
काठमाडौं : नेकपा एमालेले निस्कासन गरेका १४ सांसद सहितको अन्य दुई मुद्दाको आज पनि सुनुवाइ भएन।
बिहान न्यायाधीशद्वय इश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा पेशी तोकिएको थियो। कोरोनाको संक्रमण देखाउँदै प्रदेश नम्बर ५ का मुख्य न्यायाधीवक्ता कृष्ण सुवेदीले निवेदन दिएकाले पेशीबाट नै हटाइएको हो। उनलाई रुघाखोकी र ज्वरोसमेत आएको तथा कोभिड १९ का लक्षण देखिएको भन्दै पेशीबाट हटाउन निवेदन परेको थियो।
दुई न्यायाधीशको इजलासले उक्त मुद्दा चाँडो टुङ्ग्याउनका लागि पेशी तोक्न आदेश दिएका छन्।
'विवादित विषयको महत्वपूर्ण र संवेदनशीलताका दृष्टिले यस विवादमा छिटोछरितो रुपमा सुनवाई मानसिव देखिएकाले सोमवार बाहेक अन्य कुनै दिन पेशी तोकी लगाउका निवेदन समेत लगाउमा राखि यथाशिघ्र सुनवाइका लागि पेश गर्नु,' आदेशमा भनिएको छ।
एमाले अध्यक्ष ओलीका तर्फबाट वारेस सुमित्रा पाण्डेले गत भदौ १६ गते सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध छुट्टाछुट्टै तीन रिट निवेदन दर्ता गरेकी थिइन्।
आजैमात्र प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा महाभियोग दर्ता भएको छ। उनीविरुद्ध महाभियोग हुनु र यस मुद्दामा पेशी तोकिने दिन एकै पर्नुलाई महत्वका साथ हेरिएको थियो।