PahiloPost

May 14, 2024 | १ जेठ २०८१

पर्सामा चुनावी सरगर्मी बढ्यो, वीरगंजमा सम्भावित उम्मेद्वारबारे के छ चर्चा?



राधेश्याम पटेल

पर्सामा चुनावी सरगर्मी बढ्यो, वीरगंजमा सम्भावित उम्मेद्वारबारे के छ चर्चा?

वीरगंज : सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै पर्सामा चुनावी सरगर्मी बढेको छ। मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगंज तथा तीन नगरपालिका र अन्य १० वटा गाउँपालिका गरी १४ वटा पालिकामा चुनावी सरगर्मी बढेको नेता कार्याकर्ताहरुले बताउँछन्।

गाउँभन्दा अहिले शहर बजारमा चुनावी सरगर्मी बढेको छ। बिहानदेखि बेलुकासम्म नेता कार्यकर्ताहरु घरदैलो कार्यक्रम तथा दलका अगुवा कार्यकर्ताहरु छलफलमा व्यस्त हुने गरेका छन्।

वीरगंजमा विभिन्न राजनीतिक दलका नेताहरुबीच चुनावी प्रतिस्पर्धामा भाग लिने रस्साकसीको चर्चा शुरु भएको छ। वीरगंज महानगरमा पुरानै अनुहार दोहोरिने तथा केही नयाँ अनुहार पनि आउने चर्चा छ।

वीरगंजको मेयरमा पुनः जनता समाजवादी पार्टी (जसपा)बाट मेयर विजय कुमार सरावगी, नेपाली कांग्रेसबाट अजय कुमार द्विवेदी र राजेन्द्र बहादुर अमात्यमध्ये एक जनाले चुनाव लड्ने चर्चा छ। नेकपा (एमाले)बाट भने बसरुद्दीन अन्सारी तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर भर्खरै एमालेमा प्रवेश गरेका राजेशमान सिंहमध्ये एक जनाको उम्मेद्वारी पर्ने सम्भावना छ।

त्यसैगरी, नेकपा (माओवादी केन्द्र)बाट रहबर अन्सारी तथा लोसपाबाट नयाँ उम्मेद्वारलाई टिकट दिइने पर्साको राजनीतिक वृतमा चर्चा छ।

आगामी चुनावमा एमाले र लोसपाबीच कार्यगत एकता हुने तथा जसपा, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पनि कार्यगत एकता हुने चर्चा छ। यदि यसरी एकता भए कांग्रेस, एमाले-लोसपा, जसपा-माओवादी केन्द्र-एकीकृत समाजवादी तथा जनमत पार्टीलगायतको दल तथा गठबन्धनबाट आगामी चुनावमा उम्मेद्वारहरु प्रतिस्पर्धामा उत्रिने सम्भावना देखिएको छ।

अहिले पार्टीमा आएको उथलपुथल र राजनीतिक उतारचढावका कारण यसअघिको भन्दा आगामी निर्वाचनको नतिजामा उल्लेख्य परिवर्तन हुन सक्ने अनुमान लगाउन सकिन्छ।

अघिल्लो चुनावको यस्तो थियो वीरगंजको नतिजा

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वीरगंजको मेयरका लागि रस्साकस्सीका बीच तत्कालिन संघीय समाजवादी फोरमका उम्मेद्वार विजय कुमार सरावगी विजयी भएका थिए।

उनले १९ हजार ३ सय ९३ मत ल्याएका थिए भने कांग्रेसका अजय कुमार द्विवेदीले १७ हजार १ सय ९७ मत, तत्कालिन राष्ट्रिय जनता पार्टीका राजेशमान सिंहले १२ हजार १ सय ६५ मत, तत्कालिन लोकतान्त्रिक पार्टीबाट विमल प्रसाद श्रीवास्तवले ८ हजार ७ सय १ मत, एमालेबाट बसरुद्दिन अन्सारीले ८ हजार ६ सय ९९ र माओवादी केन्द्रबाट उम्मेद्वार बनेका रहबर अन्सारी सबैभन्दा पछि पर्दै ८ हजार ३ सय ५ मतमै सीमित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell