बुटवल : रूपन्देहीका दुई गाउँपालिका प्रमुख नेकपा एमालेमा प्रवेश गरेका छन्। सोमवार ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका प्रमुख सनोज कुमार यादव एमालेमा प्रवेश गरेको हुन्।
मधेशको राजनीतिमा प्रभावशाली नेता कार्यकता सहित उनीहरूलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्वागत गरेका छन्।
केवट र हरिजन माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन्। त्यस्तै, यादव तत्कालिन मधेशी जनअधिकार फोरम हालको जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित अध्यक्ष हुन्।
एमाले रुपन्देहीले धकधईमा विशाल कार्यक्रम गरी उनीहरुलाई पार्टीमा स्वागत गरेको हो। ओमसतियाको सिंगो माओवादी कमिटी एकहजार दुईसय सदस्य सहित एमालेमा प्रवेश गरेको एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए।
अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गराउँदै उपाध्यक्ष पौडेलले २०७४ मा जस्तै एमालेको देशव्यापी जनलहर बढेको बताए।