PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

रसियन स्केटर भालिभाले शीतकालीन ओलम्पिकमा भाग लिन पाइन् अनुमति



पहिलोपोस्ट

रसियन स्केटर भालिभाले शीतकालीन ओलम्पिकमा भाग लिन पाइन् अनुमति
Photo : AFP

प्रि-गेम ड्रग टेस्टमा पोजिटिभ पाइएकी रसियन फिगर स्केटर कमिला भालिभाले शीतकालीन ओलम्पिकको महिला फिगर स्केटिङ प्रतियोगितामा भाग लिन अनुमति पाएकी छिन्

कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्सले १५ वर्षीया भालिभालाई अस्थायी रूपमा निलम्बन गर्नु आवश्यक नभएको फैसला गरेको हो। सोमवार बिहानसम्म चलेको सुनुवाइमा खेलकुदको उच्च अदालतले रसियन एथ्लिटको पक्षमा फैसला गरेको हो। अदालतले उनीमाथि पूर्ण अनुसन्धान गर्नुअघि निलम्बन गर्नु आवश्यक नभएको बताएको हो।

कमिला एक नाबालिग भएको र वयस्क खेलाडी भन्दा फरक नियमहरूको अधीनमा रहेकाले अदालतले आंशिक रूपमा भालिभाको अनुकूलमा निर्णय गरेको हो। यो निर्णयसँगै अब भालिभा र उनको समूह ओलम्पिक इतिहासमा महिला फिगर स्केटिङको पहिलो पोडियम स्वीप गर्ने लक्ष्यका साथ अघि बढ्न सक्छन्। सो प्रतियोगिता मंगलवार छोटो कार्यक्रमबाट सुरु हुनेछ र बिहीवार फ्री स्केटको साथ समापन हुनेछ।

गत डिसेम्बर २५ मा भालिभामा मुटुसम्बन्धी प्रतिबन्धित औषधि ट्रिमेटाजाइडिन पोजिटिभ देखिएको थियो। तर, रसियन ओलम्पिक कमिटीको लागि स्वर्ण जितेपछि मात्रै स्वीडेनको प्रयोगशालाको सो नतिजा सार्वजनिक भएको थियो।

रसियाको एन्टी डोपिङ एजेन्सीले उनलाई तत्काल निलम्बन गर्‍यो र एक दिनपछि निलम्बन रद्द गर्‍यो। जसले गर्दा पदकहरू प्रदान गर्ने काम अलमलमा परेको थियो। ईन्टरनेशनल ओलम्पिक कमिटी (आईओसी) र अन्यले अपिल गरेपछि आइतवार राति सुनुवाइ भएको थियो। भालिभाले भिडियो कन्फ्रेन्समार्फत बयान दिएकी थिइन्।

भालिभा र उनीजस्ता १६ वर्ष मुनिका एथ्लिटहरूमा एन्टी-डोपिङको केसमा बढी अधिकारहरू हुन्छ र सामान्यतया प्रतिबन्धित पदार्थको लागि उनीहरु जिम्मेवार हुँदैनन्। भविष्यमा हुने कुनै पनि अनुसन्धान उनका प्रशिक्षक, डाक्टर, पोषण विशेषज्ञलगायतमा केन्द्रित रहनेछ।

अदालतको यो निर्णयले भालिभाले आफ्नो मुद्दा नसकिनु अघि स्केटिङ जारी राख्न पाउँछिन या पाउँदिनन् भन्ने विषयलाई मात्रै सम्बोधन गरेको छ। तर, उनले पहिले नै जितेको एउटा स्वर्ण पदकको विषयमा भने अझै अन्यौल छ।

भालिभाले गत सोमवार रसियन ओलम्पिक कमिटीबाट टिम इभेन्टमा स्वर्ण जित्दा ओलम्पिकमा महिलाले पहिलो पटक क्वाड्रुपल जम्प गरेको रेकर्ड बनाएकी थिइन्।सो पदक र उनले अबका व्यक्तिगत प्रतिस्पर्धामा जित्ने कुनै पनि पदक अझै पनि उनीबाट खोसिन सक्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell