विश्वप्रसिद्ध अमेरिकी विद्वान प्रोफेसर नोम चोम्स्कीले भारतमा इस्लामविरुद्धको पूर्वाग्रह ‘इस्लामोफोबिया’ बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्। यस्तै, उनले नरेन्द्र मोदी सरकारले भारतको धर्मनिरपेक्षता र लोकतन्त्रलाई अन्त्य गरिरहेको आरोप समेत लगाएका छन्।
भारतमा पछिल्लो समय मुस्लिम महिलाले लगाउने बुर्काको विषयलाई लिएर विवाद बढ्दै गइरहेको छ। यसबिच ‘भारतमा घृणायुक्त भाषण र हिंसाका कारण बिग्रिँदै गएको स्थिति’ विषयमा चर्चा गर्ने क्रममा उनले मोदी सरकारको आलोचना गरेको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
अमेरिकामा रहेको प्रवासी संगठनले आयोजना गरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘ पश्चिममा इस्लामोफोबिया बढ्दै गइरहेको छ। भारतमा भने यसले सबैभन्दा घातक रुप लिइरहेको छ। नरेन्द्र मोदी सरकारले भारतको धर्मनिरपेक्षता लोकतन्त्रलाई व्यवस्थित रुपमा अन्त्य गरिरहेको छ र हिन्दु राष्ट्र बनाइरहेको छ। स्वतन्त्र विचार र मुसलमानको विरुद्ध र शिक्षा प्रणालीमा आक्रमण गरेर यसले अन्य पनि लिइरहेको छ।’
उनले कश्मीरमा मुसलमानप्रति अत्याचार भएको इतिहास पहिलादेखि नै रहेको तर मोदीको ‘दक्षिणपन्थी र राष्ट्रवादी शासन’मा अत्याचार झनै बढेको बताए।
उनले मुसलमानहरुको अवस्था दक्षिण एसियामै राम्रो नभएको बताएका छन्। र, यो खराब स्थितिको जिम्मेवार पश्चिमा राष्ट्रहरु समेत भएको उनको दाबी छ।