पुरानो पोखरा बजार। चिप्लेढुंगा चोकको सडक छेउमै राखिएको छ होडिङ बोर्ड। मौलिक घरको दृश्य राखिएको उक्त बोर्डमा लेखिएको छ,‘हाम्रो संस्कृति नै, हाम्रो पहिचान हो।’
चिप्लेढुंगा चोकदेखि दायाँतिर सिद्धार्थचोकबाट माथि लागेपछि सुरु हुन्छ पोखराको पुरानो बजार। सिद्धार्थचोकदेखि माथि गणेशटोल, रामकृष्ण टोल, भीमसेन टोल, तेर्सोपट्टि, मोहरिया टोल, नालामुख हुँदै विन्दावासिनी मन्दिरसम्मका क्षेत्र यसमा समेटिन्छ। इतिहासका पानामा यस क्षेत्रको आफ्नै अस्तित्व छ। तात्कालीन समयमा यो क्षेत्र पोखराको मुख्य व्यापारिक केन्द्र थियो। बजारले मात्रै होइन यसक्षेत्रमा रहेको वास्तुकला सहितको मौलिक संरचना र मठमन्दिरले पनि यहाँको इतिहास भन्छ। तर, समयसँगै पोखरामा बस्ती बढे। मुख्य व्यापारिक केन्द्र सर्यो। अनि ओझेलमा पर्न थाल्यो पुरानो बजार। शहरीकरण र आधुनिकतासँगै यहाँको मौलिकता पनि मासिँदै गएको छ। सम्पदा क्षेत्रले भरिएको र छुट्टै पहिचान बोकेको स्थानमा आजभोलि कंक्रिटका घर ठडिन थालेका छन्।
यद्यपि, मल्लकालिन इतिहासलाई चित्रण गर्ने पुरानो शैलीका केही घर आज पनि देखिन्छ यस स्थानमा। मौलिक विशेषता रहेको पुराना संरचना संरक्षणमा सम्बन्धित निकायले तदरुकता देखाउन भने सकिरहेको छैन।
पोखरा र भक्तपुरको साइनो
पोखरामा मानव बस्तीको इतिहास धेरै लामो नभएको इतिहासविद्हरुको भनाइ छ। पोखरामा बसोबास ढिला सुरुवात भए पनि पोखरा आसपासका क्षेत्रमा भने बसोबास पहिलेदेखि नै रहेको इतिहासविद् दिलबहादुर क्षेत्री बताउँछन्। पोखरा आसपासका क्षेत्र बैदाम, चाउथे, कुडँहर, कास्कीकोट, माटेपानीमा मानिसको बसोबास थियो। बैदाममा ब्राह्मण, मझेरी पाटनमा क्षेत्रीहरुको बसोबास रहेको इतिहासमा उल्लेख छ। कास्कीकोटमा भने राजदरबार थियो। जाडो यामका समय कास्कीकोटका राजा बाटुलेचौरमा बसोबास गर्न आउने गरेको क्षेत्री सुनाउँछन्।
तात्कालीन समयमा कास्कीकोटका राजा सिद्धनारायण शाहले पोखरामा व्यापार संचालन गर्न लागि नेवार समुदायको बस्ती बसालेका थिए। सिद्धनारायण शाह कास्की राज्यका अन्तिम राजा थिए। उनले भक्तपुरका अन्तिम राजा रण्जीत मल्लसँग व्यापार तथा मैत्री सम्झौता गरी २६ नेवार परिवारलाई भक्तपुरबाट पोखरा लगेर बसालेका थिए।
राजा सिद्धनारायणले पोखरालाई बजारका रुपमा परिणत गर्न भक्तपुर नेवार समुदायलाई ल्याए राखेको सिद्धार्थ चोकदेखि माथि विन्दावासिनीसम्मको क्षेत्र ‘२६ कुरिया’का नाममा परिचित छ। राजाले पोखरामा जग्गा दिएर २६ नेवार परिवारलाई बस्ने व्यवस्था मिलाएका थिए। त्यसैले व्यापारका लागि २६ नेवार परिवार आएका हुनाले त्यस क्षेत्रलाई ‘२६ कुरिया’ भनिएको इतिहासविद् क्षेत्री बताउँछन्।
भक्तपुरका संस्कृतिविद् ओम धौभडेल भक्तपुरबाट विभिन्न समयमा मानिसहरु व्यापारका लागि बाहिर जाने क्रम मल्लकालमा रहेको बताउँछन्। त्यसैक्रममा राज्यसँग सम्झौता गरेर २६ परिवार पनि पोखरा पुगेको उनले बताए।
‘भक्तपुर र पोखराको नेवार समुदायमा समानता छ। तहामचा निकाल्ने, भैरव पूजा गर्ने सबै मिल्छ। उनीहरुको थर पनि यहाँको जस्तै छ’ उनले भने।
अहिले पोखराको इतिहास बोकेको ‘२६ कुरिया’ अन्तर्गत पर्ने यो क्षेत्र ओझेलमा परेको छ। शहरको अस्तित्व, बस्तीको मौलिकता, रहन सहन, संस्कृति र सम्पदामा असर परिरहँदा पनि सम्बन्धित निकाय मौन देखिन्छ।
पुरानो व्यापारिक केन्द्रमात्र नभई, सभ्यता र पहिचान बोकेको २६ कुरियाले सांस्कृतिक महत्व राख्ने क्षेत्री सुनाउँछन्।
‘पुरानो व्यापारिक केन्द्रमात्र नभई यी स्थान संस्कृतिको केन्द्र पनि हुन्। विभिन्न नेवारी मौलिक संस्कार संस्कृति लाखे, भैरव नाच, तहामचा यहीँबाट भित्रिएको हो जसको आफ्नै महत्व छ,’ उनले भने।
यससँगै गणेश टोलमा रहेको गणेश मन्दिर, भैरव टोलमा रहेको भैरव मन्दिर, भीमसेन टोलमा रहेको भीमसेन मन्दिरको सांस्कृतिक महत्व छ। तात्कालीन समयमा बनेका यी मन्दिरको स्थानीयले नै संरक्षण गर्दै आएका छन्। यस्तै, यसै क्षेत्रमा पर्छ १ सय वर्ष पुरानो बालधारा। जसको संरक्षणमा स्थानीयले चासो देखाउन थालेका छन्।
पुरानो बजारको मौलिकता संरक्षणका लागि सरकारले चासो देखाउनुपर्ने क्षेत्रीको भनाइ छ। ‘पुरानो बस्ती, घर भनेका हाम्रो मौलिक संस्कार संस्कृति हुन्। विदेशमा राज्यले संरक्षण गर्छ हामी का त्यो छैन,' उनले भने, 'अहिले बाटुलेचौर उता घुमाउने घरको इतिहास देखिन्न। सरकारले हेर्ने पर्यो। हाम्रो पहिचान र परिचय रहेको संस्कृति संरक्षण गर्नुपर्छ। स्थानीयदेखि प्रदेश सरकार र संघीय सरकारको दायित्व हो।’
मेटिँदै इतिहास
केहीवर्ष पहिलेसम्म पनि पोखरामा आउने विदेशी पर्यटक विन्ध्यवासिनी क्षेत्रसम्मका पुराना शैलीका घर हेर्न सिद्धार्थ चोकबाट माथि पैदल उक्लिन्थे। क्यामेरामा तस्विर कैद गर्दै कलात्मक शैलीका घरलाई हेर्थे। तर, पुरानो संरचना भत्काएर नयाँ संरचना बनेसँगै पुरानो बजारको अस्तित्व मेटियो। अहिले मुस्किलले त्यस क्षेत्रमा केही घरमात्र देख्न पाइन्छ, पुरानै शैलीका।
पोखराबाट केही घण्टा टाढा छ बन्दिपुर। बन्दिपुरमा रहेका पुरानो घर संरक्षण गर्दै होटल, रेष्टुराँ बनाइएको छ। बन्दिपुरले उही पुरानो शैलीको घरबाटै पर्यटक तानिरहेको छ। पुरानो बजार रहेको पोखरालाई पनि पर्यटक लक्षित गरेर ब्युँत्याउन सकिने संस्कृतिविद् तीर्थ श्रेष्ठ बताउँछन्।
‘काष्ठकलाको नमुना रहेको घर संरक्षण व्यक्तिगत र संस्थागत हुनुपर्छ। घरधनीले घर भत्काएर आधुनिक डिजाइनको घरभन्दा पुरानो शैलीको घर बनाउन सकिन्छ। रेष्टुराँ र होटल खोल्न सकिन्छ। यसलाई पर्यटकीय आर्कषणको रुपमा स्थापित गरेर व्यवसायिक दृष्टिकोणले लाभ लिन सकिन्छ,’ श्रेष्ठले भने।
पुरातात्विक घरहरुको अस्तित्व मेटिँदै गर्दा समेत महानगरपालिका संरक्षणमा उत्साहहीन देखिएकोमा श्रेष्ठले गुनासो पोखे। काष्ठकलाको नमुना भएका क्षेत्रलाई सम्पदा क्षेत्र घोषणा गरेर पर्यटकीय क्षेत्रका रुपमा महानगरले स्थापित गर्न सक्नुपर्ने उनको भनाइ छ।
पुरानो घरको अस्तित्व मेटिँदै गएसँगै व्यापारिक केन्द्र रहेको क्षेत्र सुनसान बन्न थाल्यो। बस्ती बढेसँगै लेकसाइड, चिप्लेढुंगा, महेन्द्रपुल, पृथ्वीचोक, न्यूरोड व्यापारिक केन्द्र बने। मोहरिया टोल आसपासमा अझै पनि पुराना सुनचाँदी पसल देखिन्छन्। तर, व्यापारिक केन्द्र सरेका कारण मान्छेको चाप न्यून छ। अहिले २६ कुरियाको अस्तित्व जोगाउन केही स्थानीय लागिपरेका छन्। जसमा एक हुन् तेर्सापट्टिका राजन श्रेष्ठ।
‘पुरानो बजार रहेको हाम्रो एरिया अहिले सुनसान छ। यही एरियामा घर हुनेले समेत न्यूरोड महेन्द्रपुलमा लाखौं भाडा तिरेर व्यापार व्यवसाय गर्नुपरेको छ,’ उनले भने, ‘यहाँ देख्न बाँकी रहेका केही पुराना शैलीको घरहरुको पनि आफ्नै मौलकिता छ। त्यसलाई संरक्षण गर्न सरकारले सहयोग गर्नुपर्छ।’
प्रभावकारी नबनेको महानगरको योजना
बस्ती र व्यापार सरेसँगै पुरानो बजारको अस्तित्व संरक्षणमा लामो समयसम्म सम्बन्धित निकायले चासो दिएन। पुराना बजारलाई जीवन्त राख्न कसैले वास्ता गरेनन्। यहीँबिच महानगरले आर्थिक वर्ष ०७६/०७७ को बजेटमा पुरातात्विक घरलाई समेट्यो। पुरातात्विक महत्वका पुराना घर पुरानै शैलीमा बनाए ५० प्रतिशत राजश्व छुट दिने महानगरले घोषणा गर्यो। तर उक्त निर्णय प्रभावकारी बन्न सकेन।
पोखरा महानगरपालिकाका सूचना अधिकारी भरतराज पौडेलले महानगरको उक्त घोषणा पुरानो घर संरक्षणका लागि प्रभावकारी नभएको सुनाए।
‘त्यस समय हामीले राजश्व छुट दिने निर्णय गरेका थियौं तर उहाँहरु यसमा आकर्षित हुनुभएन। त्यसपछि महानगरको तर्फबाट अन्य केही निर्णय वा योजना बनेको छैन,’ पौडेलले भने।
वडा नम्बर ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाले नगरसभामा पुरानो बजारमा रहेका घरहरुका अध्ययन प्रतिवेदन तयार पारेर प्रस्तुत गरेका थिए। त्यसकै आधारमा महानगरले ५० प्रतिशत छुट दिने घोषणा गरेको थियो। साथै महानगरले पुरानो संरचना पुनर्निर्माणका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो। यद्यपि, महानगरले संरचना पुनर्निर्माणका लागि रकम दिने बताए पनि वडालाई नदिएको वडाध्यक्ष बास्तोला बताउँछन्। महानगरको त्यस समय गरेको घोषणमा समेत बास्तोलाको असन्तुष्टि छ। स्थानीय समेत त्यसमा असन्तुष्ट थिए।
‘महानगरले त्यस समय गरेको घोषणमा मेरो र स्थानीय दुवैको चित्त बुझाइ थिएन। स्थानीयलाई खुशी बनाएर पर्यटकलाई लक्षित गर्ने कन्सेप्टमा जाउँ भनेर पटक पटक महानगरमा प्रस्ताव राख्दा सुनिएन,’ बास्तोलाले गुनासो पोखे।
वडा अध्यक्षले महानगरमा प्रतिवेदन तयार पारेर दिँदा पुरानो बजार क्षेत्रमा २१ वटा घर थिए। अहिले त्यो संख्या घटेको छ। भएका पनि केही त जीर्ण अवस्थामा छन्।