
काठमाडौं : पछिल्लो २४ घन्टामा ८ सय ३६ नयाँ कोभिड १९ संक्रमित थपिएका छन्। ६ हजार ६ सय ५४ जनामा परीक्षण गर्दा १२.५६ प्रतिशतको रिपोर्ट पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार यस अवधिमा ४ हजार २ सय ६० जनाको आरटी पीसीआर तथा २ हजार ३ सय ९४ जनाको एन्टीजेन परीक्षण गरिएको थियो। यस अवधिमा संक्रमणकै बिच ४ जनाको ज्यान गुमेको छ।
यस अवधिमा १ हजार ८ सय २६ जना कोभिड १९ संक्रमणमुक्त भएका छन् भने २ लाख ८८ हजार ८ सय ३७ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।
संक्रमण दरमा लगातार कमी आउने र संक्रमणमुक्त हुनेको संख्या लगातार माथि रहेकाले नेपालमा सक्रिय संक्रमितको संख्या पनि घट्दो छ। अहिले २६ हजार १ सय २ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।