
बुटवल : नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको आह्वानमा पार्टीका भातृ संगठनहरुले बुटवलमा एमसीसी विरुद्ध प्रदर्शन गरेका छन्।
भातृ संस्थाहरुको संयुक्त आयोजनामा एमसीसी राष्ट्रिय हित विपरीत रहेको भन्दै आइतवार बुटवलमा विरोध प्रदर्शन गरिएको हो।
बुटवलमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले एमसीसी सम्झौता राष्ट्रिय हितमा नरहेकाले कुनै पनि हालतमा स्वीकार्न नहुने बताए। उनले सम्झौता लागू गराउन अमेरिकाले नेताहरुलाई धम्की दिएकोमा आपत्ति जनाउँदै अमेरिकी स्वार्थ पूरा गर्न नेपाली जनता तयार नभएको बताए।
बुटवल ट्राफिक चौकमा भएको विरोध प्रदर्शनमा युवा संघ नेपालका केन्द्रीय सचिव हिमाल थापाले एमसीसी परियोजनाबारे राजनीतिक र नागरिक तहमा थुप्रै प्रश्नहरु उठेकाले त्यसबारे सहमति नगरिकन संसदनमा लैजान नहुने अडान लिए।
विरोध प्रदर्शनमा एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावाद लगायतका नारा लगाएका थिए।
अनेरास्ववीयूका केन्द्रीय सचिव कृष्ण थापा, युवा संघ रुपन्देहीका अध्यक्ष कृष्ण थापाले बोल्दै एमसीसी परियोजना खारेज गर्न माग गरे। प्रदर्शनमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, केन्द्रीय सदस्य उमा काफ्ले, प्रदेश कमिटी सदस्य हिराध्वज शाह लगायतका नेताहरुको उपस्थिति थियो।