
काठमाडौं : आज प्रेम सप्ताहको अन्तिम दिन अर्थात् प्रणय दिवस (भ्यालेनटाइन्स डे)। संसारभरिका प्रेमिल जोडीले आजको दिनलाई उत्सवको रुपमा मनाउने गर्छन्। नेपाली सिनेमा र संगीत जगत्मा पनि थुप्रै प्रेमिल जोडीहरु छन्। जसले आफ्नो प्रेम जीवनसँगै काम र व्यवसाय पनि एकसाथ अघि बढाइरहेका छन्।जसकारण उनीहरू एक उदाहरणीय जोडीका रुपमा चर्चित छन्।
कुन्ती मोक्तान र शिलाबहादुर मोक्तान
गायिका कुन्ती मोक्तान र संगीतकार शिलाबहादुर मोक्तान चर्चित सांगीतिक जोडी हुन्। उनीहरुको पहिलो भेट संगीत क्लासमा भएको थियो। उनीहरु सँगसँगै विभिन्न कार्यक्रमहरुमा जान्थे। सांगीतिक माहोलबाट बसेको प्रेमलाई उनीहरुले २०३९ सालमा बिहेमा परिणत गरेका हुन्। दार्जिलिङमा रहेका दुवैले बिहेपछि स्थायी बसोबासका लागि नेपाल नै रोजे।
दुवैले चार दशकदेखि प्रेम सम्बन्ध र सांगीतिक यात्रालाई एकसाथ अघि बढाइरहेका छन्। कुन्तीका गीतहरुमा शिलाबहादुरले नै संगीत भर्ने गर्छन्। दुवैको सहकार्यमा बनेका चोली राम्रो, खुट्टा तान्दै गर, चोली राम्रो, भन्छन् कोही भन्छन् लगायत गीत निकै चर्चित छन्। उनीहरुका दुई छोरी शीतल र सुवानी पनि सांगीतिक क्षेत्रमा नै लागेका छन्।
झरना थापा र सुनीलकुमार थापा
त्यसैगरी अभिनेत्री झरना थापा र निर्माता सुनीलकुमार थापा फिल्म क्षेत्रको सफल जोडीमा पर्छ। निर्माता सुनीलले झरनालाई काठमाडौंको कन्या क्याम्पसमा पढ्दा देखेका थिए। उनीहरुले २०५५ सालमा प्रेम बिहे गरेका हुन्। बिहेपछि नै झरनाले आफ्नो फिल्मी करिअर सुरु गरेकी हुन्। फिल्म करिअरमा सफल हुन उनका श्रीमान्को निकै साथ छ। झरना र सुनीलले ‘सुहाना इन्टरटेनमेन्ट’ खोलेका छन्। सुनील थापाको प्रोडक्सनमा झरनाले फिल्म ‘ए मेरो हजुर’ दोस्रो, तेस्रो र चौथो सिरिज निर्देशन गरिसकेकी छन्। उनीहरुका एक छोरी सुहाना पनि फिल्म क्षेत्रमै अभिनेत्री छिन्।
सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस-सुन्तली)
हास्यकलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरे चर्चित जोडीमा पर्छन्। टेलिसिरियल 'मेरी बास्सै' बाट उनीहरु धुर्मुस र सुन्तली नामबाट चिनिए। ‘मेरी बास्सै’का सफल जोडी सीताराम र कुञ्जनाले २०६५ सालमा बिहे गरेका हुन्।
बिहेपछि पनि उनीहरु सहकार्य गरिरहेका छन्। ‘धुर्मुस सुन्तली फाउन्डेसन’ को स्थापना गरी समाजसेवामा सक्रिय छन्। लोभलाग्दो प्रेमसम्बन्ध भएको यस जोडीको एक छोरी छिन्।
अर्जुन पोखरेल र दुर्गा खरेल
संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल पनि सफल जोडीमा पर्छन्। संगीत विद्यालयमा काम गर्दा उनीहरुको प्रेम मौलाएको हो। लामो प्रेम सम्बन्धपछि उनीहरुले २०७७ मा बिहे गरेका हुन्। अर्जुनले 'द डिभाइन म्युजिक' स्थापना गरेका छन्। दुवैले एकअर्काको काममा साथ दिएर अघि बढिरहेका छन्।
लक्ष्मी बर्देवा र जीवन भट्टराई
लक्ष्मी बर्देवा र जीवन भट्टराई दुवै रंगमञ्चका कलाकार हुन्। मण्डला थिएटरमा अभिनय सिक्दा र काम गर्दा उनीहरुको प्रेम बसेको हो। लामो प्रेम सम्बन्धपछि उनीहरुले परिवारको मन्जुरीविपरीत अन्तरजातीय विवाह गरेका हुन्। यसर्थ लक्ष्मी र जीवनको जोडीलाई उदाहरणीय जोडीको रुपमा हेरिन्छ। उनीहरु एकअर्कालाई साथ दिँदै करिअर अगाडि बढिरहेका छन्। म्युजिक भिडियोको निर्देशनदेखि अभिनयसम्म उनीहरु सहकार्य गर्छन्।
वर्षा राउत र संजोक कोइराला
अभिनेत्री वर्षा राउत र संजोक कोइरालाको प्रेम सम्बन्धको निकै चर्चा हुने गर्छ। उनीहरुको जोडीलाई 'सान्सा' उपनामले पनि चिनिन्छ। ६ वर्षको प्रेम सम्बन्धपछि उनीहरुले २०७५ फागुन २ गते अर्थात् प्रणय दिवसकै दिन बिहे गरेका थिए। संजोक कलाकारका साथै एक व्यवसायी पनि हुन्। उनीहरुले बानेश्वरमा चिया अड्डा सञ्चालनमा ल्याएका छन्। दुवैले एकअर्कालाई साथ दिँदै व्यवसाय पनि सम्हालिरहेका छन्।
प्रियंका कार्की र आयुष्मान देशराज जोशी
प्रियंका कार्की र आयुष्मान देशराज जोशी पनि फिल्म क्षेत्रका चर्चित जोडीमा पर्छन्। प्रेम सम्बन्धपछि प्रियंकाले आफूभन्दा कान्छा आयुष्मानसँग २०७६ सालमा दोस्रो बिहे गरेकी थिइन्। प्रियंका दुनियाँको मतलब नगरी निर्धक्क भएर जीवन बिताउन चाहन्छिन्। जसकारण पनि उनले धेरैपटक ट्रोलको सिकार हुनुपर्छ। तर श्रीमान् आयुष्मानले भने पनि प्रियंकाकै साथमा खडा हुन्छन्। उनीहरु पनि म्युजिक भिडियो लगायत विज्ञापनमा एकसाथ देखिने गर्छन्।
निश्चल बस्नेत र स्वस्तिमा खड्का
अभिनेत्री स्वस्तिमा खड्का र निश्चल बस्नेत पनि चर्चित जोडीमा पर्छन्। स्वस्तिमाले २०७२ सालमा निश्चल बस्नेतसँग बिहे गरेकी हुन्। स्वस्तिमा अहिलेकी अहिलेकी चर्चित अभिनेत्रीमा पर्छिन्। निश्चल पनि कलाकारका साथै सफल निर्देशक हुन्। 'रियल लाइफ कपल' निश्चल र स्वस्तिमाले फिल्म लगायत म्युजिक भिडियोमा एकसाथ काम गरिसकेका छन्। उनीहरुको जोडी पनि कलाकारिता क्षेत्रमा निकै फापेको छ।