काठमाडौँः प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० अनुपस्थित भएपछि सदनको अवरोध, महाभियोगको प्रक्रिया र एमसीसीको कार्यसूचीबारे छलफलका बोलाइएको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ। तर सभामुख अग्निप्रसाद सापकोटाले भने असन्तुष्ट विपक्षलाई सहमतिमा ल्याउन छलफल महत्वपूर्ण रहेको बताउँदै सदनको अवरोध चाँडै हट्ने आशा व्यक्त गरे।
महाभियोगको प्रक्रिया अघि बढाउन समेत सदनको अवरोध हट्नु आवश्यक छ। तर सभामुखले बोलाएको बैठक एमालेले बहिस्कार गरेको छ। संसदीय दलको बैठकले अवरोध यथावत राख्ने निर्णय एमालेले गरेको छ। तर सभामुख सापकोटाले भने अवरोध हट्नेमा आफू आशावादी भएको बताएका हुन्।
उनले भने, ‘निरन्तर विपक्षसँग सरकारले, सत्तारुढ गठबन्धनले निरन्तर अन्तरक्रिया, छलफल गरेर संसद् सुचारु गर्नका लागि पहल गर्ने, प्रयत्न गर्ने र सदनमा छलफलको वातावरण तयार पार्नेलगायतका विषयहरुमा धेरै कोणबाट धेरै महत्वपूर्ण छलफल भएको छ। र त्यसका साथसाथै राष्ट्रिय महत्वका विषयमा आम सहमति बन्दा धेरै राम्रो कुरा हुन्छ। र, त्यो सहमति बनाउनका लागि सबैले पहल, प्रयत्न गर्ने भन्ने कुरा भएको छ। मलाई के लागेको छ भने जको बैठकले संसद् सुचारु गर्नका लागि सबैलाई गम्भीर बनाएको छ। यसका लागि गम्भीर पहल गर्ने अनुभूति भएको छ।’
सभामुख सापकोटाले दलीय सहमति भएमा एमसीसी पारितमा आफू बाधक नबन्ने पनि बताएका छन्।
बैठकपछि उनले भने, ‘एमसीसीबारे त म अम्पायरमात्र हुँ। दलहरु सहमत भए म रोक्दिनँ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई सहमतिमा ल्याएर संसद् सुचारु गराउने विषयमा छलफल गरिएको सत्तारुढ नेकपा ९एकीकृत समाजवादी० का प्रमुख सचेतक जीवनराम श्रेष्ठले बताए।
उनले भने, ‘संसदलाई कसरी सुचारु गर्ने भन्ने विषयमा केन्द्रित भएर छलफल भएको छ। संसदमा विचाराधीन विधेयकहरुलाई अघि बढाउने विषयमा पनि छलफल गरिएको छ। प्रतिपक्षलाई पनि सहमतिमा ल्याएर संसद् सुचारु गराउने सहमति भएको छ। एमालेले संसद अवरुद्ध जुन विषय उठाएर गरेको छ, त्यो असंवैधानिक, गैरकानुनी र गलत छ।’
बैठकमा सभामुखले विचाराधीन महत्वपूर्ण विधेयक पारितका विषयमा ध्यानकर्षण गराएका थिए। प्रधानन्यायाधीशविरुद्धको महाभियोगबारे दलका शीर्ष नेताहरुले धारण राखे पनि कसरी अघि बढ्ने भन्नेबारे बैठकमा थप चर्चा भएन।
