ। अलअमेरत क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले घरेलु टोली ओमनलाई ६ विकेटले हराएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको ओमनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको ओमनका लागि कप्तान जेसन मक्सुदले सर्वाधिक अवितिज ४३ रन बनाउँदा मोहम्मद नदीमले ३१, जतिन्दर सिंहले १३ तथा कश्यप प्रजापति, शोएब खान र आयन खानले समान ११ रन बनाएका थिए।
बलिङतर्फ नेपालका लागि अभिनास बोहोराले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा २६ रन दिएर कश्यप प्रजापति, मोहम्मद नदीम र नसीम खुशीको विकेट लिए। त्यसबाहेक कप्तान सन्दीप लामिछाने, आरिफ शेख र कमल सिंह ऐरीले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेल्दै नेपाललाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले। ऐरीले ५३ बलमा ८ चौका र १ छक्काको सहायतामा ७३ रन बनाउँदै अविजित रहे। त्यस्तै आरिफ शेखले २५ रन बनाउँदा आशिफ शेखले १४ र ज्ञानेन्द्र मल्लले १३ रन बनाए।
ओमनका लागि खलिमुल्लाहले २ विकेट लिँदा खवार अलिले १ विकेट लिए।
सिरिजमा नेपालले अर्को खेलमा यूएईसँग शनिवार र सोमवार आयरल्याण्डसँग खेल्नेछ। यो सिरिजलाई विश्वकप क्वालिफायर्सको तयारीका रुपमा लिइएको छ।