
काठमाडौं : नेकपा (एमाले)का नेता विष्णु रिमालले सत्ता पक्षले महाअभियोगको सिलसिलाको बिजारोपण गरेर अत्यन्त हानिकार, अनुचित र अनुत्तरदायी काम गरेको बताएका छन्। सत्ता पक्षले प्रधान न्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्ता गराएपछि रिमालले ट्विटरमार्फत यस्तो टिप्पणी गरेका हुन्।
उनले यो कार्य बैशाख ३० मा निर्धारित स्थानीय तहको चुनाव रोक्ने षड्यन्त्रको एउटा अंग हुनसक्ने पनि बताएका छन्। अहिलेको अवस्थामा सर्वोच्च अदालतलाई फेरि विवादमा ल्याउने र हुँडल्ने काम गरिएको उनको भनाइ छ।
उनले भनेका छन्, ‘पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षका बीचको सम्बन्धमा रहेको तनाव शिथिल हुँदै गरेको थियो। फेरि तनाव बढाउने र तनावग्रस्त बनाएर वातावरण बिथोल्ने षड्यन्त्र यसमा देखिन्छ। यो लोकतन्त्रका विरुद्ध धेरै गम्भीर षड्यन्त्र हो। अर्को भाषामा भन्दा यो गम्भीर षड्यन्त्रको प्रकटीकरण हो।’
१. अहिलेको अवस्थामा सर्वोच्च अदालतलाई फेरि विवादमा ल्याउने र हुँडल्ने काम गरिएको छ। सत्ता पक्षले महाअभियोगको सिलसिलाको बिजारोपण गरेर अत्यन्त हानिकार, अनुचित र अनुत्तरदायी काम गरेको छ । यो कार्य वैशाख ३० मा निर्धारित स्थानीय तहको चुनाव रोक्ने षड्यन्त्रको एउटा अंग हुनसक्छ।
— Bishnu Rimal (@BishnuRimal) February 13, 2022
यो कदम सर्वोच्च अदालतलगायत राज्यका अंगहरूलाई आफ्नो स्वतन्त्र संवैधानिक भूमिकामा क्रियाशील हुन नदिने र चर्को दबाब तथा नियन्त्रणमा राख्न खोज्ने सत्ताधारीहरूको प्रयास भएको उनको भनाइ छ।
‘परमादेश जारी गरेर असंवैधानिक रूपमा एमालेलाई सत्ताबाहिर पुर्याउँदा पनि अदालतप्रति यिनीहरू सन्तुष्ट हुन नसक्नु झनै गम्भीर कुरा हो,’ उनले भने।
आज बिहान सत्तारुढ दल नेपाली कांग्रेसबाट पुष्पा भुसाल, नेकपा (एकीकृत समाजवादी)बाट जीवनराम श्रेष्ठ र नेकपा (माओवादी केन्द्र)का देव गुरुङको प्रस्तावमा जबराविरुद्ध महाभियोग दर्ता भएको हो। बिहान ११ बजेर १० मिनेट जाँदा महाभियोग दर्ता भएको हो।