PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हराउनेहरुको कथा : भेटिँदा कोही सासरहित त कोही साससहित, कोही सधैं गुमनाम



सविन ढकाल

हराउनेहरुको कथा : भेटिँदा कोही सासरहित त कोही साससहित, कोही सधैं गुमनाम
प्रतीकात्मक फोटो

काठमाडौं : खोज्दै जाँदा कोही मृत अवस्थामा भेटिन्छन् त कोही आफ्नै स्वार्थले 'सम्पर्कविहीन'। परिवारलाई नै घुर्की लगाउन घरबाट सुटुक्क निस्कनेहरु पनि हुन्छन्। कतिचाहिँ ललाइफकाइमा पर्छन् र सीमापार बिक्रीका लागि पुर्‍याइन्छन्। नभेटिएका मानिसमाथि प्रहरीका अनुसन्धानमा देखा पर्ने दृश्य यिनै हुन्। केही भेटिन्छन्, केही कहिल्यै भेटिन्नन्। वर्षौं बेखबर हुनेहरु पनि छन्। धेरै मानिस हराउँछन् तर भेटिन्छन् थोरै।

+++

माघ २० गते बिहान साढे ७ बजे। काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ का २७ वर्षीय शिशिर भण्डारी घरबाट निस्किए। भीसेनगोलामा साथीसँग मिलेर अर्गानिक खाद्यान्न पसल सञ्चालन गर्ने उनी त्यसपछि घर नै फर्किएनन्।

परिवारले आफ्नो छोरा हराएको भन्दै सोही दिन प्रहरीमा उजुरी दिए। प्रहरी खोजीमा लाग्यो। उनले प्रयोग गर्ने मोबाइल पनि अघिल्लो दिनमात्र 'हराएको' जानकारी प्रहरीले पाएको थियो। अघिल्लो दिन उनले आफ्नो साथीलाई मोबाइल अर्कैले लगिदिएको भन्दै आमाको मोबाइलबाट फोन गरेका थिए। त्यही 'क्लु'बाट अनुसन्धान गर्दा मोबाइल लैजाने शिशिरका साथीलाई प्रहरीले नियन्त्रणमा लियो। पक्राउ परेका युवकले शिशिरको मोबाइल लगेको स्वीकार पनि गरे। तर, उनले लगेको त्यो मोबाइल अरुलाई नै दिएको प्रहरीमा बयान दिए।

यता प्रहरी भने शिशिरको खोजीमा लागिरह्यो। बुधबार प्रहरीलाई कसैले खबर गर्‍यो- एउटा शव वाग्मतीको किनारामा छ। नभन्दै सुन्दरीजलको सुन्दरीमाई मन्दिर नजिकै सडकबाट करिब ७० मिटर तल वाग्मती किनारमा एक युवकको शव थियो। दुई ढुंगामा च्यापिएको अवस्थामा भेटिएको शव प्रहरीले निकाल्यो। घाँटीको भागमा केही काटिएको/ प्वाल भएको वा केहीले खाएको जस्तो चोट देखियो। शवको सनाखत गर्दै जाँदा ६ दिनअगाडि हराएका शिशिर नै भएको खुल्यो।

'६ दिनअघि हराएको भन्दै बौद्ध प्रहरीमा उजुरी परेको थियो। उनै युवकको शव भएको खुल्यो। थप अनुसन्धान गरिरहेका छौं,' महानगरीय प्रहरी परिसरका एसपी दिनेश मैनालीले भने।

शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइयो, रिपोर्ट आउन बाँकी छ। प्रहरी शिशिरको मृत्युको कारण खोजिरहेको छ। हराएका शिशिर त भेटिए अब उनको मृत्युको कारण थाहा छैन। त्यसको खोजीमा जुटेको प्रहरीले कारण पत्ता लगाउला त?

शिशिरको जसरी शव भेटियो, त्यस्तै दृश्य मकवानपुरमा पनि तीन दिनअघि फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासका अनुसार शव इन्द्रसरोवर गाउँपालिकाको देउराली डाँडामा भेटिएको हो।

उक्त शव ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका-५ टीकाथलीका ३४ वर्षीय प्रज्वल पोखरेलको रहेको खुल्यो। उनको शरीरमा पनि चोट देखिएको छ। मोबाइल समेत साथमा नलिई ट्याक्सी लिएर आधा बाटोसम्म उनी पुगेको पुष्टि भयो तर त्यसपछि उनको कसरी मृत्यु भयो खुलेको छैन।

उनी पनि हराएको भन्दै प्रहरीमा उजुरी परेको थियो। मृत अवस्थामा भेटिएको शव उनकै हो भन्ने पछि सनाखत भयो।

+++

गत बुधवार दिउँसो रजनी अग्रवाल महानगरीय प्रहरी वृत्त मालीगाउँ पुगिन्। आफ्नो माइतीसँग ह्वाट्सएपमा भएको ६ मिनेट कुराकानीको विवरण देखाउँदै आफूले दिएको निवेदन फिर्ता गर्न प्रहरीलाई भनिन्। पुस २३ गते उनी सिंगो माइती खलक 'गायब' भएको उजुरी लिएर प्रहरीकहाँ पुगेकी थिइन्।

बुधबार ३४ दिनपछि ओमप्रकाश अग्रवालको परिवार सम्पर्कमा आएको रजनीले प्रहरीमा जानकारी दिएकी हुन्। पुस २२ गते भारत पुगेका अग्रवाल परिवारका एक सदस्य बिहीबार काठमाडौं आइसकेका छन्। परिवार नै एकाएक सम्पर्कविहीन हुँदा प्रहरीलाई खोजी गर्न चुनौती थपिएको थियो। आर्थिक कारणसँग जोडिएको अपराध शृंखला लगातार बढिरहेको अवस्थामा प्रहरीका लागि चुनौती थियो अग्रवाल परिवारको केस। त्यसमाथि धेरै बैंक र व्यक्तिसँग जोडिएको रकमको कारोबारको जालो।

अग्रवाल परिवारले झन्डै तीन दशकयता काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने रिटेल शप ग्रीनलाइन सञ्चालन गर्दै आएको थियो।

'उहाँहरु सम्पर्कमा आउनुभएको छ। उहाँको परिवारका सदस्यले नै काठमाडौंमा आएको जानकारी प्रहरीमा पुगेर दिनुभएको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले भने।

उनीहरुको भित्री कथा आइसकेको छैन। चर्को ऋणले उनीहरु 'गायब' थिए या अन्य कारण? एकाएक सम्पर्कमा आउनुको कारण के थियो? विस्तारै सार्वजनिक होला। तर, यस प्रकरण शिशिर र प्रज्वलको जस्तो दुखान्तमा टुंगिएन।

+++

शिशिर, प्रज्वल र अग्रवाल परिवार गायब र भेटिने अवस्थाका दृष्टान्त मात्र हुन्। प्रहरीका ढड्डामा समेटिने हराएपछि लास र साससहित भेटिएका दुई घटना। नेपाल प्रहरीको तथ्यांकमा यस्ता धेरै घटना छन् जहाँ हराएका उजुरीको चाङका सामुन्ने ज्यादै न्यून लाग्छ - सग्लै भेटिएका सन्दर्भहरु। प्रहरीका अनुसार यसरी हराएका मध्ये आधामात्र भेटिने गरेका छन्- सास सहित या सासरहित।

बर्सेनि हराउँछन् ७ हजारभन्दा धेरै
चालु आर्थिक वर्षको ५ महिनामा देशभर ५ हजार ७ सय २४ जना मानिस हराएका छन्। जसमा १ हजार ३ सय ११ जना पुरुष, २ हजार ९ सय ९८ जना महिला। हराउने बालकको संख्या ३ सय २९, बालिका १ हजार २१। र, बाँकी जेष्ठ नागरिक। यसबीच भेटिनेको संख्या २ हजार ३ सय ४ देखिन्छ। अर्थात्, हराएका मध्ये भेटिनेको संख्या आधाभन्दा न्यून।

आर्थिक वर्ष २०७४/७५ मा ८ हजार २ सय ७७ जना मानिस हराउँदा २ हजार १ सय ९४ जनामात्र फेला परे। त्यस वर्ष १ हजार ६ सय ८६ पुरुष हराए भने ४ हजार २ सय ६१ जना महिला। हराउने बालक ९ सय २३ र १ हजार ४ सय ७ बालिका। भेटिने संख्यामा पुरुषको ३ सय ७२ र महिलाको ८ सय ५ जना। भेटिएका बालकको संख्या ४ सय ७ र बालिकाको ६ सय १० जना।

आर्थिक वर्ष २०७५/७६ मा ११ हजार ६ सय ८२ जना मानिस हराएका थिए। जसमा बालक १ हजार ५१, बालिका २ हजार ३ सय ७१ रहे। जुन हराएका मानिसको तुलनामा ३० प्रतिशत हो। यसरी हराएका मानिसमध्ये ४ हजार ६ सय ३४ जना भेटिएनन्। अर्थात् झन्डै ६० प्रतिशत मानिस अझै बेपत्ता छन्। ८ सय २५ जना बालक र १ हजार ७ सय १५ जना बालिका भेटिए। यसरी भेटिनेमा सबैभन्दा धेरै बालबालिका नै छन्। भेटिएकामध्ये ५० प्रतिशत बालबालिका रहेको देखिन्छ।

आर्थिक वर्ष २०७६/७७ मा ८ हजार ६ सय ९८ जना मानिस हराए। जसमा बालिका १ हजार ८ सय ९८ र बालक ८ सय ३१ जना थिए। तथ्यांकअनुसार हराउने बालबालिकाको प्रतिशत ३१ प्रतिशत हो। हराएकामध्ये फेला पर्नेको संख्या ४ हजार ३ सय ९७ रहेको छन्। फेला पर्ने बालकको संख्या ६ सय ९० र बालिकाको १ हजार ५ सय २९। त्यस वर्ष पनि भेटिनेमा बालबालिकाको संख्या आधाभन्दा धेरै हो।

आर्थिक वर्ष २०७७/७८ मा ११ हजार २ सय ९३ जना मानिस हराएका छन्। जसमा बालक ८ सय ४९ र बालिका २ हजार ८ सय ९ छन्। यस वर्ष पनि फेला पर्ने मानिसको संख्या आधाभन्दा कम नै रह्यो। ५ हजार ९५ जना मानिस फेला परेका थिए। जसमा सबैभन्दा धेरै बालबालिका नै भेटिएको देखिएको छ। ७ सय १२ जना बालक र १ हजार १ सय ६४ जना बालिका फेला परेका हुन्।

हराएपछि खोज्न निवेदन दिने तर भेटिएपछि जानकारी नगराउँदा हराउने संख्या धेरै देखिएको प्रहरीले जवाफ दिने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell