PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

नेपालकै कथा बोल्ने भुटानी विद्यालयमाथिको फिल्म ‘लुनाना : याक इन दी क्लासरुम’ जुन यतिखेर ओस्कर यात्रामा छ



विधुर ढकाल

नेपालकै कथा बोल्ने भुटानी विद्यालयमाथिको फिल्म ‘लुनाना : याक इन दी क्लासरुम’ जुन यतिखेर ओस्कर यात्रामा छ

अत्याधिक जाडो र हिमपात सुरु भएसँगै उपल्लो मुस्ताङका विद्यालयहरु बेसी झर्न थालेका छन्। हिमपातसँगै विद्यालय नै हिमले ढाकिँदा त्यहाँका अधिकांश विद्यालयहरु घुम्ती विद्यालयमा परिणत हुन्छन् र जाडोमा पोखरा झर्छन्। गर्मी सुरु भएसँगै लेक उक्लिन्छन्।

यस वर्ष पनि वार्षिक परीक्षा अगावै मुस्ताङसहित मनाङ, र अन्य हिमाली जिल्लामा विद्यालयहरु बन्द भएका छन्।

जाडो अगावै त्यहाँका विद्यालयहरु वार्षिक परीक्षा सकाएर बिदा गर्ने गरे पनि यसपटक भने त्यहाँका विद्यालय वार्षिक परीक्षा अगावै बन्द भएको समाचार कान्तिपुर दैनिकले पुसमै प्रकाशित गरेको थियो। 

विद्यालय नै बेँसी सार्नुपर्ने वाध्यता भनेको त्यहाँको जनजीवन नै हो। त्यहाँका स्थानीय जाडोमा बेँसी झरेर व्यापार गर्छन्। गर्मीमा माथि उक्लिन्छन्। जाडोमा त्यहाँ बस्न सक्ने अवस्था पनि हुँदैन। विद्यालय बन्द नभए पनि विद्यार्थीहरु विद्यालय पुग्दैनन्-अभिभावकहरुसँगै बेँसी झर्छन्।

भौगोलिक विकटता ब्यहोरिरहेका नेपाली विद्यालयहरुको जस्तै कथा बोकेको भुटानको एक विद्यालयको कथामा चलचित्र ‘लुनाना: याक इन दी क्लासरुम’ले वर्णन गरेको छ। ओस्कार अवार्डको लागि नोमिनेसनमा परेको यस चलचित्रले उपल्लो मुस्ताङसहितका नेपालका हिमाली जिल्लाका विकटमा रहेका विद्यालयहरुको कथा बोकेको छ। त्यहाँका विद्यार्थीहरुको समस्या, बेसी झर्नुपर्ने अभिभावकहरुको बाध्यता फिल्ममा उतारिएको छ।

पाओ छोइङ दोर्जीले निर्देशन गरेको चलचित्र लुनाना: याक इन दी क्लसरुमले भुटानबाट ओस्कारमा प्रवेश पाएको दोस्रो फिल्म हो र नोमिनेसनमा परेको पहिलो फिल्म।

अष्ट्रेलिया जाने सपना बोकेको युगेन (शेराव दोर्जी) राजधानी थिम्पुमा हजुरआमसँगै बस्छन्। आफ्नो अध्ययनको अन्तिम वर्षमा रहेको उगेन स्वयंसेवाका लागि एउटा विकट गाउँमा पुग्नुपर्ने हुन्छ।

हिमालयको काखमा रहेको गाउँ लुनाना, त्यही गाउँमा रहेको लुनाना विद्यालय। ८ दिन लामो पदयात्राबाट विद्यालय पुगेको युगेनले  सिमित विद्यार्थीहरुलाई पढाउँछन् - क... ख... ग... ; ए... बी... सी।

‘सी फर कार’ नयाँ पुगेका शिक्षक युगेनले बोर्डमा लेख्छन्। विद्यार्थी अल्लमल्ल।

‘तिमीहरुले अहिलेसम्म कार देखेका छैनौँ?’ शहरबाट पुगेको युवा शिक्षकले सोध्छन्।

छैन - सजिलै विद्यार्थी उत्तर दिन्छन्।

अनि युगेनले ‘कार’को ठाउँमा ‘काउ (गाई)’लेख्छन्।

'हामीले गाईबाट दूध पाउँछौँ,'  एक विद्यार्थीले जवाफ दिन्छन्।

यस चलचित्रको मुख्य पात्र युगेन वास्तविक कथाकै पात्र हुन्। लुनाना आफैँमा एउटा छायाँमा परेको उपत्यका हो। त्यही अध्याँरो बस्तीमा उज्यालो खोज्ने प्रयास चलचित्रले गरेको छ। गाउँमा शिक्षक बनेर पुगेको युगेन कुनै व्यवसायिक कलाकार पनि होइनन्। फिल्म देखिने पात्र सबै नयाँ हुन्। तीनजना पात्र मात्र शहरबाट गाउँ पुगेका थिए, फिल्ममा बाँकी सबै त्यहीँका स्थानीयलाई प्रयोग गरिएको छ।

फिल्म लेखनमा समावेश नभएको प्लट लुनाना पुगेपछि नै थपिएको छ। पेमा जामको कथा र उनको गीतलाई त्यहीँ पुगेर फिल्ममा समावेश गरिएको हो।

२०१९ मा बनेको यो फिल्म अहिले विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै ओस्कारसम्म पुगेको छ। यसअघि सन् २००३ यही लुनानाको विद्यालयका एक शिक्षकको यात्रा र उनको संघर्षलाई लिएर डकुमेन्ट्री बनेको थियो - ‘स्कुल अमोङ दी ग्लासिएर’।

यो डकुमेन्ट्रीमा पनि लुनानाको विद्यालयमा पढाउन त्यहाँका राजाको इच्छाअनुसार पुगेका एक शिक्षक नवाङ राव्टेनको यात्रालाई वर्णन गरिएको छ। १८ दिनको पैदल यात्रापछि लुनाना पुगेका शिक्षकले विद्यालयलाई गरेको परिवर्तनलाई देखाइएको छ। पाँच हजार २०० मिटर माथिको गंगला कर्चुङ पास पार गर्दै चार हजार ५०० मिटरको उचाईमा रहेको लुनाना पुगेका ती शिक्षक त्यहाँ पाँच महिना बस्छन्। अर्ध घुमन्ते जातिहरु ‘ल्याप्स’  र ‘लुनाप्स’ को बसोवास रहेको गाउँ लुनाना भुटानकै सबैभन्दा विकट गाउँ हो भने लुनाप्स भुटानकै सबैभन्दा पिछडिएको जाति। तर, पनि उनीहरु भुटानको धर्म संस्कृति र राजाप्रति गर्व गर्छन्।

गाउँमा पुगेर विद्यालय त तयार पारे, राष्ट्रिय झण्डा फहराए। तर, विद्यालयका लागि आवश्यकता थिए त विद्यार्थी। उनी घरघरमा पुगे। अभिभावकहरुलाई छोराछोरी विद्यालय पठाउन आग्रह गरे। अभिभावकहरुले जवाफ फर्काउथे- ‘छोरोले हामीलाई काममा सघाउँछ। विद्यालय पठाए कसले सघाउँछ?’

याक चराउन पनि पढ्नुपर्ने। पढेपछि ठूलो व्यापारी हुने भन्दै अभिभावकहरुलाई सम्झाउँछन्। उनी अभिभावकहरुलाई सम्झाउँदै विद्यार्थीहरु  भेला पार्छन्। विज्ञानका उपकरण तयार पार्छन्। त्यतिबेलासम्म चार महिना पुगिसकेको थियो। जाडो याम सुरु हुँदै थियो। गाउँलेहरु बेँसी झर्ने तयारी गर्दै थिए। ती शिक्षक पनि विद्यार्थीहरुलाई बिदा गरेर हिउँ छिचोल्दै शहर फर्किए।

डकुमेन्ट्रीका पात्र नवाङ रावटेन लुनाना सामुदायिक विद्यालयमा तीन वर्ष स्वयमसेवीको रुपमा काम गरे।

दोर्जी वाङचुकले बनाएको यो डकुमेन्ट्री पनि विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा पुरस्कृत भएको थियो।

उस्तै कथा उस्तै पात्रलाई लिएर तयार भएको फिल्म लुनाना याक इन दी क्लासरुम प्रति यतिबेला अन्तर्राष्ट्रिय मिडियाहरु पनि आकर्षित भएका छन्। न्यूयोर्क टाइम्सदेखि वासिङटन पोस्टसम्मले यसको समीक्षा प्रकाशित गरेका छन्। फिल्म उद्योगमा नामुद भारतीय फिल्म उद्योगलाई नाघेर ओस्कर यात्रामा पुग्‍नु नै फिल्मको सफलता हो। उपल्लो भेगका नेपालीहरुको कथा हुबहु प्रस्तुत गरेको अनुभूति गराउने भएकाले पनि यो फिल्मले यस क्षेत्रको जबरजस्त प्रतिनिधित्व गर्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell