
अहिले टिकटकदेखि सामाजिक सञ्जालमा एक गीत निकै भाइरल छ। गीतको बोल हो, ‘कच्चा बादाम’। बंगाली भाषाको यो गीतको चर्चा अहिले विश्वभर छ। साधारण मानिसदेखि सेलिब्रेटीहरुले समेत यही गीतमा अभिनय तथा नृत्य गरेर सामाजिक संजालमा भिडियो राखिरहेका छन्।
‘कच्चा बदाम’गीत कुनै नाम चलेका गायकले गाएका भने होइनन्। सामान्य बादाम व्यापारीले ‘मुम्फली’ बेच्ने क्रममा गाएको गीत हो यो। जुन पछि भाइरल हुन पुग्यो र विभिन्न भाषामा समेत गाउन थालियो।
गीत गाउने हुने भुवन बड्याकर। उनी पश्चिम बंगालको कुरालजुरी गाउँक बासिन्दा हुन्। साइकलमा झोला बोकेर सडकका चोकमाकाचो बादाम बेच्नु उनको काम हो। दैनिक करिब चार केजी बादाम बेचेर २०० देखि २५० भारतीय रुपैयाँ कमाउँदै पाँच जनाको परिवार धान्दै आइरहेका उनको जीवन अहिले फेरिएको छ।
उनले बादाम बेच्न थालेको १० वर्ष भयो। गीत गाउँदै ग्राहकलाई बादाम किन्न आकर्षित गर्थे उनी। भुवनले बादाम बेच्नकै लागि सिर्जना गरेको गीत हो : कच्चा बादाम।
कच्चा बादाम जनजाती बाउलको लोकगीतमा आधारित छ। जुन गीतले सानो गाउँमा बस्ने बड्याकरलाई रातारात ‘स्टार’ बनाइदियो।
कसरी भाइरल भयो गीत ?
उनले बादाम बेच्दै गाएको भिडियो नोभेम्बर २०२१ मा सामाजिक संजालमा कसैले हालेको थियो। त्यसपछि उनको गीत गाउने शैली भाइरल भयो। गीतलाई रुचाउन थालेपछि भारतीय गायक तथा संगीतकार नज्मु रिचेकले कच्चा बादाममा ‘बिट’ राखेर ‘रिमिक्स’ गरे। त्यसपछि उक्त गीतमा धेरैले भिडियो बनाएर इन्स्टाग्राममा राख्न थाले।
गीतको सबैतिर चर्चा भएसँगै भुवनको खोजी हुन थाल्यो। एक सामान्य बादाम व्यापारी भुवनलाई मिडियाले फलो गर्न थाले। अन्तर्वार्ता लिनेदेखि गीत रेकर्ड गर्नेको अफर आउन थाल्यो।
अन्तत: उनको स्वरमा नै गीत रेकर्ड भयो। संगीतकार तथा र्यापर रोन–ई ले ‘रिकम्पोज’ गरेर गीतलाई रेकर्ड गराए। २६ डिसेम्बर २०२१ मा ‘कच्चा बदाम’ अफिसियल गीत सार्वजनिक भयो। गीतमा भुवनसँगै र्यापर रोन–ई र प्रज्ञा दत्तको स्वर रहेको छ। भिडियोमा बड्याकर कालो चस्मा लगाएर फरक अवतारमा देखिन्छन्, रकस्टार झै। भुवनलाई थाहा छैन। उनको भिडियो कसले सामाजिक संजालमा अपलोड गर्यो। उनी आफूले गीत भाइरल भएपछि पाएको माया देखेर मख्ख छन्। तर, लोकप्रियता कमाएरमात्रै परिवारको जिम्मेवारी बहन गर्न गाह्रो हुने उनले बुझेका छन्। उनी आफ्नो आर्थिक अवस्था सुधार गर्न अझै काम गर्नुपर्ने बताउँछन्। गीतले नाम कमाएपछि उनको बादाम व्यापार पनि बढेको छ।
भन्छन्, 'मलाई परिवारको लागि घर बनाउनुछ। त्यसको लागि पैसा जम्मा गर्दैछु।'