अंकमाल एउटा ‘नन-भर्बल कम्युनिकेसन’ हो। यसले माया, हेरचाह, खुशी, दु:ख, विश्वासजस्ता हजार शब्दमा पनि व्यक्त गर्न नसकिने हाम्रो भावनालाई बोलिरहेको हुन्छ।
‘भ्यालेन्टाइन्स विक’मध्येको एक दिन अंकमाल गर्ने दिनको रुपमा मनाइन्छ। जसलाई अंग्रेजीमा ‘हग डे’ भन्ने गरिएको छ। यसलाई भ्यालेन्टाइन्स डे (१४ फेब्रुअरी)को २ दिनअघि फेब्रुअरी १२ मा मनाइन्छ।
रोज डे (फेब्रुअरी ७), प्रोपोज डे (फेब्रुअरी ८), चकलेट डे (फेब्रुअरी ९), टेड्डी डे (फेब्रुअरी १०), प्रोमिस डे (फेब्रुअरी ११) र किस डे (फेब्रुअरी १३) पनि भ्यालेन्टाइन्स सप्ताह अन्तर्गत मनाइने दिनहरु हुन्।
कसैलाई अँगालो हाल्दा उसलाई सान्त्वना मात्र मिल्दैन तर विश्वास पनि बढाउँछ। न्यानो अँगालोले तपाईँलाई अर्को व्यक्तिसँग अझ नजिक भएको महसुस हुनेछ भने सम्बन्ध बलियो बनाउनुका साथै र खुशी पनि बढाउँछ।
कोरोना भाइरस महामारीका कारण सामाजिक दूरी कायम गर्नुपर्ने अहिलेको अवस्थामा कसैको न्यानो अँगालोमा हराउन पहिलेजस्तो सामान्य भने छैन। न्यानो अँगालोमार्फत आफ्ना भावना साटासाट गर्ने अवस्था महामारीको बेला कम भएको महसुस गरिएको छ।
अर्कोतर्फ यहि समय विभिन्न तनाव र चिन्ताले मानिसको मानसिक स्वास्थ्यमा ठूलो असर गरिरहेको छ। हामीमात्र यति आशा गर्न सक्छौँ कि आगामी दिनहरू पहिलेभन्दा राम्रा हुनेछन् र मानिसहरूले आफ्नो भावनात्मक ब्याट्री मनपर्ने मान्छेको न्यानो अँगालोमा बाँधिएर रिचार्ज गर्न सक्नेछन्।
केही वैज्ञानिक अध्ययनहरूले पनि अंकमाल गर्नुको धेरै फाइदालाई पुष्टि गरेको छ। यसले ‘स्ट्रेस हर्मोन’/ ‘कोर्टिसोल’को स्तर मात्र कम गर्दैन तर पीडामा राहत दिन्छ र शरीरमा आराम पनि दिन्छ।
एसियन इन्स्टिच्युट अफ मेडिकल साइन्सेसकी सिनियर कन्सल्टेन्ट डा मिनाक्षी मनचन्दले प्रस्तुत गरेको अंकमाल गर्नुका ६ स्वास्थ्य लाभ यस्ता छन्।
१. अंकमाल गर्दा शरीरमा स्ट्रेस हर्मोन ‘कोर्टिसोल’को स्तर घट्छ, जसले तनावपूर्ण अवस्थामा रक्तचाप र मुटुको धड्कन कम गर्छ। अँगालो हाल्दा राम्रोसँग निन्द्रा पनि लाग्न मद्दत गर्छ।
२. अँगालो हाल्दा मस्तिष्कमा ‘अक्सिटोसिन’ वा ‘फिल-गुड केमिकल’को स्तर बढ्छ जसले हामीलाई खुशी, सक्रिय र शान्त बनाउँछ।
३. अंकमाल गर्दा अर्को व्यक्तिसँग अझ नजिक हुन सजिलो हुन्छ।
४. अँगालोले सुरक्षा, माया र एक्लो नभएको भावना सञ्चार गर्छ।
५. अँगालो मार्दा पीडासँग लड्न सजिलो हुन्छ भने रक्त सञ्चारमा सुधार भएर शरीरमा तनाव कम हुन्छ, जसले तनावपूर्ण मांसपेशीहरूलाई आराम दिन्छ।
६. अँगालो हाल्दा नेचुरल-किलर-सेल ‘लिम्फोसाइट्स’ र अन्य प्रतिरक्षा बढाउने कोसहरूको स्तर बढ्छ जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ।