PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

भारतमा कमेडियनहरुको भविष्य यसरी पर्दैछ संकटमा



पहिलोपोस्ट

भारतमा कमेडियनहरुको भविष्य यसरी पर्दैछ संकटमा
सबै तस्विर : सीएनएन

गत वर्ष जनवरीमा कमेडियन नलिन यादव पक्राउ परे। उनलाई भारतको एक जेलमा थुनियो। उनी कहिले रिहा हुन्छन् भन्ने थाहा थिएन।

‘यो कसरी र किन भयो मैले बुझ्न सकिनँ,' झण्डै दुई महिना जेल बिताएका २६ वर्षीय स्ट्यान्ड-अप कमेडियन यादवले भने, ‘म सुत्न वा खान पनि सक्दैनथेँ। म निकै चिन्तित थिएँ। मेरो दिमाग रन्थनिएको थियो।’

उनको कथित अपराध थियो- हिन्दू आस्थाको अपमान गरेको आरोप लागेका एक मुस्लिम कमिकको कार्यक्रम उद्घाटन गर्नु।

उनी र अन्य चार जना करिब दुई महिनापछि धरौटीमा रिहा भएका थिए। उनीहरू अझै पनि सो मुद्दामा फैसलाको पर्खाइमा छन् र दोषी ठहरिएमा उनीहरुले तीन वर्षसम्मको जेल सजाय भोग्नुपर्नेछ।

कमेडी संसारभर फस्टाइरहँदा भारतमा भने हिन्दू धर्मको बारेमा जोक गर्नु वा बहुसंख्यक आस्थाको अपमान गर्ने व्यक्तिसँग सम्बन्धित हुनु कानुनी कारबाही भोग्नका लागि पर्याप्त हुने अवस्था देखिएको छ।

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू-राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) सरकारले आलोचनालाई दबाउन र ‘सेल्फ-सेन्सरशिप’लाई प्रोत्साहित गर्न औपनिवेशिक युगका कानुनहरू प्रयोग गरिरहेको विज्ञहरुको भनाइ छ। तर, सोही समयमा भाजपाको हिन्दू-राष्ट्रवादी एजेन्डासँग नजिक रहका दक्षिणपन्थी चरमपन्थी समूहहरूबाट क्रूर टिप्पणी आउँदा अधिकारीहरुले आँखा चिम्लिएको आरोप लगाइएको छ।

भारतको अभिव्यक्ति स्वतन्त्रतामाथिको ‘क्र्याकडाउन’मा फसेका पत्रकार, अभियन्ता र मनोरञ्जनकर्ताहरूको बढ्दो सूचीमध्येका एक हुन् यादव।

एक हिन्दूसमेत रहेका कमेडियन यादवले त्यो रात हिन्दू धर्मको उल्लेख समेत नभएको दाबी गर्छन्।

पक्राउको रात के भएको थियो?

२०२१ जनवरी १ यादवका लागि करिअरको ‘हाइलाइट’ हुनेवाला थियो। एक नवआगन्तुकको रूपमा उनले इन्दोर शहरमा आयोजित अनुभवी मुस्लिम हास्य कलाकार मुनवार फारुकीको शोमा ओपनिङ प्रस्तुति दिँदै थिए। इन्दोर भाजपाको सरकार भएको राज्य मध्य प्रदेशको एक शहर हो।

नलिन यादव


आफ्नो प्रस्तुतिको क्रममा यौन र भारतीय समाजका बारेमा केही जोक सुनाएपछि फारुकीको अभिनय हेर्न बसेको यादवले बताएका छन्।

तर, सोही क्रममा इन्दोरका भाजपा मेयरका छोरा तथा दक्षिणपन्थी समूह हिन्दू संरक्षण मण्डलीका सदस्य एकलव्य सिंह गौरले मञ्चमा पुगेर फारुकीलाई हिन्दू देवताहरूको अपमान गरेको आरोप लगाउन थाले।

सामाजिक सञ्जालमा भाइरल भएको कार्यक्रमको भिडियोमा फारुकीले गौरलाई आफूले मुस्लिमहरूको बारेमा पनि जोक गर्ने गरेको र यसलाई मजाकको रुपमा मात्रै लिनु पर्ने बताएको सुन्न सकिन्छ।

सोही क्रममा यादवले प्रहरीलाई बोलाएर अवस्था साम्य पार्ने प्रयास गरेका थिए।

‘मलाई लाग्यो कि पुलिस आएपछि हामी सुरक्षित हुनेछौँ,’ यादवले सीएनएनलाई भनेका छन्, ‘म मुनवारलाई जोगाउन चाहन्थेँ। तर,यस्तो होला भनेर मैले कल्पना पनि गरेको थिइनँ।’

त्यो रात गौर र उनका तीनजना साथीहरूले फारुकीले हिन्दू देवता र देवीहरूको बारेमा ‘अशोभनीय जोक गरेको’ आरोप लगाउँदै प्रहरीमा उजुरी दिएको अदालतका कागजातमा उल्लेख छन्। उजुरीमा फारुकीले भाजपाका गृहमन्त्री अमित शाहको बारेमा मजाक गरेको पनि भनिएको छ, तर यसबारे थप विवरण दिइएको भने छैन।

फारुकीले कहिले सो कथित जोकगरे भन्ने पनि स्पष्ट छैन।

गौरले उजुरीमा फारुकीले आफ्नो प्रस्तुतिको क्रममा सो जोक गरेको आरोप लगाएका छन्। जबकि उनका दुई साथीहरूले फारुकीले शो शुरु हुनुअघि भनेको बताएका छन्।

ती जोकहरूले गौरको धार्मिक भावनालाई ‘चोट पुर्‍याएको र आक्रोशित बनाएको’ उजुरीमा उल्लेख छ।

यादव र फारुकीसहित अन्य चार जनालाई भोलिपल्ट बिहानै ‘धार्मिक भावनामा चोट पुर्‍याउने उद्देश्यले बोलेको’ र ‘धार्मिक भावनाहरूलाई आघात पुर्‍याउन जानाजानी र दुर्भावनापूर्ण नियत राखेको’ तथा कोभिड-१९ को सामाजिक दूरी तोडेको आरोपमा पक्राउ गरिएको थियो। कोभिड नियमहरू तोडेमा अधिकतम ६ महिना जेल र जरिबाना हुन सक्छ।

मुनवर फारुकी


पटक-पटकको अदालती सुनुवाइपछि अन्ततः भारतको सर्वोच्च अदालतले फारुकीलाई फेब्रुअरी ५ मा ३५ दिनको हिरासतपछि जमानतमा रिहा गरेको थियो। उनलाई पक्राउ गर्दा प्रहरीले उचित प्रक्रिया अनुसरण नगरेको अदालतले भनेको थियो।

तर, यादव भने २६ फेब्रुअरीसम्म जेलमै रहे। अन्ततः मध्य प्रदेशको उच्च अदालतले ५७ दिनपछि उनलाईपनि जमानतमा रिहा गर्न अनुमति दिएको थियो।

यादवको १३३० अमेरिकी डलर (डेढ लाख बढी नेपाली रुपैयाँ) जमानत उनका १७ वर्षीय भाइले आफ्नो विश्वविद्यालय शिक्षाको लागि बचत गरेको पैसाबाट तिरेका थिए। जुन उनले आमाको मृत्युपछि अंशको रुपमा पाएका थिए।

‘मेरो भाइ विश्वविद्यालय जान पाएन’, यादव भन्छन्, ‘उसले मेरो लागि धेरै त्याग गरेको छ। म उसको आँखामा हेर्न पनि सक्दिनँ।’

यादव र फारुकीको प्रतिनिधित्व गरेका वकिल अंशुमान श्रीवास्तवले उनहरूले कानुन नतोडेको बताएका छन्। उनले भारतीय संविधानले अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको पनि औँल्याएका छन्।

अभिव्यक्ति स्वतन्त्रको ‘क्र्याकडाउन’

कमेडीकै कारण कानुनी झमेलामा परेका यादव र फारुकी पहिलो होइनन्।

यसअघि पनि धेरै अन्य कमेडियनले भारतका सत्तारुढ राजनीतिज्ञहरूलाई आक्रोशित बनाएका छन्। अन्य देशमा भएको भए यो त्यतिमै सीमित हुन्थ्यो तर भारतमा आक्रोशित केही मानिसले यस विषयलाई प्रहरीदेखि अदालतसम्म पुर्‍याउने गरेका छन्।

गत वर्ष नोभेम्बरमा हिन्दू कमेडियन वीर दासको भारतको बलात्कार संकट र कृषि कानुनविरूद्ध वर्षभरि गरिएको किसानहरूको विरोध प्रदर्शन सम्बन्धि एक कडा मोनोलगले देशलाई नै दुई पक्षमा विभाजन गर्‍यो।

दक्षिणपन्थी कार्यकर्ताले उनको गिरफ्तारीको माग गरे भने समर्थकहरूले उनको पक्षमा जुलुस निकाले।

भाजपाका कानुनी सल्लाहकार आशुतोष दुबेले दासलाई भारतको ‘अपमान’ गरेको आरोप लगाए। त्यतिमात्रै होइन दुबेले मुम्बई प्रहरीमा उजुरीसमेत दिए।

दासले कुनै कानुनी झमेला भने सामना गर्नु परेन र उनले पहिलेझैँ आफ्नो प्रस्तुतिलाई जारी राखेका छन्। ट्विटरमार्फत उनले आफ्नो मोनो लगलाई भारतका दुई फरक पक्षबारेको व्यंग्य भनेका छन्।

वीर दास


‘कुनै पनि राष्ट्रमा उज्यालो र अँध्यारो, राम्रो र नराम्रो दुवै पक्ष हुन्छ। यो कुनै गोप्य कुरा होइन’, उनले भनेका छन्, ‘म मेरो देशमा गर्व गर्छु, र म त्यसलाई संसारभर फैलाउँछु।’

२०२० को डिसेम्बरमा सर्वोच्च अदालतले कमेडियन कुणाल कामरालाई उनको सामाजिक सञ्जालका पोष्टमा न्यायपालिका र न्यायाधीशहरूको अपमान गरेर अदालतको अवहेलना गरेको आरोप लगाएको थियो। एउटा ट्विटर पोष्टमा उनले दक्षिणपन्थी टिप्पणीकार समावेश मुद्दामा अदालतको कामकारबाहीबारे आलोचना गरेका थिए। जसमा दोषी प्रमाणित भएमा कमरालाई ६ महिना जेल र जरिबानाको सजाय हुनेछ।

दक्षिणपन्थी समूहहरूको धम्कीका कारण आफूले विगत आठ वर्षमा करिब १०० शोहरु क्यान्सिल गर्नुपरेको कामरा बताउँछन्। र, अवस्था झन् खराब हुँदै गइरहेको उनले बताए।

‘भारत अधिकांश 'दक्षिणपन्थी र सानो मन हुनेहरु'को समाज हो,’ उनको टिप्पणी छ।

अभिव्यक्ति स्वतन्त्रता भारतको लोकतान्त्रिक संविधानले सुनिश्चित गरेको छ। तर, २०१४ मा मोदीको भाजपा सत्तामा आएदेखि देश झन् असहिष्णु भएको मुस्लिम कमेडियन परवेज हसनले बताए।

 परवेज हसन


उनले भने, ‘हाम्रो समाज पछाडि धकेलिएको महसुस हुन्छ। यहाँ अहिले केही कमेडियनहरू युट्युबमा आफ्नो सामग्री राख्न डराउँछन्।’

समस्या कमेडियनहरूको मात्रै होइन। यादव र फारुकीलाई औपनिवेशिक युगको कानुन अन्तर्गत ‘धार्मिक भावनालाई चोट पुर्‍याएको’ अभियोग लगाइएको थियो। मोदीको सरकारले अभियन्ता, पत्रकार र अन्य आलोचकहरूलाई चुप लगाउन औपनिवेशिक युगको ‘देशको राजद्रोह कानुन’को प्रयोग गरिरहेको विज्ञहरुको टिप्पणी छ।

राष्ट्रिय अपराध रेकर्ड ब्यूरो (एनसीआरबी) का अनुसार मोदीले पदभार ग्रहण गरेको एक वर्षपछि २०१५ मा ३० जनालाई देशद्रोहको आरोप लगाइएको थियो। २०२० मा त्यो संख्या बढेर ७३ पुगेको थियो।

भारतीय मानवअधिकार अधिवक्ता इन्दिरा जयसिङले सरकारसँग असहमत हुने जो कोहीविरुद्ध भारतमा यी कानुनलाई हतियार बनाइएको बताइन्।

‘जब समाजले आलोचना सहन सक्दैन, तब समाजले आफ्नो संवैधानिक मूल्यमान्यता गुमाउँछ,’ उनले भनिन्।

गत जनवरीमा भारतको सर्वोच्च अदालतका पूर्व न्यायाधीश रोहिन्टन नरिमनले पनि देशद्रोह कानुनहरूको गलत प्रयोग भइरहेकोबारे बोलेका थिए। उनले सरकारको आलोचना गरेको भन्दै युवा, विद्यार्थी र स्ट्यान्डअप कमेडियनहरुलाई कारबाही भइरहँदा मुस्लिमविरुद्ध नरसंहारको आह्वान गर्नेहरुलाई केही नगरिएको बताएका थिए।

कमेडियनहरुको भविष्य

गत वर्ष पक्राउ परेपछि आफ्नो करिअर र जीवन नै संकटमा परेको यादव बताउँछन्।

पक्राउ पर्नुअघि यादवले कमेडीबाट जीविका चलाउन सकेका थिए। तर, जमानतमा रिहा भएपछि भने दक्षिणपन्थी समूहहरूको डरले कसैले पनि आफूलाई शोमा नबोलाएको उनले बताए। दक्षिणपन्थी समर्थकहरूले बाटोमा पनि दुर्व्यवहार गर्ने गरेको उनी बताउँछन्। उनीसँग न्यून ज्यालामा मजदुरी गर्नुबाहेक अर्को उपाय थिएन।

जेलबाट रिहा भएपछि आफूमाथि भएको अन्याय जनताले देख्ने उनले आशा गरेका थिए।

‘तर, मेरा सबै आशा हराए। मैले समाजमा सधैँ राम्रोमात्रै देख्थेँ… तर बल्ल मैले वास्तविक संसार देखेको छु,’ उनले भनेका छन्।

आफूलाई बोलाउने आयोजकहरुलाई धम्की आउन थालेपछि फारुकीले पनि कमेडीबाट छोटो विश्राम लिए।

‘घृणाले जित्यो’, गत नोभेम्बरमा उनले ट्विट गरेका थिए, ‘कलाकारले हार्‍यो।’

तर, अहिले फेरि उनी स्टेजमा फर्किएका छन्।

कमेडियनहरुको गिरफ्तारीले इन्डस्ट्रीमा अरुलाई पनि असर गरिरहेको छ। हिंसाको डरले आयोजकहरू शो रद्द गर्न बाध्य छन्।

दक्षिणपन्थी समूहले भेन्यूमा तोडफोड गर्ने धम्की दिएपछि दक्षिणी राज्य गोवाको एलभीसी कमेडी क्लबले गत नोभेम्बरमा फारुकीको शो रद्द गर्नुपर्‍यो। क्लबका एक कर्मचारीले भारतमा कमेडी शो आयोजना गर्ने अवस्था ‘झन् खराब’ बन्दै गएको बताए।

‘हामी राजनीतिकर्मी होइनौँ र कमेडियनहरूले भनेका सबै कुरालाई समर्थन पनि गर्दैनौँ’, उनले भने, ‘हामी अभिव्यक्ति स्वतन्त्रताका पक्षधर हौँ र कुनै पनि कुराको आलोचना गर्ने अधिकारलाई समर्थन गर्दछौँ।’

गत नोभेम्बरमा यादवले इन्दोर छोड्ने निर्णय गरे। उनले भारतको राजधानी दिल्लीमा आफ्नो कमेडी करिअरको नयाँ सुरुवात गर्ने निर्णय पनि गरे।

‘यो विडम्बनापूर्ण छ कि कमेडी जसले मलाई जीवित राख्यो र मलाई आशा दियो त्यसैले मबाट सबै कुरा खोस्यो’, यादवले भने, ‘तर, म कमेडीलाई दोष दिन्न। म हाम्रो समाजको व्यवस्था, सरकार र राज्यलाई दोष दिन्छु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell