PahiloPost

Jun 24, 2026 | १० असार २०८३

महाभियोगबारे एमालेको निष्कर्षः ‘सत्ताको निर्देशनमा संस्था चलाउने प्रयास, असफल बनाउन सशक्त प्रतिवाद’



पहिलोपोस्ट

महाभियोगबारे एमालेको निष्कर्षः ‘सत्ताको निर्देशनमा संस्था चलाउने प्रयास, असफल बनाउन सशक्त प्रतिवाद’

काठमाडौँः प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सत्ता गठबन्धनले न्यायालयलाई आफू अनुकूल चलाउन प्रधानन्यायाधीशमाथि महाभियोग प्रक्रिया अघि बढाएको आरोप लगाएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि आइतबार महाभियोग प्रस्ताव दर्ता भएपछि बसेको आकस्मिक सचिवालय बैठकले महाभियोग न्यायालयमाथिको प्रहार भएको निष्कर्ष निकालेको छ। 

एमालेले महाभियोगलाई असफल बनाउन प्रतिवाद गर्ने पनि निर्णय गरेको छ। 

सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले प्रस्ताव न्यायपालिका र लोकतन्त्रविरुद्धको षड्यन्त्र भएको बताए। पोखरेलले प्रस्ताव दर्ता गर्नु सत्तापक्ष र प्रतिपक्षबीच हालै सुरु भएको संवाद बिथोल्ने प्रयास भएको पनि जिकिर गरे।

पोखरेलले भने, ‘सत्ताको निर्देशनमा संस्था चलाउने उदेश्यबाट महाभियोग आएको छ। यो न्यायालय र लोकतन्त्रमाथिको प्रहार हो। यसमा गम्भीर ढंगले प्रतिवाद गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष छ।’

सचिवालयका अर्का सदस्यले गठबन्धनले नियन्त्रित लोकतन्त्रको अभ्यास गरेकोबारे समीक्षा भएको बताए। प्रतिपक्षबिना प्रस्ताव पारित नहुने अवस्था विद्यमान रहेको अवस्थामा कुनै सल्लाह नहुनुले शंका पैदा गरेको उनको भनाई छ। स्थानीय चुनावलाई प्रभावित पार्ने षडयन्त्र सरकारले गरेको बैठक निष्कर्ष रहेको ती सदस्यले बताए। 

सोमबारको संसदीय दलको बैठकबाट महाभियोगबारे ठोस निर्णय हुने ती सदस्यको भनाई छ।

बैठकले जनतालाई महाभियोगको विपक्षमा उभिन अपिल गर्ने पनि निर्णय गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell