PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कमिकका सुपर हिरो कोर्दै चित्रकलामा समुन्द्रको ‘नागपास’ यात्रा



सहयोग रञ्जित

कमिकका सुपर हिरो कोर्दै चित्रकलामा समुन्द्रको ‘नागपास’ यात्रा

२०४८ साल। जमाना कमिक्सको। हरेक शुक्रवार सुपर हिरोको कथा भन्ने कमिक प्रकाशित हुन्थे। काठमाडौंका चोकचोकबाट बिक्री हुन्थ्यो ती। तिनै बिक्री हुनेमध्येको एउटा प्रति चाहिँ समुन्द्रमानसिंह श्रेष्ठका लागि हुन्थ्यो। उनका बुवाले हप्तैपिच्छे किनेर लिएर ल्याउँथे। दिदीभाइ र साथीसँग घ्वाइँ, गुच्चा र डोरी खेल्ने सुमन्द्र कमिक ल्याएपछि भने त्यसमै भुल्थे। मखनमा एक सुका (२५ पैसा)मा मिल्थ्यो कमिक। बुवाले नभ्याउँदा कहिलेकाहीँ आफैँ किन्न पुग्थे। कमिकका ‘पात्र’लाई कागजमा दुरुस्त उतार्थे उनी। कहिले सुपर हिरो ध्रुवको तस्विर बनाउँथे त कहिले बेतालको। रक्तकालीमा घर भएका उनी जात्राहरुको तस्विर समेत कोरिरहन्थे।

विद्यालयको गृहकार्य गर्थेनन् बरु, चित्र बनाउन चाहिँ छाड्थेनन्। उनकै शब्दमा भन्दा - सानैदेखि चित्र कोर्ने ‘प्यासन’ थियो उनमा। चित्र कोरे पनि कलाकार बन्ने सोचेका थिएनन्। फुर्सद पायो कि चित्र कोर्ने रहर भएकाले शुक्रवार र शनिवार आयो कि उनी खुशी हुन्थे। विद्यालयको गृहकार्य सकेर लगत्तै चित्र कोर्ने हुटहुटीले उनलाई पछ्याउँथ्यो। परिवारले पनि उनको रुचीलाई चिन्यो र कक्षा ८ मा हुँदा नै उनले पौभा चित्रको कक्षा लिने मौका पाए।

‘सानै बेलादेखि चित्रका खेस्राहरु लेख्दा लेख्दै हात बस्यो। २०४९ सालमा मात्रै पौभा चित्रको कक्षा लिएँ। त्यसअघि हेरेको देखेको चित्र कोर्थे,’ समुन्द्रमानले सुनाए।

बाल्यकालमा कमिक हेर्दै सुरु भएको उनको चित्रकलाको यात्रा ‘ट्रेडिस्नल आर्ट’ हुँदै ‘नियो क्यासिकल आर्ट’ सम्म आइपुगेको छ। उनै समुन्द्र ३० वर्षभन्दा लामो चित्रकलाको यात्रालाई एकै ठाउँ लिएर आएका छन्। ठमेलको काठमाडौं गेस्ट हाउसस्थित म्यूजियम अफ नेपाली आर्ट (मोना)मा उनका चित्रहरु टाँगिएका छन् अहिले। बाल्यकालमा कोरेकादेखि ‘ह्वाइट तारा’, ‘त्रिलकुल नाथ’ लगायत आफ्नो ‘एक्सक्लुसिभ’ चित्रहरु उनले प्रदर्शनीमा राखेका छन्।

मोनामा प्रवेश गर्नासाथ भित्रामा झुण्ड्याइएको छ - ‘सुपर कमाण्डो ध्रुव’को चित्र। सँगै छन् उनले बाल्यकालमा कोरेका अरु चित्र पनि। यसका साथै भूकम्पपछि भत्किएका सम्पदा कसरी चिराचिरा भएर रहेका छन् भन्ने उनले आफ्नो कला मार्फत् पोखेका छन्।

कलाकारको खोजीमा बनेको सेल्फ पोट्रेट

समुन्द्रमान ‘आर्टिस्ट’ हुन्। तर, उनलाई कलाकार भएको भान कहिल्यै हुन सकेन। सिद्धिमान गुभाजु, प्रेममान चित्रकार लगायत त्यसबेला नाम चलेका कलाकारबाट प्रभावित समुन्द्रले सानै उमेरमा गुरुहरुसँग पौभा र थाङ्का बनाउन सिकेका थिए। आफूले बनाएका पौभा बेच्न बजार पनि पुग्थे उनी।

सानो उमेर। दुब्लो र पातलो शरीर। बच्चाजस्तो ठान्थे धेरैले। ईन्द्रचोकमा चित्र बेच्न पुग्थे उनी तर, उनलाई कलाकार मान्ने कसले?

‘चित्रकार भन्नेबित्तिकै सिनियर र माझिएको कलाकार जस्तो हुनुपर्ने। अनि सबैले तिमी चित्रकार हो र? तिमीले लेखेको हो? भनेर प्रश्न गर्थे,’ उनले त्यतिखेरको अवस्था सम्झिए।

यस्ता प्रश्नका सामना गर्दै उनले चित्रकलाको यात्रालाई जारी राखिरहे। पौभा र थाङ्कामा मात्रै आफूलाई सीमित राख्न चाहेनन् समुन्द्रमानले। बजारमा धेरै चित्रहरु बिक्रीमा देखिन्थ्यो जुन उनले बनाएभन्दा फरक थिएन। अर्थात् उनी जे बनाउने, त्यस्तै बनाउनेहरु धेरै थिए। तिनै चित्रहरुले उनलाई महसुस भयो - खै त आफ्नो पहिचान?

त्यसपछि भने परम्परागत चित्रकलालाई उनले आफ्नो ‘सिग्नेचर स्टाइल’ दिने प्रयास थाले।

‘मेरो चित्रकलाको आधार भनेकै पौभा चित्र हो। तर, सबैले एउटै किसिमको बनाउने भयो। त्यसरी त भिडभाडमा गुमिन्छ भनेर अलि नयाँ र नौलो गर्ने कोसिस गरेँ,’ समुन्द्रले भने, ‘मनपरी गरेर फरक बनाएको होइन। एउटै विषय भए पनि हल्का फरक किसिमले जानुपर्छ भनेर केही परिवर्तन गरेँ।’

उनले समातेको फरक धारलाई धेरैले मन पराए पनि।

परम्परागत चित्रकला गर्नेभन्दा केही पृथक प्रयास पनि गरेका छन् उनले - ‘सेल्फ पोट्रेट’ बनाएर। जसमा उनी आफूलाई नै खोजिरहेका हुन्छन्।

भोटाहिटीस्थित ललितकला क्याम्पसमा पढ्दै थिए उनी। क्याम्पस बाहिर त्यसबेला नाम चलेका ‘आर्टिस्ट’हरुको किताब ब्रिकीमा पाइन्थ्यो। किताबमा कलाकारहरुको ‘सेल्फ पोट्रेट’ हुन्थ्यो। ती चित्र देखेर मोहित हुन्थे उनी। अनि उनलाई पनि आफ्नो ‘पोट्रेट’ बनाउन मन लाग्यो।

‘सेल्फ पोट्रेट’को ‘सब्जेक्ट’ आफैँ। तर, आफूलाई कसरी देखाउने? समुन्द्रले त्यसमा अरुले आफूमा नदेखेको कलाकार उतार्ने निधो गरे।

‘म अलि ढिला, भनौं २० वर्ष पछिमात्रै जवान भएँ,’ उनले हाँस्दै सुनाए, ‘आफ्नो बाहिरी लुक्समा कलाकार जस्तो देखिदैन थिएँ म। त्यसैले मैले सेल्फ पोट्रेटमा म एकदम माझिएको र भेट्रान कलाकारजस्तो देखाएँ।’

सन् २००४ मा उनले बनाएको त्यही ‘पोट्रेट’ अहिले मोनामा प्रदर्शनरत छ। आफ्नो चित्र देखाउँदै उनले व्याख्या गरे, ‘मैले यो बनाउनुको कारण भनेकै मेरो लुक्स कलाकार जस्तो नदेखिएर नै हो।' आफैँले बनाएको चित्रमा आफूलाई अनुभवी कलाकार जस्तो देखाउनुको सन्दर्भ चाहिँ ईन्द्रचोकमा चित्र बेच्दाको व्यवहार गाँसिन आउँछ। त्यसैले 'सेल्फ पोट्रेट'मा पुरानो कलाकार जस्तो देखाएका छन्। अनुभवी जस्तो पनि।

दैनिक घटनालाई जसरी डायरी लेखिन्छ समुन्द्रले ‘सेल्फ पोट्रेट’ लाई चित्र डायरीका रुपमा बनाएका छन्। त्यसमा कलाकारितासँगै आफ्ना भावना देखाउने प्रयास गरेका छन् उनले।

‘मैले थोरै सेल्फ पोट्रेट बनाएको छु। तर, त्यसमा चित्र बनाउँदा देखाउन नसकिएका भावहरु देखाउन खोज्छु, ’ उनले सन् २०१३ मा कोरेको चित्र डायरीबारे सुनाए, ‘त्यसमा स्मरणीय कुराहरु उल्लेख गरेको छु। महत्त्वपूर्ण मितिहरु लेखेको छु जुन ममात्र बुझ्छु। म दु:खी हुँदा, म खुशी हुँदा, घरको जग हालेको समयजस्ता महत्वपूर्ण मिति 'पोट्रेट'मा लेखेको छु।’

जीवनमा अझै थुप्रै मोडहरु आउनै बाँकी रहेको भन्दै उनले चित्र डायरी जिन्दगी भर नसकिने सुनाए।

राष्ट्रिय पुरस्कारदेखि मोडिएको बाटो

ललितकला क्याम्पसमा ‘कन्टेम्प्रोअरी आर्ट’ सिकाइन्थ्यो। घरमा भने उनी धेरैजसो ‘ट्रेडिस्नल आर्ट वर्क’ गर्थे। त्यसै क्रममा २०५४ सालमा क्याम्पसमा पढ्दै थिए। नेपाल एकाडेमीले चित्रकला प्रतियोगिता आयोजना गर्न लागेको थाहा पाए। त्यसमा सहभागी हुँदै उनले पौभा बनाए। त्यसमा राष्ट्रिय पुरस्कार जित्न सफल भए।

‘त्‍यहाँबाट लाग्यो प्रयास गरिरहनुपर्ने रहेछ। पुरस्कार पाएपछि मलाई बिस्तारै केहीले चिने। घरमै पौभा लिन आउन थाले,’ उनले जीवनको एक घुम्ती सम्झिए।

समुन्द्रमान जीवनका धेरै पटक ‘टर्निङ प्वाइन्ट’ बनेको बताउँछन्। आफूले बनाएको चित्र नबिक्दाको क्षणदेखि कयौं प्रयासमा पनि बन्न नसकेको चित्रहरु, सबै जीवनको फरक मोड थिए उनका लागि।

२०७३ सालमा उनले आफूले बनाएका चित्रकलाको एकल प्रदर्शनी भयो नेपाल आर्ट काउन्सिलमा। प्रदर्शनी सफलताको एक खुड्किला बन्यो।

‘त्यसबेला ट्रेडिस्नल आर्टिस्टको प्रदर्शनी खासै हुँदैन थियो। मलाई भाग्यले साथ दियो,' उनले भने, 'चित्रहरु धेरै जम्मा भए। कलेक्टरहरुबाट पनि चित्रकला लिन सजिलो भयो। त्यहाँबाट धेरै जनासँग परिचित भएँ।'

जब आफूले बनाएभन्दा राम्रो चित्र देखे...

मोनामा प्रदर्शनी सुरु भएको दोस्रो दिन। एक कलाकारले आफ्नो भाइलाई सँगै लिएर आएकी थिइन्। ती बालकले मोबाइलमा एउटा चित्र देखाए जुन समुन्द्रले बनाएको बज्रपानीको तस्विर थियो। समुन्द्रकै चित्र हेरेर ती बालकले आफैँले चित्र कोरेका रहेछन्। १३ वर्षको बालकले कोरेको त्यो चित्र देखेर समुन्द्र छक्क परे। अनि ती बालकलाई सानो हुँदा बनाएको कमिकको चित्र देखाए, जुन मोनाकै भित्तामा टाँसिएको थियो।

‘उसले बनाएको चित्र त्यसबेला मैले बनाएभन्दा राम्रो थियो। मैलेभन्दा राम्रो चित्र बनाउन सक्छौं भने हौसला दिएँ। उसको अनुहारमा खुशी देखेँ मैले,’ समुन्द्रमानले सुनाए।

यस्तै, खुशी र हौसला दिन नै अहिले मोनामा बाल्यकालदेखि अहिलेसम्मका चित्र प्रदर्शनीमा राखिएको उनको भनाइ छ।

उनले प्रदर्शनीको मुख्य उद्देश्य नयाँ पुस्तालाई प्रेरित गर्ने रहेको सुनाए। 'आफ्नो फाइन वर्क र एक्सक्लुसिभ वर्क देखाउने मेरो उद्देश्य होइन। यहाँ २०४८ साल भन्दा अघिका पेन्टिङहरु पनि छन्,’ उनले भने, 'समुन्द्रको चित्र पहिला यस्तो नराम्रो थियो। सुरुमा नराम्रो भए पनि पछि राम्रो हुनसक्छ भन्ने प्रेरणा मिल्नसक्छ अहिलेका कलाकारलाई।’

अहिलेको पुस्ता चाँडै ‘डिस्ट्र्याक्ट’ हुने बुझेका छन् समुन्द्रमानले। त्यसैले उनले बाल्यकालका चित्र राखेर युवा पुस्तालाई विफलताबाटै सफलता हासिल गर्ने सुत्र प्रस्तुत गरिरहेका छन्। जीवन ‘नागपास’ जस्तै हो, जहाँ जोखिम छ। तर, सम्हालेर अघि बढ्दा सफलता मिल्ने समुन्द्रको बुझाइ छ।

‘बाल्यकालमा नागपास खेल्थ्यौं। राम्रोसँग खेले १०० मा। अलिकति होस गुम्यो भने एकै पटक तलतिर,' उनले भने, 'राम्रो हुनुअघि नराम्रो प्रयासबाट गुज्रिएर खुड्किला चढ्दै अघि बढ्नुपर्छ भन्ने विषयलाई चित्रबाट देखाउन खोजेको छु।’

अहिलेका युवा सानो असफलतामै विचलित भइहाल्ने उनको बुझाइ छ। त्यसैले नागपासमा जति ठेस लागे पनि माथि पुग्ने लक्ष्य लिइरहनुपर्ने सिकाईको अर्थ बुझ्नुपर्ने ठान्छन्।

‘अहिले युवाहरु छिट्टै डिस्ट्र्याक्ट हुने गरेका छन्। हात हालेको काममा सफल भएनन् भने झट्टै त्यो कुरा परिवर्तन गर्छन्। अरु काममा हात हाल्छन्। त्यो हुनु भएन। निरन्तर गरिरहनु पर्छ। अनि मास्टरी हुन्छ। त्यही बुझाउने प्रयास हो,’ उनले भने।

यस्तै, चित्रकलामा हुने विभिन्न प्रक्रियाहरु देखाउन यसपटक मोनाले नयाँ प्रयास गरेको छ। समुन्द्रमानले बनाएका चित्रहरुसँग त्यसको ‘स्केच’ पनि सार्वजनिक गरिएको छ। ‘प्रदर्शनीमा पेन्टिङ मात्र हुन्थ्यो। स्केच हुँदैन थियो। पेन्टिङ हेर्दा हेर्नेमात्र भयो। तर प्रक्रिया के हो त,' उनले व्याख्या गरे, 'चित्र बन्नु अघि कस्तो प्रक्रिया हुन्छ, कलाकारले कसरी स्केच गर्दो रहेछ? त्यो पनि देखाउन मिल्छ भनेर यसपटक स्केच राखेका हौं।’

अबको यात्रा कताको?

सन् २०२२ पछिको यात्रा के हुन्छ त? चित्रकलाका प्राय विधामा आफ्नो हात चलाएका समुन्द्रलाई सोधिएको प्रश्नमा उनको जवाफ- ‘अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने।’

उनले पौभा बनाउँदै चित्रकलाको यात्रा सुरु गर्दा नेपालमा त्यसको बजार निकै कम थियो। सीमित व्यक्ति विशेषगरी विदेशीले मात्रै चित्र किन्थे। नेपाली कलेक्टरको संख्या न्यून। चित्रकारका चित्रकला प्रदर्शन विरलै। अहिले समय फेरिएको छ। नेपालमै चित्रकलाको बजार बढ्दो छ। अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला पुग्न थालेको छ। समुन्द्रमानका कतिपय कला विदेशमा पुगेका छन्। अब भने त्यसलाई व्यापक बनाउने बेला आएको समुन्द्र बताउँछन्।

‘पहिला चित्रकारकै घरमा चित्र लिन जानुपर्थ्यो। सिक्नेहरुलाई पनि गाह्रो थियो। अग्रज चित्रकारहरुको चित्र हेर्न पाइँदैन थियो। अहिले त्यस्तो अवस्था छैन,' उनले भने, 'कला क्षेत्रमा गतिविधि बढेको छ। कलाकारहरु बढेका छन्। मोना जस्ता प्ल्याटफर्महरु छन् अहिले।'

चित्रकला क्षेत्रको भविष्य नेपालमा राम्रो भएको र नयाँ पुस्ताहरुको आगमन हुँदै गएको उनको बुझाई छ। तर, यस क्षेत्रको थप प्रवर्द्धनका लागि ‘आर्ट एक्टिभिटी’ बढाउनुपर्ने उनको राय छ।

‘हाम्रोमा चित्रकला सम्बन्धित क्रियाकलाप धेरै नभएकाले पछाडि परेका हौं। अब हरेक ठाउँमा आर्टका क्रियाकलाप बढाउनुपर्छ। जति काम देखिन्छ त्यति नै परिचय बढ्ने हो,’ समुन्द्रले सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell