काठमाडौं : सरकारले वैशाख ३० गतेको लागि तीन वटै स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै सुरक्षा निकाय पनि त्यसको तयारीमा लागेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले निर्वाचनको सुरक्षा तयारी, रणनीतिदेखि स्रोत साधनको व्यवस्थापनमा जुटेको छ।
प्रहरी प्रधान कार्यालयले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सहकुल थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन भइसकेको छ। त्यस्तै सो सेलले डीआईजीदेखि एसएसपीको नेतृत्वमा उप समिति समेत गठन गरेर काम थालिसकेको छ।
'सरकारले घोषणा गरेसँगै हामी तयारीमा लागेका छौँ। आवश्यक जनशक्ति, बजेट लगायतका विभिन्न विषयहरूमा छलफल गरेर खाकाहरू तयार भइरहेको छ,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी विष्णुकुमार केसीले भने।
नेपाल प्रहरीले आगामी निर्वाचनको लागि करिब १ लाख १८ म्यादी प्रहरी आवश्यक पर्ने अनुमान गरेर गृह मन्त्रालयमा प्रस्ताव गरेको छ। तर, अहिलेसम्म गृह मन्त्रालय र अर्थ मन्त्रालयको स्वकृति पाएपछि मात्र प्रहरीले म्यादी प्रहरीको लागि थप प्रक्रिया सुरु गर्ने छ। यसपटको तीनवटै तहको निर्वाचन एकैचोटि हुने भएपछि सुरक्षाकर्मी अन्य निर्वाचनको तुलनमा धेरै चाहिने प्रहरीले अनुमान गरेको छ। मतदाता र मतदानस्थल समेत बढ्ने भएकाले सुरक्षाकर्मी बढी आवश्यक पर्ने प्रहरीको दाबी रहेको छ।
यसअघिका निर्वाचनमा पनि प्रहरीले औशत १ लाखको हाराहारीमा म्यादी प्रहरी भर्ना गर्दै आएको थियो। यस पटको निर्वाचनमा दुई महिनाको लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको छ। आगामी निर्वाचनको लागि करिब १२ अर्ब रुपैयाँ सुरक्षाको लागि आवश्यक पर्ने प्रहरीले आँकलन गरेको छ। त्यस्तै, निर्वाचनको लागि स्रोत र साधनको समेत अभाव भएको प्रहरीले गृह मन्त्रालयललाई जानकारी दिएको छ। निर्वाचनको केही समय अगाडि र केही दिनपछिसम्म प्रहरीका लागि थप १५ सय सवारी साधन आवश्यक पर्ने देखिएको छ।