PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

एनएसएलमा टीम संख्या दश: झापा, इलाम र वीरगंज नयाँ टोली



पहिलोपोस्ट

एनएसएलमा टीम संख्या दश: झापा, इलाम र वीरगंज नयाँ टोली

काठमाडौं: नेपाली फुटबलको फ्रेन्चाइज लिग नेपाल सुपर लिगमा तीन टोली थपिएका छन्। अघिल्लो सिजन सात टोली बीच लिग भएकोमा यसपाला दश टोली बीच प्रतिस्पर्धा हुनेछ।

लिगको दोस्रो संस्करण चैतको २६ गतेबाट जेठ ७ गतेसम्म आयोजना हुँदैछ। नेपाल सुपर लिगमा यसपाला १० टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ। थपिएका नयाँ टोलीहरुमा विक्रम थापाको स्वामित्वमा रहेको झापा एफसी, शुहाङ नेम्बाङ र पियुश न्यौपानेको स्वामित्वमा रहेको स्पोर्टिङ इलाम डी मेची तथा अरबिन्द अमात्य, अनिल गुप्ता र अरबिन्द बरालको स्वामित्वमा वीरगंज युनाइटेड एफसी रहेका छन्।

अघिल्लो सिजन विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगडी एफसीले प्रतिस्पर्धा गरेका थिए। अघिल्लो सिजन लिगका सबै खेल दशरथ रंगशालामा गराइएकोमा यसपाला सुरुवाती चरणका खेल पोखरामा र पछिल्ला खेलहरु काठमाडौंमा गराउने तयारी रहेको छ।

एनएसएलको पहिलो संस्करणसँगै नेपाली फुटबलमा पहिलो पटक फ्रेन्चाइज लिग सम्पन्न भयो। अक्सनमा अक्सर क्रिकेटरहरु देखिने गरेकोमा पहिलो पटक फुटबलका खेलाडीहरु देखिए। २० हजारदेखि २ लाख हुँदै खेलाडीहरुले राम्रै पैसा पनि पाए। त्यस्तै विदेशी खेलाडीका रुपमा अफ्रिकाभन्दा बाहिरबाट पनि खेलाडीहरु नेपाल आए। अर्थात युरोपका खेलाडीको खेल कौशल पनि दशरथ रंगशालामा देख्ने अवसर मिल्यो। भलै कोरोनाका कारण दशरथ रंगशालामा दर्शकहरुको उपस्थिति निषेध थियो। दर्शक निषेध गरिए पनि पहिलो संस्करणमै सुपर लिगले नेपाली फुटबल वृत्तमा राम्रै चर्चा कमाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell