PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

के मोरङ र ललितपुरमा भएका श्रृङ्खलावद्ध हत्यामा अरुको पनि थियो संलग्‍नता?



पहिलोपोस्ट

के मोरङ र ललितपुरमा भएका श्रृङ्खलावद्ध हत्यामा अरुको पनि थियो संलग्‍नता?

काठमाडौं : मोरङ र ललितपुरमा भएका तीन जनाको श्रृङ्खलावद्ध हत्याको घटनामा अहिले प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले पाँच जनामाथि अनुसन्धान गरिरहेको हो। अन्य व्यक्ति पनि यस घटनामा संलग्‍न भएको आशंकामा अनुसन्धान नभएको होइन, तर संलग्‍नतालाई लिएर पक्राउ गर्ने ठोस आधार प्रहरीले फेला पारिसकेको छैन। केही मानिसलाई शंकाको घेरामा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। तर, घटनामा उनीहरुको देखिनेगरी बलियो कनेक्सन भेटिसकेको छैन।

'अहिलेसम्म पाँच जनाको नै संलग्‍नता भएको देखिएको छ। अन्य कोणबाट अनुसन्धान गरिरहेका छौं,' जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दशन जीसीले भने।

हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मोरङले तीन जनालाई पहिलो चरणमा सार्वजनिक गरेको थियो। सिराहा नगरपालिका घर भएका ३१ वर्षीय अनिल मण्डल, मोरङको धनपाल थान गाउँपालिका ७ घर भएका ६२ वर्षीय नासिर आलम र मोरङ जहदा गाउँपालिका घर भएका अमित साह भनिने दीनानाथ सोनार  रहेका थिए।

अनिल घटनाको मुख्य योजनाकार भएको खुलेको थियो। त्यसको एकदिनपछि प्रहरीले घटनामा संलग्न थप दुई जनालाई नियन्त्रणमा लिएको थियो। मोरङ रंगेली नगरपालिका वडा नम्बर ३ आमतोला बस्‍ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवान्गन्ज गाउँपालिका वडा नम्बर ६ बस्‍ने जिरोगौवाका मोहमद हकिमलाई नियन्त्रणमा लिएको हो। उनीहरुको घटनामा शव व्यवस्थापन गर्ने भूमिका रहेको खुलेको थियो।

माघ १२ र १३ गते मोरङ धनपालथान गाउँपालिका वडा नम्बर ७ स्थित उखुबारीमा खाल्डो खनेर पुरिएको अवस्थामा दुई जनाको शव भेटिएको थियो। शव सप्तरी शम्भुनाथ नगरपालिका वडा नम्बर ४ बस्‍ने ३२ वर्षीय शम्भुकुमार चौधरी र भक्तपुर लोकन्थली बस्‍ने ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको थियो। पुस ५ गते राजेन्द्र श्रेष्ठ र त्यसको दुई दिनपछि पुस ७ गते शम्भुको हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। मंसिर २८ गते अनिलको समूहले ललितपुरको थेचोमा ६२ वर्षीय मोहनप्रसाद लिम्बुको पनि हत्या गरेको थियो। अनिल पक्राउ परेपछि लिम्बु पनि मारिएको घटना बाहिरिएको थियो।

ललितपुर हरिसिद्धिको जग्गा कमिसनको विषयले घटना भएको खुलेको छ। अनिल र मारिएका बिच करौडौंको कारोबार भएको कागज भेटिएको छ। तर, अनिलको करौडौंको कारोबार गर्ने व्यक्ति हुन् वा होइनन् भन्ने कुनै बैंकिक कारोबार वा सम्पत्तिले पुष्टि गरेको देखिएको छैन। प्रहरीले पनि घटनाको कारण र अन्य अपराध गरेको पुष्टि गर्ने प्रमाण फेला परेपछि त्यसतर्फ अनुसन्धान गरेको देखिँदैन।

'त्यस बारेमा हामीले अनुसन्धान गरेका छैनौं। घटना कमिसनका लागि भएको देखियो। उसको आर्थिक अवस्था कस्तो थियो भन्ने हामीले हेरेनौं,' एसपी जीसीले भने।

मृतकहरुसँग अनिलले साढे २ अर्बसम्मको सम्झौता गरेको खुलेको थियो। अनिल यसअघि पनि अपराधमा संलग्न भएको खुलेको छ। उनलाई ठगी मुद्दामा जेल सजाय तोकिएको भेटिएको छ। ललितपुरको नख्खु कारागारमा १७ महिना जेल सजाय भुक्तान गरेर उनी निस्किएका थिए।

अनिल र अर्का अभियुक्त अमितबिच कारागारमा नै चिनजान भएको खुलेको छ। अमित लागु औषध मुद्दामा नख्खु कारागारमा थिए। जेलबाट निस्किएपछि उनीहरु बिच बारम्बार सम्पर्क भएको देखिन्छ। यस घटनामा पनि पैसाको लोभमा अनिलले अमितलाई अपराध कार्यमा संलग्‍न गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell