PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ए डिभिजन लिगको दशौं चरण : लिग सक्ने हतारो, शीर्ष स्थान र रेलिगेशनमा केके हुँदैछ?



मुकुन्द घिमिरे

ए डिभिजन लिगको दशौं चरण : लिग सक्ने हतारो, शीर्ष स्थान र रेलिगेशनमा केके हुँदैछ?
च्यासलसँग प्रतिस्पर्धा गर्दै मछिन्द्रका खेलाडी (सेतो जर्सी)। फाइल फोटो एन्फा

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत दशौं चरण आइबारबाट सकिएको छ। र, मंगलबारबाटै सुरु हुँदैछन् एघारौं चरणका खेल। करिब एक महिनापछि फेरि सुरु भएको लिगको १० औं चरण दशरथ रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न भइसकेको छ। यो चरणले शीर्षस्थानमा मछिन्द्रलाई थप सुरक्षित बनाएको छ भने 'रेलिगेशन ब्याटल' रोमाञ्चक बनेको छ।

केके भए दशौ चरणमा?

शीर्षस्थानमा बलियो मछिन्द्र

लिगको सुरुबाटै साबिक विजेता मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लब उपाधि होडमा अघि देखिए। पछिल्ला केही चरणबाट मनाङलाई लगातार पछि पार्दै आएको मछिन्द्रले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ। अर्थात् मछिन्द्रले अर्को खेल जितेको खण्डमा लिग च्याम्पियन बन्ने सजिलो समीकरण पनि बन्छ। यद्यपि यसका लागि मनाङको खेल नतिजाले पनि प्रभाव पार्छ। मछिन्द्रको २६ अंक छ भने मनाङको २० अंक छ।

फ्रेन्ड्सको फुटबलमा फिर्ती

लिगको नवौं चरणसम्म जित निकाल्न नसकेको फ्रेन्ड्स क्लबले दशौ चरणमा आएर पहिलो जित निकाल्यो। त्यो पनि सानदार। ३ अंक जोडेर तालिकाको पुछारमा रहेको फ्रेन्ड्सले ब्रिगेड व्बाइज क्लबमाथि ५-२ गोलअन्तरको सानदार जित निकाल्दा रेलिगेशनको रेड जोनबाट बाहिरियो र जोखिममा परे ५ अंक जोडेको च्यासल युथ क्लब र ६ अंक जोडेको ब्रिगेड ब्वाइज क्लब। लिगमा नवौं चरणसम्म पुग्दा ६ गोल गरेर १५ गोल खाएको फ्रेन्ड्सले दशौ चरणको खेलमा २ गोल खाएर ५ गोल गरेको हो। खेलपछि प्रशिक्षक मृगेन्द्र मिश्रले जितलाई कोभिड भ्याक्सिनसँग तुलना गर्दै पहिलो डोज लगाएर बराबर भएको भन्दै फ्रेन्ड्स क्लबले अब दोस्रो डोज (जित) र बुस्टर डोज पनि लगाउन सके लिगको सुखद सुरुवात गर्नसक्ने बताएका थिए।

रोचक बन्दै रेलिगेशन ब्याटल

रेलिगेशन क्षेत्रको रेड जोनमा ५ अंक जोडेको च्यासल युथ क्लब र ६ अंक जोडेको ब्रिगेड ब्वाइज क्लब छन्। यद्यपि रेलिगेशन क्षेत्रमा अंक दुरी एकदमै कम भएकोले अर्को चरणमा उनीहरुले एउटा मात्रै खेल जितेर जावलाखेल र फ्रेन्ड्स क्लबले पराजय बेहोर्ने हो भने रेलिगेशन क्षेत्रको समीकरण नै फेरिन सक्छ।

मनिषको त्यो चोट

शनिबार मछिन्द्र क्लब र च्यासल युथ क्लबबीच खेल चलिरहँदा राष्ट्रिय टोलीका सदस्यसमेत रहेका मनिष डाँगीले गम्भीर चोट बोक्न पुगे। खेलको ६५ औं मिनेटमा उनी मैदानमा यान्निक केच्चासँग ठोक्किएपछि मैदानमै बेहोस भएर ढलेका थिए। त्यहीँ सीपीआर दिएर उनलाई अस्पताल लगिएको थियो। मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले रंगशालामा डाक्टर नराखेको भन्दै एन्फाको आलोचनासमेत गरेका थिए। हाल मनिषको अवस्था सामान्य रहेको मछिन्द्रले विज्ञप्ति निकाल्दै जनाएको छ।

दुई टिम अपराजित, बराबरीको अर्को प्रतिस्पर्धा

लिगमा अपराजित दुई टोली छन् - लिग लिडर मछिन्द्र क्लब र त्रिभुवन आर्मी क्लब। आर्मी १८ अंक जोडेर तेस्रो स्थानमा छ। जारी लिगमा सबैभन्दा धेरै बराबरी खेल्ने टिममा आर्मी र संकटा क्लब अघि छ। १० खेलमा ६ खेल त आर्मीले बराबरी नै खेलेको छ भने बाँकी ४ खेलमा जित निकालेको छ। त्यस्तै संकटा ६ बराबरी, ३ जित र १ हार बेहोर्दै तालिकाको पाँचौं स्थानमा छ। त्यसबाहेक थ्री स्टार क्लब र न्युरोड टिम (एनआरटी) ले समान ५ खेल बराबरी खेलेका छन्।

लिग सक्ने हतारो

ए डिभिजन लिग सुरु हुँदै गर्दै एन्फा पदाधिकारीले गर्वका साथ भनेका थिए, 'हामीले विकेन्ड कल्चर सुरु गर्‍यौं।' अर्थात् पहिला जस्तो लगातार खेल हुने र खेलाडीले दबाबमा खेल्नुपर्ने अवस्था आउँदैन भन्ने दाबी थियो। तर, १० औं चरणबाट त्यो तहसनहस भएको छ। यसअघि शुक्रबारदेखि सोमबारसम्म खेल भएर बीचमा ग्याप भएकामा यो चरणसँगै एक चरण सकेर एक दिन ग्याप दिएपछि फेरि लिग चलाउने तालिका एन्फाले निकालेको छ। लिगको एउटा क्लबका प्रशिक्षकले खेलाडीलाई छिट्टै बिदाइ गर्नुपर्ने भएकाले आफ्नो टीमको सन्दर्भमा यो निर्णय राम्रो भएको प्रतिक्रिया दिए। 

प्वाइन्ट टेबल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell