PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

एमसीसी संसदमा लैजान कसैले रोक्न नसक्ने रामचन्द्र पौडेलको दावी, भने : जबराले अटेर गरेकाले महाअभियोग



पहिलोपोस्ट

एमसीसी संसदमा लैजान कसैले रोक्न नसक्ने रामचन्द्र पौडेलको दावी, भने : जबराले अटेर गरेकाले महाअभियोग

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) संसद्मा टेबुल हुन कसैले नरोक्ने बताएका छन्।

सोमवार आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा नेता पौडेलले सभामुख अग्‍नि सापकोटाले एमसीसी रोकेर नराख्‍ने बताएका हुन्। ‘अब एमसीसी सभामुखले रोकेर राख्नुहुन्न। अब संसदमा एमसीसीबारे छलफल हुन्छ। पास फेल जे हुनुपर्ने हो संसदमै हुन्छ,’ उनले भने।  

नेता पौडेलले प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोग प्रस्ताव स्वभाविक भएको पनि दावी गरे। जबरामाथि नेपाल बार एसोशिएसन र न्यायाधीशहरुले नै प्रश्न उठाएको अवस्थामा सत्तारुढ गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गराउनुलाई अस्वभाविक रुपमा लिन नहुने उनको भनाइ थियो।

‘नेपाल बार र न्यायाधीशले नै उहाँमाथि प्रश्न उठाउनुभएको थियो। उहाँले सम्मानजनक बहिर्गमन चाहेको बताउँदै आउनुभएको थियो। तर, उहाँले सम्मानजनक बहिर्गमनको बाटो रोज्नुभएन,’ पौडेलले भने, ‘त्यो भनेको महाअभियोग लगाएर देखाउ भनेको हो। त्यसैले महाभियोगको प्रस्ताव ल्याइएको हो।’ 

नेता पौडेलले संसद पुनः स्थापनको फैसला गर्ने चार न्यायाधीशमाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले महाभियोग प्रस्ताव ल्याएर त्यसलाई संसदले स्वीकार गर्न नहुने बताए।

‘सर्वोच्चको फैसला सबैले मान्नुपर्छ। संसद् पुनःस्थापनाको फैसला गर्ने चार न्यायाधीशमाथि एमालेले महाभियोग प्रस्ताव ल्याए त्यसलाई संसद्ले अस्वीकार गर्नुपर्छ,’ उनले भने, ‘२०५१ मा मनोमोहनले संसद भंग गरेपछि पुनःस्थापनको फैसला गर्ने तत्कालीन प्रन्या विरुद्ध एमालेले महाभियोग प्रस्ताव ल्याएको थियो। त्यो बेला म सभामुख थिएँ। नियम, कानून पल्टाएर हेरेपछि मैले त्यो प्रस्तावलाई अघि नबढाउने निर्णय गरेको थिएँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell