PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

ए डिभिजन लिगमा आज दुई खेल, 'मिडल टेबल'का टिमलाई जितको दवाब



पहिलोपोस्ट

ए डिभिजन लिगमा आज दुई खेल, 'मिडल टेबल'का टिमलाई जितको दवाब
सातदोबाटो युथ क्लब (सेतो जर्सी) र एपीएफ (पहेँलो जर्सी) प्रतिस्पर्धा गर्दै। फाइल फोटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लब भिड्ने छन्। खेल दिउँसो १ बजे सुरु हुनेछ। एनआरटी १३ अंक जोडेर तालिकाको सातौं स्थानमा छ भने हिमालयन शेर्पा क्लब ११ अंक जोडेर तालिकाको आठौं स्थानमा छ। आजको खेल जितेको खण्डमा एनआरटी १६ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लने छ भने शेर्पाले जित निकाले छैठौं स्थानको संकटा क्लबसँग अंक बराबरी गर्नेछ।

शेर्पाका प्रशिक्षक युग किशोर राई लिगमा एउटा खेलमात्र गुमाए पनि अंकतालिकामा ठूलो प्रभाव पर्ने भएकाले जितको दवाब हुने बताउँछन्।

'टेबल चार्ट हेर्दा एक मिस हुने बित्तिकै एकदमै तल पुग्ने अवस्थामा छ। एकदम गाह्रो छ। एक मिस गर्ने पनि मौका छैन। १० पोजिसनमा सकेका थियौं अघिल्लो सिजन। यसपटक त्यो भन्दा राम्रो हुन्छ,' प्रशिक्षक राईले भने, 'राम्रो फुटबल पस्किने छौं।'

त्यस्तै आजै हुने दोस्रो खेलमा एपीएफ क्लब र संकटा क्लब भिड्नेछन्। खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुनेछ। लिगमा खराब सुरुवात गरेको एपीएफले विदेशी खेलाडी भित्र्याएपछि प्रदर्शनमा सुधार गरेको छ। नवौं चरणपछिको खेलमा मोफसलको आहा रारा गोल्डकपको उपाधि उचालेको एपीएफ उच्च मनोबलका साथ मैदानमा उत्रने छ।

एपीएफका सहायक प्रशिक्षक रत्नकाजी महर्जन आफ्नो टिमको प्रदर्शन क्रमिक रुपमा सुधार आइरहेको बताउँदै संकटा क्लबको खेललाई राम्ररी नियालेको बताउँछन्।

'पहिलो म्याचबाट अहिलेसम्म धेरै सुधार भको छ। संकटाको खेललाई नियालेका छौं,' प्रशिक्षक महर्जनले भने, 'सबैजना राम्रो छ। सेल्फ मोटिभेट छ। ब्यालेन्स्ड छ। हामीले लक्ष्य ४ देखि ८ सोचेको थियो। सकेसम्म सुपर ६ मा पुग्ने कोशिष छ। पहिलो खुड्किला पार गरेपछीमात्र अगाडिको सोच्नेछौं।'

उनले आहारारा गोल्डकपमा इतिहास बनाएको बताउँदै त्यसले खेलाडीलाई मोटिभेट गरेको दाबी गरे।

एपीएफ ९ खेलबाट १० अंक जोड्दै तालिकाको नवौं स्थानमा छ। आजको खेलमा जित निकाल्न सके सातौं स्थानको न्युरोड टिम एनआरटीसँग अंक बराबरी गर्नेछ।

त्यस्तै जारी सिजन उत्कृष्ट लयमा देखिएको संकटा क्लब ९ खेलबाट १४ अंक जोड्दै अंकतालिकाको छैठौं स्थानमा छ। आजको खेलमा जित निकाल्न सके संकटाले चौथो स्थानमा रहेको थ्री स्टार क्लबसँग अंक बराबरी गर्न सक्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell