PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

गठबन्धन भत्काउन देशी विदेशी शक्तिले चलखेल गरिरहेको प्रचण्डको आरोप, 'एमसीसी' अनुमोदन गर्न गठबन्धन नबनेको टिप्पणी



पहिलोपोस्ट

गठबन्धन भत्काउन देशी विदेशी शक्तिले चलखेल गरिरहेको प्रचण्डको आरोप, 'एमसीसी' अनुमोदन गर्न गठबन्धन नबनेको टिप्पणी

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानलाई अझै संशोधन गरेर सबै जातजातिलाई समेट्नु पर्ने आवश्यकता रहेको बताएका छन्। जनयुद्ध दिवसको अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले १० वर्षे जनयुद्धले सामन्ती राजतन्त्र ढालेर गणतन्त्र ल्याए पनि अझै पनि काम गर्न बाँकी रहेको टिप्पणी गरे। 

'त्यसरी चल्ने गरेको राज्य प्रणालीमा अब सबै तह तप्काको प्रतिनिधित्व हुने गरी नयाँ आधारशीला तयार भयो। हामीले यसैलाई पूर्ण भनेका छैनौं', उनले भने, 'अझै परिमार्जित गर्नुछ। संविधानलाई अझै संशोधन गरेर सबै जातजाति, भाषाभाषी, क्षेत्र वर्ग समुदायलाई अझै एकतावद्ध गर्नुछ।'

प्रचण्डले परिवर्तनलाई धरापमा पार्ने र माओवादी आन्दोलनलाई कमजोर पार्ने प्रयासहरु नयाँ ढंगले अगाडि आएको बताए। 

'जनयुद्ध दिवस मनाउँदै गर्दा एक पटक पुन: संकल्प लिनुपर्नेछ। राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता, संविधानका प्रगतिशील प्रावधानहरुको रक्षा गर्दै अगाडि जानु छ भन्ने संकल्प गरेर अगाडि बढ्नु छ,' उनले भने, 'यस साल हाम्रो लागि अझ विशेष छ। प्राप्त अधिकारको रक्षा र राष्ट्रिय स्वाधिनताको सुदृढका लागि फेरी एकपटक नयाँ संकल्प गर्नुछ।'

यसैबिच प्रचण्डले सत्ता गठबन्धन टुटाउने र सरकार गिराउने चलखेल भइरहेको समेत दाबी गरे। 

‘पराजित प्रतिक्रान्तिकारी प्रवृत्ति चुप लागेर बसेको छैन। त्यसले अझै पनि प्रतिगमन गराउने नै कसरत चलाइराखेको छ र त्यसलाई मलजल गर्न देशभित्र र बाहिर विभिन्न खालका प्रतिक्रियावादी शक्तिहरु सक्रिय नै छन्,’ उनले भने।  प्रतिनिधिसभा विघटन गर्ने र प्रतिगमनलाई पराजित गरे पनि प्रतिगमनकारी शक्ति चुप नलागेको भन्दै एमाले अध्यक्ष केपी ओलीप्रति नाम नलिइ कटाक्ष गरे। 

'अहिले कुनै तरिकाले प्रतिगमन विरोधी आन्दोलनका कारण त्यो प्रतिक्रियाबाट पैदा भएको यो गठबन्धनलाई टुटाउनको निम्ति, यो सरकार गिराउनको निम्ति, निर्वाचन प्रक्रियालाई बिथोल्नको निम्ति अनेक खालका प्रपन्चहरु भइराखेका छन्। तपाईं हामीले देखिराखेका छौं,’ उनले अगाडि भने, 'संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको रक्षा र राष्ट्रियताको रक्षाका लागि आन्दोलित हुँदै यो गठबन्धन बनेको छ।'

गठबन्धन कुनै देश विशेषसँग गरेका सहमतिका आधारमा नबनेको उनको भनाइ थियो। पछिल्लो समय अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग भएको एमसीसी कम्प्याक्टलाई संसदबाट अनुमोदन गर्ने विषयमा गठबन्धन भित्र फरक मत चुलिँदै गएको छ। अर्कातर्फ अमेरिकाले कम्प्याक्ट अनुमोदन गर्न दवाव दिँदै आएको छ। प्रचण्डले एमसीसीको नाम नलिइ त्यसलाई अनुमोदन गर्न गठबन्धन नबनेको टिप्पणी गरे।

'हामीले कुनै देश विशेषसँग गरेका सहमति सम्झौता या परियोजना या आर्थिक सहयोग लेनदेन त्यसको आधारमा गठबन्धन  बनाएको होइन,' उनले अगाडि भने, 'कुनै खास परियोजना गर्ने या नगर्ने भन्ने आधारमा यो गठबन्न बनेको होइन। आज कसैले कुनै एउटा परियोजनासँग सम्बन्धित गराएर गठबन्धनको भाग्य र भविष्यबारे सोच्छ भने त्यो हाम्रो ऐतिहासिक धरातल भत्काउने जस्तै हुन जान्छ।' 

प्रचण्डले गठबन्धन सुदृढ हुँदै जाने या कमजोर हुँदै जाने भन्ने कुरा जुन सैद्धान्तिक र राजनीतिक मान्यतामा खडा भएको हो, त्यही मान्यतामा रहेर गठबन्धनलाई अगाडि बढाउनुपर्ने र त्यसैमा निर्भर हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell