
सुर्खेतः असन्तुष्ट व्यवसायीहरुले सुर्खेत उद्योग वाणिज्य संघमा तालाबन्दी गरेका छन्। संघको आगामी चैतमा हुने निर्वाचनको विषयलाई लिएर असन्तुष्ट पक्षले तालाबन्दी गरेका हुन्।
संघले आगामी चैत २६ गते निर्वाचनको मिति घोषणा गरेसँगै असन्तुष्ट व्यापारी पक्षले चरणबद्ध आन्दोलनको घोषणा गर्दै शुक्रबार संघको मूल गेटमा ताला लगाएका हुन्।
तालाबन्दी गर्नेमा संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काको समूहले आफू निकटका व्यवसायी नवीकरणबाट बञ्चित भएको गुनासो गरेका छन्।
‘व्यवसायी सबैको साझा संस्था भएकाले सवै व्यवसायीलाई समेटेर लैजानुपर्छ भन्ने हाम्रो माग हो’, असन्तुष्ट पक्षका व्यवसायी पूर्णदेव गिरीले भने।
कोभिडका कारण व्यापार व्यवसाय ठप्प हुँदा संघमा आवद्ध हुने नयाँ व्यवसायी र नवीकरण गर्न कुनै जरिवाना नलगाउन संघमा निवेदन दिएको भए पनि कुनै सुनुवाइ नभएको गुनसो असन्तुष्ट पक्षको छ।
संघका अध्यक्ष धनबहादुर रावतले सदस्यता नवीकरणको विषयलाई लिएर तालाबन्दी गरेको बताए।
‘दुई वर्षसम्म नवीकरण नगरे स्वत मताधिकार रद्ध हुने र नयाँ सदस्यता लिने व्यक्तिले एक वर्षपछिमात्रै मतदाता र उम्मेदवार हुन पाउने व्यवस्था छ’, उनले भने, ‘केही व्यापारी साथीहरुले सच्याउनुपर्छ भन्ने माग हो। विधान विपरीतका माग राखेर तालाबन्दी गरिएको हो।’
हाल संघमा एक हजार ८०० बढी व्यवसायीले आफ्नो सदस्यता नवीकरण गरिसकेका छन्। बाँकी व्यवसायीले फागुन २६ गतेसम्म नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ। संघका अनुसार अझै ५०० बढी व्यवसायीले सदस्यता नवीकरण गर्न बाँकी छ।
यसअघि पटक-पटक सूचना जारी गर्दा समेत व्यवसायीले नवीकरण नगरेकोले अहिले समस्या देखिएको अध्यक्ष रावतको भनाई छ।
वरिष्ठ उपाध्यक्ष खड्का र महासचिव कँडेल आगामी नेतृत्वका दाबेदार हुन्। जसकारण राजनीतिक दाउपेच सुरु भएको हो। दुबै जना नेपाली कांग्रेस निकट हुन्।
वरिष्ठ उपाध्यक्ष खड्का उपसभापति पूर्णबहादुर खड्का पक्षका हुन भने महासचिव कँडेल नेता हृदयराम थानी निकट हुन्।