PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

बराबरीमा रोकियो रियल मड्रिड, एट्लेटिको मड्रिडले गेटाफेलाई हरायो



पहिलोपोस्ट

बराबरीमा रोकियो रियल मड्रिड, एट्लेटिको मड्रिडले गेटाफेलाई हरायो
Photo: Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड भिल्लारियलसँग बराबरीमा रोकिएको छ। एल मड्रिगल स्टेडियममा सम्पन्न खेलमा लिग लिडर रियल मड्रिड घरेलु टोली भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिएको हो।

खेलमा वेल्सका खेलाडी ग्यारिथ बेलले रियल मड्रिडमा लामो समयपछि पुनरागमन गरे। यसअघि उनले २८ अगस्टमा रियल बेटिसविरुद्ध खेलेका थिए। पहिलो हाफको सुरुमा भिल्लारियलका अर्नउट डन्जुमाको प्रहार गोलपोस्टमा ठोकिएर बाहिरिएको थियो। त्यस्तै मड्रिडका लुका मोड्रिचको प्रहार पनि बारमा ठोक्किएको थियो। त्यसबाहेक पनि दुबै टोलीले राम्रा अवसरहरु बनाएर पनि सदुपयोग गर्न सकेनन्।

त्यस्तै गएराति नै सम्पन् अर्को खेलमा एट्लेटिको मड्रिडले गेटाफेमाथि ४-३ गोलअन्तरले जित निकाल्यो। एन्जेल कोरेराको गोलमा १९ औं मिनेटमा अग्रता बनाएको एट्लेटिकोका लागि दोस्रो गोल म्याथिउस कुन्हाले २७ औं मिनेटमा गरे। उता गेटाफेका बोर्जा मेयोररले ३० औं मिनेटमा गोल फर्काए। त्यस्तै ३७ औं मिनेटमा एनेस उनलले पेनाल्टीमा पाएको अवसरमा गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै एट्लेटीकोका थोमस लेमारले ह्याण्डबल गरेपछि ४२ औं मिनेटमा गेटाफेले फेरि पेनाल्टीको अवसर पायो। जसमा एनेसले फेरि गोल गर्दै गेटाफेलाई अग्रता दिलाए।

तर, फेरि एट्लेटिकोका लागि पहिलो हाफको इन्ज्युरी समयमा कोरेराले नै फेरि गोल थप्दै खेल बराबरीमा ल्याए। र, स्टेडियो वान्डा मेट्रोपोलिटानो स्टेडियममा सम्पन्न खेलको पहिलो हाफमा घरेलु टोली एट्लेटिको र गेटाफ ३-३ को बराबरीमा रोकिए।

दोस्रो हाफको सुरुमै एट्लेटिको १० खेलाडीमा समेटियो। खराब ट्याकल गरेपछि ५८ औं मिनेटमा फिलिपे रेडकार्ड खाँदै बाहिरिए। यद्यपि जोआओ फिलिक्सको पासमा ८९ औं मिनेटमा मारिओ हेरमोसोले गोल गरे जुन एट्लेटिकोको जितका लागि निर्णायक बन्यो।

यो गएरातिको खेलसँगै २४ खेलबाट ५४ अंक जोडेको रियल मड्रिड शीर्षस्थानमा कायम छ भने २३ खेलबाट ३९ अंक जोडेको एट्लेटिकोले बार्सिलोनालाई पछि पार्दै चौथो स्थानमा उक्लिएको छ। त्यस्तै भिल्लारियल छैठौं र गेटाफे १५ औं स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell